कोरला नाका खोल्न पहल

सुन्दरकुमार थकाली २०८० वैशाख १३ गते ११:३३

जोमसोम ।
नेपाल र चीनका सुरक्षा अधिकारीबीच सोमबार कोरला नाकामा बैठक भएको छ । दुवैतर्फका सुरक्षा अधिकारीको आपसी सहमतिमा अनौपचारिक बैठक बसेको हो ।

सीमा सुरक्षा, बोर्डर खुल्ने र अल्पकालीन अन्तरदेशीय व्यापार मेला खुल्ने बिषयमा अनौपचारिक छलफल भएको हो । चिनियाँ पक्षबाट झोङ्वा काउन्टी तिब्बतका स्थानीय सुरक्षा अधिकारी र जिल्ला सुरक्षा समिति मुस्ताङबीच छलफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।

बैठकमा चिनियाँ पक्षबाट झोङ्वा काउन्टी तिब्बतका प्रमुख ल्युबो छिरिङ, प्रहरी प्रतिनिधि लेबा तेन्जिङ र डिएसपी निमा लगायत सहभागी थिए । नेपाल पक्षबाट जिल्ला सुरक्षा समिति प्रमुख सिडिओ अनुप केही लगायत प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुख लगायत उपस्थित थिए ।

Advertisement

भाषा सहजीकरणका लागि लोघेरकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ बैठकमा सहभागी बने । दुवै पक्षबीच कोरला नाकामा भएको बैठकले सीमाा नाका सुरक्षा, बोर्डर खोल्ने बिषय र अल्पकालीन अन्तरदेशीय व्यापार मेला आयोजना लगायतका बिषयमा छलफल भएको छ ।

नेपाल र चीनका सुरक्षा अधिकारीबीच व्यापार मेला आयोजना र नाका खोल्न अनौपचारिक छलफल

Advertisement

औपचारिक रुपमा मे २१ तारिख अर्थात् जेठ ७ गते नेपाल चीन संयुक्त समकक्षी बैठक बस्ने मौखिक सहमति भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । अल्पकालीन व्यापार मेला र सीमा खुला गर्ने बिषयमा चिनियाँ पक्ष सकारात्मक रहेको केसी बताउँछन् ।

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले अल्पकालीन व्यापार मेला खोल्ने बिषयमा चीन सकारात्मक रहेको बताए ।

आगामी सेप्टेम्बरतिर व्यापार मेला चलाउने अनौपचारिक सहमति भएको अध्यक्ष गुरुङको भनाइ छ । मेला भएमा सीमावर्ती क्षेत्रका बासिन्दालाई ठूलो राहत हुने उनी बताउँछन् । यसअघि सन् २०१८ मा दुवै पक्षबीचका सुरक्षा अधिकारीको चौथो बैठक जोमसोममा भएको थियो । त्यस बेला तिब्बतका सिगात्से बोर्डर चिफ अफ कर्नेल गेरीसहित १४ जना चिनिया सुरक्षा अधिकारी जोमसोम आएका थिए । त्यसयता सीमा सुरक्षा बैठक बस्न सकेको थिएन ।

झोङ्वा काउन्टीका सुरक्षा अधिकारीहरुले कोरलानाका दीर्घकालीन रुपमा खोल्न चाहेको बताइन्छ । आगामी जेठ ७ मा हुने बैठकले सीमा सुरक्षा, नाका सञ्चालन तथा अल्पकालीन अन्तरदेशीय व्यापार मेलाबारे लिखित सहमति बनाउने जनाइएको छ ।

बर्सेनि असार र भदौमा कोरला नाकाको चिनियाँ भूमीमा अन्तरदेशीय अल्पकालीन व्यापार मेला हुन्थ्यो । कोरना कहरका कारण लगातार ४ वर्ष मेला भएन । लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट मेला मुस्ताङीका लागि अत्यावश्यक भएको बताउँछन् ।

‘कोरोाा सुरु भएदेखि मेला भएको छैन । मेला सञ्चालन भएमा उपल्लो मुस्ताङबासीले राहत पाउनेछन्,’ उनले भने । मेला नहुँदा उपल्लो मुस्ताङमा चिनिया सामग्री आयात हुन सकेको छैन । चीनबाट भेडा, च्यांग्रा, खाद्यान्न, लत्ता कपडा, किराना सामान, इलेक्ट्रोनिक सामान, कृषि उपकरण लगायत आयात गरिन्थ्यो । नेपालबाट यार्सागुम्बा, पस्मिना लगायतका उत्पादन चिनियाँ नागरिकले किन्थे । सन् २०२० देखि नाका र मेला दुवै बन्द छन् ।

कोरलामा मेला नहुँदा नेचुङ भन्सारका कर्मचारीसमेत त्यहाँ बस्दैनन् । नेचुङ भन्सारले बर्सेनि १५ देखि २० लाखसम्म राजस्व संकलन गर्ने गथ्र्यो । कोरलामा चीनले नाका सञ्चालन गर्ने उद्देश्यले भन्सार, अध्यागन, सुरक्षा पोस्ट र सुख्खा बन्दरगाहसमेत बनाइसकेको गरिसकेको छ । नेपाल भूमिमा भने दश गजा क्षेत्रमा कुनै पूर्वाधार बन्न सकेका छैनन् ।

हालै सरकारले कोरलामा भन्सार लगायतकासंरचना निर्माण गर्न सर्भे सुरु गरेको छ । यसका लागि नेपाल उद्योग वाणिज्य मन्त्रालय, आपूर्ति मन्त्रालय र नेपाल इनटरमोडल यातायात विकास समितिलाई जिम्मा दिईएको छ । सर्भेका लागि करिब १ करोड बजेट विनियोजन भएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया