पर्दामा पासाङल्हमुको कथा

काठमाडौँ ।
चलचित्र ‘पासाङ: इन द स्याडो अफ एभरेस्ट’ काठमाडौंमा प्रिमियर गरिएको छ । बुधबार प्रिमियरसँगै आयोजित पत्रकार सम्मेलनमा चलचित्रको प्रदर्शन वैशाख १० गतेदेखि देशभरका क्युएफएक्स अन्तर्गतका चलचित्र भवनमा हुने पासाङ ल्हामु फाउन्डेसनले जानकारी दिएको छ ।
राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको यथार्थतामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले २ दशकभन्दा बढी समय मेहनत गरेर चलचित्र तयार पारेको फाउन्डेशनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिए ।
‘यो चलचित्र ७२ मिनेट लामो छ । सन् २०२२ मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा भएको चलचित्रलाई तीसौँ पासाङ ल्हामु दिवसको अवसर पारेर प्रदर्शन गर्न लागेका हौं’, अध्यक्ष शेर्पाले भने ।
नेपाली समाजमा एक आदिवासी महिलाले अघि बढ्न गरेको संघर्ष, यसको अवरोध र समाजदेखि परिवारसम्मको सहयोगलगायतका विषय जोडेर समाजलाई रुपान्तरण गर्ने सन्देश चलचित्रले दिने उनले बताए । फाउन्डेसनले बुधबार आयोजना गरेको प्रिमियरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे लगायतका व्यक्तित्व सहभागी थिए ।
तपाईको प्रतिक्रिया