
जोमसोम ।
राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक आयोजना अन्तर्गत जोमसोम कागबेनी कालोपत्र सडकको काम अलपत्र छ ।
अनुकूल मौसममा समेत निर्माण कम्पनीका प्रतिनिधिले कालोपत्रको काम गरेका छैनन् । २०७४ मा स्तरोन्नति सुरु गरिएको जोमसोम कोरलाका ७ खण्डमध्ये ६ वटा खण्डको काम सकिइसकेको छ ।
ती खण्डमा ११ मिटर फराकिलो ग्राभेल सडकको काम २०७६ सालमै सकिएको हो । चराङ–छोसेर २५ किमी ग्राभेल सडकको काम पनि अन्तिम चरणमा पुनेपछि ३ वर्षदेखि अलपत्र छ ।
जोमसोम कोरला ११० किमी सडकको पहिलो खण्डको जोमसोमदेखि कागबेनीसम्मको ग्राभेल सडकलाई थप स्तरोन्नति गर्दै अस्फाल्ट कालोपत्र गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २ वर्षअघि आवश्यक बजेट बिनियोजन गरेको थियो ।
उत्तरी कोरला नाका र उपल्लो मुस्ताङ पहुँच मार्ग भए पनि मन्त्रालयले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर र कागबेनी श्राद्धस्थलसम्मको सडक थप सहज बनाउने उद्देश्यले २०७८ असोज ४ गते २८ करोड १४ लाख लागतमा रौटाहा आत्रेय जेभी काठमान्डौंसँग ठेक्का सम्झौता गरेको थियो ।
५७ करोड ३८ लाखको योजना सवा २८ करोड जिम्मा लिएर निर्माण कम्पनीले अहिले काम अलपत्र बनाएको छ
सम्झौता अवधि २ वर्ष रहेको १३ किमी सडकको अवधि २०८० असोज ३ गतेसम्म छ । तर, कालोपत्र सडकको ठेक्का सम्झौता भएको १८ महिना बितिसक्दा भौतिक प्रगति जम्मा ९ प्रतिशत रहेको कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले जनाएको छ ।
सडकको कुल लागत ५७ करोड ३८ लाख रहे पनि निर्माण कम्पनीले ५० प्रतिशत घटेर ठेक्का सम्झौता गरेका थियो । कालोपत्र सडक अन्र्तगत जोमसोम–काबगेनी १२ किमी र कागबेनी श्राद्धस्थलदेखि मुख्य राजमार्ग सडकसम्म १ किमी कालोपत्र गर्ने सम्झौता भएको थियो ।
सुरुवाती कालोपत्र सडकको संरचना निर्माणका लागि सर्बे र मुस्ताङको एक्लेभट्टी र पाक्लिङ पुल नजिक करिब ५ मिटर मेसिनरी वाल लगाइएको छ । यो बाहेक अन्य काम अघि बढ्न नसकेको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए ।
कालोपत्रका लागि यसअघिको ग्राभेल सडकको ग्रेड मिलाउने, कटिङ गर्ने, मेसिनरी वाल लगाउने, ड्रेन निर्माण गर्ने, वाल निर्माण गरी माटो फिलिङ गर्ने र सडकलाई चौडा गरी अस्फाल्ट कालोपत्र गर्ने थियो ।
राष्ट्रिय गौरवको आयोजनामा ढिलासुस्ती भई सम्पन्न हुन नसकेका सडक तथा पुल बनाउने ७ निर्माण कम्पनीलाई गत पुस महिनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागले सूचना प्रकाशित गरी यथाशीघ्र काममा फर्किन अल्टिमेटम दिएको थियो । विभागले दिएको अल्टिमेटमपछि केही निर्माण कम्पनीले काम सुरु गरेका छन् भने केही निर्माण कम्पनीले विभागको अल्टिमेटमको अटेर गरेका छन् ।
विभागले अल्टिमेट दिएका योजनामध्ये जोमसोम–कागबेनी कालोपत्र सडक पनि एक हो । अल्टिमेटमपछि फागुन पहिलो सातासडकको काम गर्न मुस्ताङ आईपुगेका निर्माण कम्पनीका प्रतिनिधि राजेश कुँवर अहिले मुस्ताङमा छैनन् । उनी सडकको मेसिनरी वालको केही काम गरेपछि १ महिनाबाट सम्पर्कमा छैनन् ।
आयोजना प्रमुख जगत प्रजापतीले जोमसोम–कागबेनी कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनी काममा फर्किने ताकेता गरिएको सुनाए । ‘हामीले काममा फर्काउन प्रयास गरेका छौं, बैशाखको पहिलो हप्ता आउछौं भनेको छ,’ आयोजना प्रमुख प्रजापतीले भने, ‘निर्माण कम्पनी काममा नफर्किने अवस्था रहेमा ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रियामा जाने तयारी भएको छ ।’
मुस्ताङमा अत्यधिक चिसो र हिमपातका कारण हिउँद यामको पुस र माघ महिनामा विकास, निर्माणका काम गर्न सकिँदैन । तर, हिउँद याम सकिएर गर्मी बढेको र अनुकूल मौसम भए पनि कामलाई तीव्रता दिनुपर्ने समयमा निर्माण कम्पनीले विभिन्न बाहानबाजी बनाएर विकासको कामलाई अघि बढाउन सकेका छैनन् । कालिगण्डकी करिडोर अन्तर्गत आधा दर्जन सडक, पुल र केही सडकको काम निर्माण कम्पनीको वेवास्ताका कारण अलपत्र छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया