आमा औंसीमा सञ्जय मल्लले ल्याए “आमा भनेकै आमा” हुन् गीत

समाधान संवाददाता २०८० वैशाख ६ गते १९:२६

पोखरा ।
‘आमा भनेकै आमा हुन्’ गीतको म्युजिक भिडियोको बुधबार पोखरामा लोकार्पण गरिएको छ । बिहीबार मातातीर्थ औंसी परेको छ ।


पत्रकार सञ्जयकुमार मल्लले लेखेको गीतमा विनोद बानियाँको स्वर छ । म्युजिक भिडियो गीतकार मल्लकी आमा चिजमाया र गायक बानियाँकी आमा शान्तिले सार्वजनिक गरे । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका हुन् ।


रेडियो अन्नपूर्णका स्टेसन म्यानेजरसमेत रहेका गीतकार मल्लले सन् २०१५ मा मातातीर्थ औंसीका दिन आमालाई समर्पण गरेर लेखिएको गीत ८ वर्षपछि म्युजिक भिडियोको रुपमा सार्वजनिक भएको सुनाए ।

Advertisement


कवि तीर्थ श्रेष्ठले आमा शब्द आफैंमा महान भएको जनाउँदै सानैमा आमा गुमाएकाले यो शब्दले गला अवरूद्ध हुने अनुभव सुनाए । नेपाल आमा सबैभन्दा दुःखी रहेको भन्दै श्रेष्ठले नेपाल आमाको मुहारमा खुसी दिने संकल्प मातातीर्थ औंसीमा गर्नुपर्ने उनको भनाइ छ ।


पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले आम मानिसले बाँचेको जीवनका पाटालाई गीतले समेटेको उल्लेख गरे । अग्रज लोकगायिका हरिदेवी कोइरालाले आमा शब्दको महिमा विशाल रहेको जनाउँदै गीतको म्युजिक भिडियो हेर्दा आमाका दुःखलाई सम्झिएको उल्लेख गरिन् ।

Advertisement


गायक बानियाँले कविता निकै मन परेकाले कम्पोज गरी गीत बनाएको खुलाए । निर्देशक नेत्र गुरुङले शब्दले निकै मन छोएको उल्लेख गरे । । कास्कीकोटमा छायांकन गरिएको गीतको म्युजिक भिडियोमा खिमकुमारी सुवेदी र अनिल कार्कीको अभिनय छ ।

तपाईको प्रतिक्रिया