सेक्युरिटी प्रेसका कर्मचारी र कम्पनीलाई मुद्दा

पोखरा ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्र(सेक्युरिटी प्रेस)का प्रमुख विकल पौडेलसहित ९ जनाविरूद्ध २ अर्ब ६९ करोड रुपैयाँ बिगो माग्दै मुद्दा हालेको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का दिएको/पाएको अभियोगमा उनीहरूविरूद्ध विशेष अदालतमा मुद्दा हालिएको हो ।
यो विषयमा परेको उजुरीमा अनुसन्धान खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौता विपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक कन्ट्री अफ ओरिजिन भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौता बमोजिम कामै नगरी संरचना सञ्चालनबापत र आपूर्ति पछिको सेवाबापत अग्रिम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बल्क फ्युल ट्यांक सिस्टम खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको भएको अख्तियारले जनाएको छ । पौडेल एक्लैसँग अख्तियारले ६९ करोड रुपैयाँ बिगो मागेको छ ।
तपाईको प्रतिक्रिया