चन्दा उठाएर खेलमैदान

राष्ट्रिय समाचार समिति (रासस) २०८० वैशाख १७ गते १३:५२

म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ घराम्दीमा सरकारी निकायको अनुदानको तुलनामा दोब्बर चन्दा संकलन गरेर खेलमैदान निर्माण गरिएको छ ।

घराम्दीको पेरी भारानी युवा क्लबले चन्दा संकलन र दाताको सहयोग जुटाएर भलिबल र बास्केटबल खेल सञ्चालन गर्न मिल्ने व्यवस्थित खेल मैदान बनाएको हो । क्लबका अध्यक्ष अमृत गर्बुजाले गाउँपालिकाबाट १४ लाख ३० हजार अनुदान प्राप्त भएको जानकारी दिए । खेलमैदान बनाउन समुदायबाट ३४ लाख ७७ हजार सहयोग जुटेको छ ।

‘खेतबारी र घरको आगँनमा खेलको अभ्यास गर्नुपर्ने समस्या हटाउन खेलमैदान बनाएका हौं’, उनले भने, ‘गाउँपालिकाले दिएको अनुदानभन्दा बढी चन्दा र श्रमदान जुटेको छ ।’ खेलमैदान निर्माण भएपछि भलिबल, बास्केटल लगायत खेलको अभ्यास, फुर्सदको समय सदुपयोग र प्रतियोगिता तथा सभासमारोह आयोजना गर्न सहज भएको स्थानीय नवीन फगामीले बताए ।

Advertisement

घराम्दी घर भई हाल बेलायत बस्ने होमबहादुर फगामीले ४ लाख ५० हजारमा किनेर क्लबलाई उपलब्ध गराएको ४ रोपनी जग्गामा ३० मिटर लम्बाइ र १७ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो । खेलमैदान निर्माणका लागि फगामीले थप २ लाख सहयोग गरेका छन् ।स्वदेश तथा विदेशमा रहेका घराम्दीवासीले मात्र २७ लाख सहयोग गरेका छन् ।

गाउँका भूतपूर्व सैनिकले ३ लाख २७ हजार खर्चेर खेलमैदान परिसरमा सार्वजनिक शौचालय बनाइदिएका छन् । गाउँपालिकाले प्यारापिट, घेराबार र स्टेज बनाउन १४ लाख ३० हजार सहयोग गरेको छ । अनुदान र चन्दाका अलावा १ सय परिवारको बसोबास रहेको घराम्दीका बासिन्दाले १०/१० दिनभन्दा बढी श्रमदान पनि गरेका छन् ।

Advertisement

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट स्टेज बनाउन ७ लाख ५० हजार बिनियोजन भएको वडाध्यक्ष मइलन पुर्जाले बताए ।

यसअघि आव २०७८/७९ मा २ लाख ८० हजार, आव २०७७/७८ मा ३ लाख र आव २०७६/७७ मा १ लाख सहयोग गरिएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया