बुद्धिजीवी परिषद् गण्डकीमा चन्द्रबहादुर

समाधान संवाददाता २०८० वैशाख ११ गते १४:३१

पोखरा ।
नेपाल बुद्धिजीवी परिषद् गण्डकी प्रदेशको प्रथम अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष प्राडा चन्द्रबहादुर थापाको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्ष पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् । परिषद्को उपाध्यक्ष भोजराज दाहाल, सचिव बाबुराम केसी, उपसचिव ध्रुवराज सिग्देल र हेमलाल पौडेल र कोषाध्यक्ष गोरखबहादुर जिसी छन् ।

नेकपा (एमाले)का केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले अधिवेशनको उद्घाटन गर्दै अहिलेको विषम परिस्थितिले बुद्धिजीवीको भूमिका खोजेको बताइन् । अहिले मुलुकका सतही हावा बगेको उल्लेख गर्दै उनले ठीक बेठिक विश्लेषणभन्दा पनि चर्का कुरा गर्नेले परिरिस्थिति बिगारेको आरोप लगाइन् ।

Advertisement

मुलुकको समसामयिक राजनीतिक अवस्थाको वस्तुनिस्ट समीक्षा र विश्लेषणको लागि बुद्धिजीवीको सहयोग आवश्यक रहेको उनले उल्लेख गरिन् । ‘वर्तमान असहज अवस्थाको निकास दिने सामर्थ र क्षमतामात्र नभएर बुद्धिजीवी जनताले विश्वास गर्ने तथा पत्याउने व्यक्ति हो,’ उनले भनिन्, ‘समाजले बुद्धिजीवीलाई खोजेको छ ।

जनताले विश्वास गर्छ । बुद्धिजीवीले ठोस परिस्थितिको ठोस विश्लेषण गर्नु पर्छ ।’ उनले बुद्धि विवेक र क्षमता प्रर्दशन गरेर वर्तमान संकटको निकासको लागि सहजीकरण सुझाव दिइन् ।

Advertisement

बुद्धिजीवीले पार्टी कार्यकर्ताले जस्तो संगठन निर्माण मात्र गर्ने नभएको उल्लेख गर्दै उनले आवश्यक पर्दा ज्ञान र सकारात्मक आईडीया पार्टीलाई दिन आग्रह गरिन् । बुद्धिजीवीलाई कतिपय सन्दर्भमा अवसरवादी र ढुलमुले भन्ने आरोपसमेत लाग्ने गरेको स्मरण गराउँदै उनले बुद्धिजीवी परिषद्ले ढुलुमुले र अवसरवादी नभएको प्रमाणित गर्नुपर्ने सुझाव दिइन् ।

नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय महासचिव गजेन्द्र थपलियाले नेकपा (एमाले)का कारण अर्को कम्युनिस्ट पार्टी जन्मेको भए बुद्धिजीवीले पत्ता लगाउनुपर्ने बताए । उनले सही बोलेको भए ग्रहण गर्ने र गलतलाई सच्याउने सामर्थ राख्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सचिव डा कृष्णराज अधिकारी, बुद्धिजीवी परिषद् गण्डकी प्रदेश तदर्थ समितिका संयोजक कृष्ण केसी, गण्डकीका सहसंयोजक गोपाल पौडेल, सचिव रुचिला सापकोटा र बुद्धिजीवी परिषद्का कास्की अध्यक्ष प्राध्यापक विश्वराज अधिकारीले पार्टी निर्माणमा बुद्धिजीवीले खेलेको भूमिकाका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया