सामुदायिकका गतिविधि बुलेटिनमा

समाधान संवाददाता २०८० वैशाख १३ गते १६:२३

पोखरा ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले नयाँ वर्ष २०८० को अवसरमा सामुदायिक सन्देश बुलेटिन प्रकाशन गरेको छ । कास्कीका क्रियाशील सबै सामुदायिक सेवा केन्द्रले गरेका गतिविधिलाई समेटेर बुलेटिन प्रकाशन गरेको अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

विगतमा २७ पटक प्रकाशित बुलेटिनलाई नयाँ कार्यसमितिले निरन्तरता दिएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ र कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले मंगलबार आयोजित कार्यक्रममा बुलेटिन विमोचन गरे ।

प्रहरी नायब महानिरीक्षक गुरुङले शान्ति, सुरक्षा विना विकास असम्भव भएको बताए । परिवार समुदाय र समाज सक्रिय नबनेसम्म असंख्य रुपमा रहेका विकृति, विसंगति न्यूनीकरण गर्न नसकिने उनले उल्लेख गरे । ‘नेपाल प्रहरीले स्थानीय समुदायसँगको सहकार्यमा शान्ति, सुरक्षा कायम गरी समुन्नत समाज निर्माण गर्न सक्छ,’ उनले भने, ‘समाज सक्रिय र जागरुक भए शान्ति, सुरक्षा कायम गर्न सकिन्छ । समाजमा विद्यमान विकृति तथा विसंगति न्यूनीकरण गर्न सम्भव छ ।’ उनले ८० प्रतिशत लैगिंक हिंसाको भार घरेलु हिंसाले ओगटेको जानकारी दिए ।

Advertisement

नेपाल प्रहरीका दर्ता भएको अपराधका घटनामा लागुऔषध सम्बन्धि धेरै भएको उल्लेख गर्दै उनले नागरिक समाजले अपराधका घटनालाई न्यूनीकरण गर्नका लागि साझेदारी तथा नेपाल प्रहरीको काममा खबरदारी गर्नुपर्ने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी केसीले समाजका विकृति, विसंगति अन्त्य तथा शान्ति, सुरक्षा कायम गर्ने अभियानमा स्थानीय प्रशासनको साथ तथा समर्थन रहेको उल्लेख गरे । उनले सामुदायिक सेवा केन्द्रको अभियानमा सुरक्षा निकायले सहकार्य गर्ने जानकारी दिए ।

Advertisement

सामुदायिक सेवा केन्द्रका अध्यक्ष पराजलीले ‘विकृति र विसंगतिरहित समाजको निर्माण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ काम गरेको सेवा केन्द्रले नेपाल प्रहरीसँग हातेमालो गरी समाजमा शान्ति स्थापनार्थ खटिएकोे बताए । समुदायिक सेवा तथा प्रहरी सेवा केन्द्रका गतिविधिलाई नागरिकसमक्ष पु¥याउन बुलेटिनलाई चौमासिक रुपमा प्रकाशन गर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्री र वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक माधव केसीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीप्रसाद आचार्य, पोखरा महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष बोधराज कार्की, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका संस्थापक अध्यक्ष मंगल नेपाली, संस्थाका प्रथम उपाध्यक्ष तथा बुलेटिन प्रकाशन समितिका अध्यक्ष मनपति भण्डारी, महासचिव घनश्याम तिम्सिना लगायतले शान्ति, सुरक्षाका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया