झलकमान गन्धर्व सारंगी वादन प्रतियोगिता हुने

समाधान संवाददाता २०८० वैशाख १२ गते १५:५१

पोखरा ।
पोखरामा झलकमान गन्धर्व सारंगी वादन प्रतियोगिता वैशाख १५ र १६ गते हुने भएको छ । नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखरा १६ र झलकमान गन्धर्व सारंगी पाठशालाले कार्यक्रम गर्न लागेको हो ।

दुई दिने हुने प्रतियोगितामा पहिलो दिन प्रतियोगी छनोट गरिने र दोस्रो दिन फाइनल हुने नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखरा १६ का अध्यक्ष सुर्य गायकले जानकारी गराए । गायकका अनुसार प्रतियोगितामा देशभरका कलाकारहरुले निशुल्क सहभागिता जनाउन पाउनेछन् ।

झलकमान गन्धर्वका गीतको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको भनाइ उनको छ । प्रतियोगितामा प्रथम हुनेले ३५ हजार, दोस्रो पुरस्कार २५ हजार, तेस्रो पुरस्कार १५ हजार, चौथो पुरस्कार ७ हजार ५ सय रुपैयाँ, प्रोत्साहन पुरस्कार २ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।

Advertisement

नेपालका मौलिक बाजा आरबाजो, सारंगी, मादलको संरक्षण, मौलिक तथा लोपन्मुख बाजाको पहिचान, गन्धर्व गीत मंगल, माहल बाह्रमासे, तरवारे नाच, डाँफे चरी, कर्खा, पिगुल,बालन, कृष्ण चरित्र, स्वस्थानी, विभिन्न कथा, घटनाहरुको संरक्षण गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको उनले उल्लेख गरे ।

‘झलकमान गन्धर्वका बुबाले संगीतमा देखाउनु भएको बाटोलाई पछयाउँदै हामी हिडिरहेका छौं । उहाँका सिर्जनालाई संरक्षण गर्ने दायित्व हाम्रो । फलस्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको हो ।’, गायकले भने । सारंगी गायन र बादनको प्रशिक्षणलाई निरन्तरता दिई नयाँ कलाकार उत्पादन गर्ने लक्ष्यका साथ संस्था अगाडि बढेकाे उनले बताए ।

Advertisement

गन्धर्व जातिको वर्तमान अवस्था पहिले भन्दा सुधार भएको झलकमान गन्धर्व सारंगी पाठशालाका अध्यक्ष दिलिप गायक बताउँछन् । उनका अनुसार अहिलेका कलाकारले परम्परागत पेशाबाट नै जिविकोपार्जन गर्दै आएका छन । उनले नेपाली मौलिक बाजा, लोकगीत संरक्षण र सम्बद्र्धनका लागि राज्यनै लाग्नुपर्ने बताए ।

पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सहयोगमा हुने कार्यक्रमलाई सफल पार्न विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया