द्वन्द्वकाल सम्झाउने ग्राफिक उपन्यास जस्टिस बजारमा आउँदै

समाधान संवाददाता २०७९ चैत २८ गते १६:५१

पोखरा ।

लेखक रामचन्द्र खत्रीको नेपाली गृहयुद्धमा आधारित ग्राफिक उपन्यास यही वैशाख (अप्रिल १५) देखि बजारमा आउँदै छ । सन् १९९० को मध्य-दशकबाट शुरु भएको दक्षिण एसियाकै अविस्मरणीय घटनालाई विषयवस्तु बनाएर लेखिएको ‘जस्टिस: ए टेल अफ द नेपाली सिभिल वार’ तीन योजनाबद्ध उपन्यास शृङ्खलाको पहिलो पुस्तक हो ।

यो अंग्रेजी उपन्यासले देशको राजनीतिक निर्णयहरूमा बिरलै सरोकार राख्ने एक सामान्य परिवारमाथि आइपरेको युद्धको नकारात्मक प्रभावलाई सचित्र देखाएको छ । नेपाली गृहयुद्धको कथालाई विश्वबजारमा पुर्‍याउन भिन्न तरिकाले विरलै साहित्यहरू लेखिएका छन् । संदिपन सन्त्रा र इन्ग्रिड लिलामनि चित्रकारहरू रहेको यो उपन्यास मुख्य पात्रको रूपमा रहेकी एक किशोरी युवती तारा र उनको परिवारमा केन्द्रित छ ।

Advertisement

नेपाली गृहयुद्धको अक्षम्य द्वन्द्वको अवधिमा तारा र उनको परिवार घर छाड्न बाध्य हुन्छन् । सरकारका तर्फबाट देशका शत्रुलाई सहयोग गरेको आरोप लाग्नु, माओवादी विद्रोहीबाट धम्की आउनु, घरको एक सदस्य अपहरणमा पर्नु तथा परिवारबाट बिछोडिन पुग्नु र ज्यान जोगाउनका लागि घरै छाड्न बाध्य भएका घटनाले यो उपन्यासलाई नेपाली गृहयुद्धबाट प्रभावित हजारौं मानिसहरूको प्रतिनिधि कथा बनाएको छ ।

उजाडिइसकेको जीवनलाई पुनः प्राप्त गर्न प्रयासशील तारा र उनको विगतको सुन्दर जीवनको अतितस्मरणले यो उपन्यासलाई आम पाठकको मात्र नभएर सम्पूर्ण किशोर किशोरीहरूको कथा बनाएको छ । ग्राफिक उपन्यासकी प्रमुख पात्र ताराको व्यक्तित्वमा द्वन्द्वकालले पछिसम्म पारेको नकारात्मक प्रभाव अर्थात पोस्ट ट्रम्याटिक डिसअर्डर देखिन्छ । यसलाई उपन्यासले दिने मुख्य सन्देशको रूपमा लिन सकिन्छ।

Advertisement

उपन्यासका बारेमा अमेरिकी ग्राफिक उपन्यासकार तथा डिसी कमिक्सका पूर्वअध्यक्ष पल लेभिट भन्छन्- “जस्टिस सर्वविदित मानवीय चुनौतीहरूको एउटा अन्वेषण हो ।” उनका अनुसार साहित्यको विश्वबजारमा यस्ता प्रकारका ग्राफिक उपन्यासको उदयले “यो विश्व नै सानो हुँदै गएको जस्तो अनुभूत हुन्छ ।” उपन्यास प्रकाशनको यो चरणसम्म आइपुग्न आफूलाई साढे दुई वर्ष लागेको बताउँदै उपन्यासकार रामचन्द्र भन्छन्- “विश्वबजारमा बिरलै नाउँ सुनिने नेपाली साहित्य विश्वका आम पाठकमाझ पुर्‍याउनु मेरो मुख्य लक्ष्य हो।”

पुस्तकको बारेमा थप जानकारी ग्राफिक उपन्यासको आधिकारिक फेसबुक पेज तथा वेबसाइट मार्फत प्राप्त गर्न सकिन्छ । ‘जस्टिस’ अप्रिल १५, २०२३ देखि अमेजन, कोबो, बार्न्स एण्ड नोबल आदि प्रमुख बिक्रेतामार्फत् अमेरिका युरोप लगायतका अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुँदैछ । अहिले यो लिंकमार्फत अर्डर गर्न सकिनेछ।

पेस युनिभर्सिटी, न्युयोर्कबाट पुस्तक ‘प्रकाशन’मा एम.एस. र त्रिभुवन विश्‍वविद्यालय, काठमाडौँबाट अङ्ग्रेजी साहित्यमा एम. ए. गरेका रामचन्द्र खत्रीका नेपाली र अङ्ग्रेजी भाषामा अनुदित पुस्तकहरू प्रकाशित छन् । एकेडेमिक र कमर्सियल प्रकाशनमा काम गरेका रामचन्द्रको फ्रान्ज काफ्काकृत ‘मेटामोर्फसिस’ पछिल्लो अनुदित पुस्तक हो भने ग्राफिक उपन्यास ‘जस्टिस’ पहिलो आख्यान हो।

तपाईको प्रतिक्रिया