बस्ताकोटीकाे एकल कविता वाचन

समाधान संवाददाता २०८० वैशाख १० गते १७:१४

पोखरा ।
कवि डा.भूमिराज बस्ताकोटीले शनिबार एकल कविता वाचन गरेका छन् । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा भएको कार्यक्रममा बस्ताकोटीले लघुतम र फुटकर गरी दुई दर्जन बढी कविता वाचन गरेका हुन् ।

बस्ताकोटीले मलाई शान्ति चाहिएको छ, जिउँदाका मलामी र मर्दाका जन्ती, आत्माभिमानको मृत्युउत्सव, तिम्रो र मेरो सम्बन्ध, पाठयोजना, वर्णविन्यासलगायत शीर्षकका कविता सुनाएका थिए । उनलाई साहित्यकार शिव त्रिपाठी र सञ्जीव पौडेलले साथ दिएका थिए ।

संस्थाका पूर्व उपाध्यक्ष सुरज पौडेलले बस्ताकोटीलाई बहुमुखी प्रतिभासम्पन्न व्यक्तिका रुपमा चिनाए । पौडेलले बस्ताकोटीलाई विनिर्माणमा विश्वास गर्ने आलोचनात्मक चेत भएका हाडे ओखरको संज्ञा दिए । बस्ताकोटीका कवितामा जीवनदर्शन र समाजलाई हेर्ने सघन दृष्टि रहेको साथै भाव र कलाका दृष्टिले उनका कविता सशक्त रहेको तथ्य पौडेलले स्पष्ट पारे ।

Advertisement

समग्र कविताको समीक्षा गर्दै प्राडा यमबहादुर पौडेल क्षत्रीले बस्ताकोटीका कविता विषय, प्रवृत्ति र सन्देशका दृष्टिले मौलिक रहेको बताए । उनले बस्ताकोटीलाई समग्र साहित्यका क्षेत्रमा बलियो सम्भावना बोकेका सर्जकका रुपमा उभ्याए ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माले संस्थाले हालसम्म तीन वटा एकल साहित्य वाचन गरिसकेको जानकारी दिए । कल्याण पन्तको एकल लघुकथा वाचन र डा. जगन्नाथ रेग्मीको एकल कविता वाचन कार्यक्रम भएको उनले बताए ।

Advertisement

कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेश मानन्धरले संस्थाले गर्ने हरेक कार्यक्रम उपलब्धिमूलक रहेको भन्दै संस्थाकाे प्रशंसा गरे । संस्थाका उपाध्यक्ष हिमामाया पौडेलले स्वागत र कार्यक्रमको सञ्चालन सचिव भानुभक्त आचार्यले गरेका थिए ।

संस्थाले हरेक महिनाको दोस्रो शनिबार सिर्जनात्मक, समालोचनात्मक र अनुसन्धानमूलक कार्यक्रम गर्दै आएको संस्थाका सहसचिव मदन बरालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया