हेमराज स्मृति पुरस्कार साहित्य सन्ध्यालाई

समाधान संवाददाता २०८० वैशाख ३ गते ११:२२

पोखरा ।
हेमराज पहारी स्मृति पुरस्कार २०७९ काठमाडौंको साहित्य सन्ध्यालाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई प्रतिष्ठानको बिहीबार बसेको बैठकले अनुमोदनद गरेको हो ।

पुरस्कार वैशाख १६ गते काठमाडौंमा हुने समारोहमा पुरस्कार अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।साहित्यकार फणीन्द्रराज निरौला संयोजक, शान्ता मानवी र लक्ष्मी निरौला सदस्य रहेको प्रतिभा छनोट समितिले सन्ध्यालाई पुरस्कार प्रदान गर्न सिफारिस गरेको थियो ।

साहित्य सन्ध्या २०३९ मा स्थापना भएको हो । यसले हालसम्म ४ सय ३८ नियमित मासिक कार्यक्रम गरिसकेको छ । युद्धप्रसाद मिश्र, पारिजात, केवलपुरे किसान आदिको संरक्षकत्व र मार्गदर्शन प्राप्त संस्था भएकाले यसको उन्नयनका लागि पुरस्कार दिने निर्णय भएको प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारीले बताइन् ।

Advertisement

साहित्यकार एवं समाजसेवी हेमराज पहारीको योगदान र कृतिहरूको संरक्षण र प्रवद्र्धन गर्दै आएको प्रतिष्ठानले १ लाख राशिको यो पुरस्कार हरेक २ वर्षमा प्रदान गर्दै आएको छ ।

यो पुरस्कारबाट यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ, स्वर्गीय विमल गुरुङ स्मृति पुस्तकालय धरान, लोककवि अली मियाँ तथा मकवानपुरको झरना साहित्यक परिवार पुरस्कृत भइसकेका छन् ।

Advertisement

साहित्यकार पहारीका ‘देशको अभिभारा’ कविता सञ्चयन र ‘उत्तरी गोलार्धको एक फन्को’ नियात्रा र ‘हेमराज पहारीका गीतहरु’ गीत सञ्चयन प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया