संगीतबाट सत्तालाई खबरदारी

समाधान संवाददाता २०७९ चैत २९ गते ११:२५

पोखरा ।
चर्चित कलाकार मञ्चमा उक्लिए । दर्शकलाई लागेको थियो; अब गीत सुनाउँछन् । कलाकार जीवन शर्मा गाउँखाने कथा पो सुनाउन थाले ।

खान्नँ भन्यो, जसरी पनि खान्नँ भन्यो । कसै खाँदै खान्न भन्यो तर खायो । के हो ?
दर्शकले शर्मालाई गाउँ दिएनन्, उत्तरै दिए–घूस । देश र व्यवस्था बदल्न क्रान्ति गर्नेहरु पनि सत्तामा पुगेपछि अरुभन्दा फरक नभएको उनले घुमाएर संकेत गरे । लामो समय कम्युनिस्ट पार्टीको सांस्कृतिक समूहको नेतृत्व गरेका शर्मा अहिले पार्टीविहीन छन् तर कम्युनिस्टै छन् ।

शर्मा भन्छन्, ‘जनता निराश भए देश डुब्छ । हामीले गाइरहनुपर्छ, जनतालाई सचेत बनाइरहनुपर्छ, शासकलाई खबरदारी गरिरहनुपर्छ ।’ उनले मंगलबार पोखरामा भएको राष्ट्रका लागि संगीत अभियात्रामा केही आफ्ना लोकप्रिय गीत सुनाए । रातो लालटिनमा वामपन्थी एकता र क्रान्तिको आह्वान गरेका शर्माले विदेशबाट फर्किदा गाउँको बाटो मुस्कुराएको भन्दै विदेसिएकालाई नेपाल फर्किन आह्वान गरे ।

Advertisement

उनी जहाँ गए पनि एउटा गीत नगाई धरै पाउँदैनन् । मंगलबार पनि उनले झरनाको चिसो पानी गीतमात्रै सुनाएनन्, यो गीत सिर्जनाको कथा पनि सुनाए । जनतालाई जागरुक बन्न र नेताहरुलाई खबरदारी गरिरहन सुझाए ।

अभियात्राका कलाकारले जनताका पीडा, देशको अवस्था र नेतृत्वलाई खबरदारी गर्दै गीत सुनाए । कार्यक्रम व्यवस्थापनमा सघाउने विभिन्न पक्ष भए पनि औपचारिक रुपमा त्यहाँ न कुनै आयोजक थिए, न त अध्यक्ष र प्रमुख अतिथि ।

Advertisement

जनवादी गीतमार्फत एकताको सन्देश दिन ४ चैत ४ मा धनगढीबाट संगीत यात्रा सुरु भएको हो । वैशाख ५ मा काठमाडौंमा सबै शीर्ष नेताको उपस्थितिमा पहिलो चरणको यात्रा समापन गरिने अभियात्राका सदस्य चिरन सिले बताए । उनी वामपन्थी शक्तिहरुलाई एक ठाउँमा ल्याउन, राजनीतिक र सांस्कृतिक क्रान्ति पूरा गर्न यस्ता अभियानले बताउँछन् ।

समारोहमा गायक ओम श्रेष्ठले देश जनताको नाम हो सुनाए । माधव प्रधानले मदन भण्डारीको गीत र चिरन सिले विप्लसले सिर्जना गरेका गीत सुनाए । लक्ष्मण पाख्रिनले सालैज्यु भाकाबाट मनोरञ्जन दिँदा नारायण शर्मा र डम्बर भण्डारीले पूजा गीतिनाटकको एक अंश मञ्चन गरे । समारोहमा पोखरामा क्रियाशील संगम सांस्कृति मञ्चका कलाकारले २ वटा गीत प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया