जारी: लिम्बू कथामा मौलिक फिल्म

युवराज गुरुङ ‘युनिश’ २०८० वैशाख ३ गते २३:०१

सिनेमामा मौलिकता कसरी मिसाउने ? कसरी मौलिक कथा भन्ने ? अहिले यही अभ्यास चलिरहेको छ, विश्व सिनेमामा । तर हाम्रो सिनेमा बलिउडको प्रभावबाट अझै पूर्ण रुपमा मुक्त हुन सकेको छैन । खासमा मौलिक सिनेमा भूगोल, संस्कार संस्कृति, जाति, धर्म अथवा विश्वास पद्धतिसँग जोडिने कुरा हो ।

हाम्रा भूगोल, धर्म, संस्कृति पछि निश्चित विचार छन्; दर्शन छन् । ती चिन्तन, दर्शन सिनेमामा कम देखिएका छन् । नेपालमा औंलामा गन्न सकिने मौलिक सिनेमा बनेका छन् । अहिले जारी प्रथामा चलचित्र निर्माण गरेका छन् उपेन्द्र सुब्बाले । जुन शुक्रबार रिलिज भएको छ ।

५० को दशक । पूर्वको कुनै गाउँ । निःसन्तान नाम्साङ (दयाहाङ राई) र हाङमा (मिरुना मगर)ले विवाह गरेको वर्षौँ भइसकेको छ । सन्तान नजन्मिदा सम्बन्ध ठीकठाक छैन । एक दिन दुईबीच भनाभन हुन्छ । नाम्साङ ‘थारी आइमाइ’ भनेर वचन लगाउँछन् । ‘नामर्द’ भनेर हाङमा प्रतिवाद गर्छिन् । झगडा हुँदै फिल्मअघि बढ्छ । झगडा परेर माइत गएकी हाङमाले मेलामा रोयदीप भेट्छन् । हाङमाले मेलामा रोयदीपसँग पालममा बाजी हार्छिन् । त्यसपछि घटनाले नयाँ मोड लिन्छ ।

Advertisement

सिनेमाको ’थिम’ त्यस्तो ढाँचा छ, जसमा सबै प्लट अडिन्छ । बिना थिमको कहानी इभेन्ट, दृश्य, नाचगान र डाइलगको खोक्रो भवन जस्ताे हुन्छ । ‘जारी’ को मुख्य थिम महिला अधिकारको वकालत हो । निर्देशकले फिल्ममा किराँत संस्कार, संस्कृतिलाई पृष्ठभूमिमा राखेका छन् । आदिवासी जनजातिमा व्याप्त जारी कुप्रथा हो । तर लिम्बु समुदायमा जारीलाई प्राकृतिक रुपमा महिलाले आफ्नो श्रीमान् चुन्ने अवसरको रुपमा लिने गरेको देखाइएको छ ।

महिला अधिकारको विषयमा संसारमा हजारौं सिनेमा बनेका छन् । आफ्नै समुदायका चरित्रमार्फत सुन्दर तरिकाले निर्देशकले चित्रण गरेका छन् । नाम्साङकी आमामार्फत किराँतको जीवन दर्शन मुन्धुमको कुरा गरेका छन् । जीवन, प्रेम, सम्बन्ध के हो ? उत्तर पालममै भएको कुरा उनी बताउँछिन् ।

Advertisement

श्रीमान्ले दिएको पीडाबाट दिक्क भएकी मिरुना र रोयदीपले पालाम गाएपछि ऊ नजिक हुन्छन् । जारीको सुन्दर पक्ष भनेको टाइम फ्रेम हो । ढिकी कुट्ने, जाँतो पिस्ने, पँधेरोमा पानी भर्ने, गाउँले सेरोफेरो, मेलाको रौनक, तत्कालीन समयमा प्रयोग गर्ने मुद्रा, वाल्कमेन, क्यामरा इत्यादिको प्रयोगले ५० को दशकको गाउँको झल्को मज्जाले दिन्छ । प्रोडक्सन डिजाइनको काम गज्जबको छ ।

सिनेमामा फिगर अफ स्पिचको भरपुर प्रयोगले सिनेमालाई कलात्मक बनाएको छ । जस्तो महिलालाई पशुसँग पटक पटक दाँजिएको छ, जसले पुरुषको मानसिकता देखाउँछ । झगडाको एउटा दृश्य छ, लिप्दै गरेको रातो रंग सेतो भित्तामा छ्यापिन्छ । जसले उनीहरुको सम्बन्धमा लागेको दाग र समाजमा परेको बेइज्जती चित्रण गर्न खोजेको देखिन्छ ।

जारी मौलिक कथामा बनेको सुन्दर सिनेमा हो । काव्यिक चेत भएका निर्देशकको डेब्यु निर्देशन कविता जस्तै छ

२ जनाको मिलनअघि पाडीले राँगो खोजेको देखाउनु, तेल पेल्नु र माटो खाने कुराले गर्भवती भएको कुरामा फरस्याडोइङको प्रयोग भएको छ । किराँत संस्कृतिमा फूलहरुका छुट्टाछुट्टै बिशेषता पाइन्छ । फिल्ममा पात्रहरुको मनोभाव र घटना अनुसार फूलहरुलाई बिम्बात्मक तरिकाले देखाएको छ । कमजोर आर्थिक अवस्थाका कारण तत्कालीन समयमा गोठालो बस्नुपर्ने, कोइलाखानी जानुपर्ने चित्रण छ ।

जबर्जस्ती तानेर बिहे गर्ने, पालममा जित्न नसकेर बिहे गर्नुपर्ने बाध्यकारी संस्कार, लिम्बू जातिको मौलिक, सांस्कृतिक र धर्म झल्काउने च्याब्रुङ नाच, भेषभूषा, स्थानीय जनजीवन र लबजलाई मिहिन रुपमा देखाउन सफल भएका छन् । आफूलाई नामर्द भन्दा खुकुरी उठाउने पुरुष सजिलै महिलालाई पशुसँग तुलना गर्छन् । नाम्साङकी आमा बितेपछि चर्केको घरको भित्ता, तोङ्वा खान नपाएका बुबाले महिला बिनाको घरको अवस्था प्रस्तुत गरेका छन् ।

झुमा लिम्बु र गंगा थापाको संगीत जादुमयी छ । मौलिक बाजाको प्रयोगले फिल्मलाई झनै सुन्दर बनाएको छ । फिल्ममा सिंक साउन्ड प्रयोग गरेको छ, जसले यथार्थपरक बनाउनमद्दत गरेको छ ।

शैलेन्द्र डी कार्कीको सिनेमेटोग्राफी अर्को सबल पक्ष हो । उनले सुन्दर र अर्थपूर्ण तवरले फ्रेम थापेका छन् । बितेको समयमा लैजान वान बाइ वान रेसियो फ्रेम प्रयोग गरेका छन् । उनले लैंगिक असमनाता देखाउन प्रायः फ्रेममा महिला र पुरुष पात्रबीच खम्बा पारेका छन् । कथा र पात्रको मुड अनुसार प्रयोग भएको लो लाइटले सिनेमालाई उचाइ दिएको छ । सम्पादन, रंग संयोजन कथा अनुसारका छन् । सिनेमा वार्म कलर प्रयोग भएको छ । सामान्यतया वार्म कलर प्रेम कथा, पारिवारिक कथा अथवा सम्बन्धका कथामा प्रयोग गरिन्छ । सबै कलाकारले जीवन्त अभिनय गरेका छन् ।

अब कमजोरी तर्फ लागौं ।
सामान्यतः
लेखकले कथा लेख्दा सुरुमा सेटिङ तयार पार्छ । टाइम र स्पेसपछि पात्र निर्माण गर्छ । त्यसपछि ‘समस्या’ जन्माउछ लेखकले । तर जारीमा सुरुमै समस्या आएको छ । पात्र र पृष्ठभूमि राम्रोसँग तयार नहुदै पतिपत्नीको झगडा देखाइएको छ ।

फिल्मको टर्निङ प्वाइन्ट वा इभेन्ट नै सो झगडा भएपछि यसलाई राम्रोसँग देखाएको भए अझ राम्रो हुन्थ्यो । अझै थोरै समय चरित्र निर्माणमा लगाएको भए अझ प्रभावकारी बन्न सक्थ्यो ।

पतिपत्नीको झगडा भएको मिति लेखिएको छ–२०५२ माघ १६ गते । तर जारी तिर्न नसकी गोठालो बस्नुपर्ने तमसुक बनाउँदाको मिति छ–‘२०५२ पुष ४ गते । कसरी ? जाँड बनाउनु र खानु आदिबासी जनजातिको संस्कार हो । तर निर्देशकले पात्रहरुले जाँड खाएको दृश्यलाई यति धेरै तन्काएका छन् कि मानौं लिम्बुहरु जाँडमात्र खाएर बस्छन् ।

फिल्मलाई दिशा दिने अर्को महत्वपूर्ण घटना मेलामा पालम गाउनु हो, जहाँ मिरुना रोयदीपलाई भेट्छिन् । यो घटनालाई गहिराइमा देखाउन नसक्नु अर्को कमजोरी हो । मिरुनाले एक दृश्यमा श्रीमानसँग झगडा परे पनि अर्को बिहे गर्ने थिइन तर पालममा हारेकै कारण दोस्रो बिहे गर्नु परेको भनेकी छन् ।

पालममा हारे बिहे गरेर जानुपर्ने वा प्रेम सम्बन्ध राख्नुपर्ने कुरा थाहा हुँदाहुँदै उनी कसरी पालम गाउन तयार भइन् ? भर्खर माइत आएकी विवाहित महिलाले यति ठूलो कदम सजिलै कसरी चालिन् ? उनलाई पालममा सहभागी बनाउन केटा पक्षबाट भएको कन्भिन्स या इफोर्ट जति हुनु पथ्र्याे, त्यो देखिँदैन ।

लिम्बु समुदायमा जारी प्रथालाई महिलाले अवसरको रुपमा लिने फिल्ममा दर्शाउन खोजिएको छ । तर त्यही महिला पात्र फेरि किन जारी गरेर गल्ती भएको महसुस गर्छिन् ? मिरुनाको मनोविज्ञान मिहिन रुपले पर्दामा आएको छैन ।

बिहे गरेको भोलिपल्ट विदेश गएको रोयदीपलाई चाहिने बेलामात्र पर्दामा ल्याएका छन् निर्देशकले । मिरुनाले पनि सोधीखोजी गरिनन् । अर्को कुरा बिग्रिइसकेको सम्बन्ध सजिलै फेरि बनेको देखाइएको छ । पात्रहरुको मन बदलिन ठूलो कारण देखाउन आवश्यक लागेन लेखकलाई । घटनाक्रम प्रेडिक्टेबल छ । सबटाइटल नहुँदा लिम्बू र नेपाली शब्द मिश्रित संवाद बुझ्न मुस्किल पर्छ ।

अन्त्यमा, जारी मौलिक कथामा बनेको सुन्दर सिनेमा हो । काव्यिक चेत भएका निर्देशकको डेब्यु निर्देशन कविता जस्तै छ ।

सिनेमामार्फत समुदायका कथा भन्ने उनको प्रयास तारिफयोग्य छ ।

तपाईको प्रतिक्रिया