७ सर्जकलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

समाधान संवाददाता २०८० वैशाख १६ गते १३:१४

पोखरा ।
गण्डकी प्रज्ञा प्रतिष्ठानको दोस्रो स्थापना दिवसको अवसरमा शुक्रबार प्रदेशका विभिन्न क्षेत्रमा स्थापित ७ जना स्रष्टा सम्मानित गरिएको छ । समारोहमा विभिन्न समुदायका झाँकी प्रर्दशन, कवितावाचन, नृत्य र गायनसमेत प्रस्तुत गरिएको छ ।

गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका कवि तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङ्जाका अम्मर गुरुङ पोखरेली र गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका श्रष्टा आलोक गुरुङ सम्मानित भएका छन् ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले सबै स्रष्टालाई दोसल्ला ओढाएर जनही १ लाख रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरे । गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी लोक गायिका माया गुरुङलाई दोसल्ला र नगद ५० हजारसहित सम्मान गरिएको छ । समारोहमा गण्डकी प्रज्ञा युवा सम्मानबाट मोतीबहादुर कार्की (परिवर्तन) र लक्ष्मी थापा सम्मानित भएका छन् । दुबै स्रष्टालाई जनही नगद २५ हजार र सम्मानपत्र प्रदान गरिएको छ ।

Advertisement

कार्यक्रममा क्षत्री, गुरुङ र तामाङ समुदायको तर्फबाट झाँकी प्रर्दशन गरिएको छ । अतिथि कवि कुमार तामाङले कवितावाचन गरेको कार्यक्रममा लोकगायिका माया गुरुङ र गीतकार शान्तिनाराण श्रेष्ठले गीत गाएका थिए । तरेली साँस्कृतिक परिवारका कलाकारले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । कलाकार राजबहादुर गुरुङ र प्रिया गुरुङले प्रतिष्ठानले तयार पारेको प्रदेशको चिनारी गीत गाए ।

कार्यक्रममा प्रतिष्ठानको वार्षिक गतिविधि श्रव्य तथा दृश्यमार्फत प्रस्तुत गरिएको छ । प्रतिष्ठानको भित्तेपात्रोसमेत सार्वजनिक गरिएको छ । कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधीश आचार्यले प्रतिष्ठानले लोक संस्कृति, कला तथा साहित्यको क्षेत्रमा उल्लेखनीय काम गरेको बताए । प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले कला, साहित्य तथा लोक संस्कृतिको संरक्षणका लागि ६९ वाङ्मयिक संस्थासँग सहकार्य गरेको जानकारी दिए ।

Advertisement

सामाजिक विकास तथा स्वास्थ मन्त्रालयका सचिव हेमराज सुवेदीले प्रदेश सरकारले प्रतिष्ठान खोलेर समग्र गण्डकी प्रदेशको कला, संस्कति र साहित्य क्षेत्रका संरक्षणको लागि काम गरेको बताए । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ जना स्रष्टाको बायोग्राफी तयार पारेको जनाए ।

सदस्य सचिव मनकुमार श्रेष्ठले परम्परागत गीत संरक्षण र स्रष्टा स्वास्थ्य बिमा थालनी गरेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया