स्मार्ट कक्षा चलाउँदै मंगला गाउँपालिका

राकेश शर्मा २०८० वैशाख १८ गते १३:५०

म्याग्दी ।
म्याग्दीको मंगला गाउँपालिका ३ पखेरमा रहेको पखेर आधारभूत विद्यालयको बाल विकासमा अहिले बालबालिका रमाएर पढ्न थालेका छन् । कक्षा ३ सम्म पढाइ हुने यो विद्यालयमा अहिले २२ जनामात्र बालबालिकाले अध्ययन गर्छन् । विद्यालयमा अन्य कक्षामा भन्दा बाल विकासमा आउने बालबालिका निकै खुसी छन् ।

उनीहरु बस्ने कक्षाकोठमा नै खेल्ने सामाग्री, सुन्नका लागि बोल्ने किताब र हेर्नका लागि स्मार्ट टिभी राखिएको छ । उनीहरुले बोल्ने किताब सुन्न र टिभी हेर्नका लागि भए पनि विद्यालयमा रमाएर आउन थालेको प्रधानाध्यापक रनबहादुर पुनले बताए ।

अहिलेको प्रविधिको युगमा हरेक मानिसको हातमा मोबाइल छ, प्रत्येकको घरमा स्मार्ट टिभी बालबालिकाले विद्यालय जाने उमेरभन्दा पहिलेदेखि नै मोबाइल वा टिभीमा रमाउने बानी लागिसक्ने पुन बताउँछन् । बालबालिकाले अन्य माध्यमबाट भन्दा यस्ता प्रविधिको प्रयोग गरेर छिटो बुझ्ने गरेका छन् ।

Advertisement

मंगला गाउँपालिकाले प्रविधिको प्रयोग गर्दै पालिका भित्रका बाल विकासमा स्मार्ट कक्षा सञ्चालन गरेको छ । पालिकाले सञ्चालन गरेको स्मार्ट कक्षा प्रभावकारी भएको बाल विकास सहजकर्ताहरु बताउँछन् ।

‘पहिलाभन्दा धेरै सिकाइ भएको छ, बच्चाहरुले छिटो सम्झछन्,’ पखेर आधारभूतकी बाल विकास सहजकता भविसरा बुढाथोकीले भनिन्, ‘पहिले हामीले बोर्डमा पढाउँदा निकै गाह्रो भएको थियो । बालबालिका निदाउने, एउटै शब्द पटक पटक भन्ने गर्नुपथ्र्यो अहिले त टिभिमा हेरेर र बोल्ने किताब सुनेपछि बालबालिकाले हेरेको र सुनेको कुरा सम्झछन् ।’

Advertisement

एक वर्षदेखि बालबालिकालाई स्मार्ट कक्षा प्रविधिबाट सिकाइएको छ । कक्षाकोठामा बस्दा बालबालिकाले टिभी हेरे पनि धेरै कुरा सिकेका छन् । त्यसले बालबालिकालाई समाल्न सजिलो भएको सरस्वती पम्फादेवी बालशिक्षाकी सहजकता असल खड्का भन्छिन् । उनका अनुसार बाल विकासमा अहिले बालबालिका रमाउनमात्र होइन, सिक्नसमेत जागरुक छन् ।

बाल विकास केन्द्रमा पढ्न आउने बालबालिका २ देखि ४ वर्षका हुने भएकाले उनीहरुले अरुले गरेको काम देखेर, अरुले बोलेको कुरा सुनेर सिक्ने गाउँपालिका शिक्षा संयोजक डेकबहादुर बानियाँ बताउँछन् । ३ वर्षदेखि नै स्मार्ट कक्षाको अवधारण लिएको गाउँपालिकाले सोही अनुरुप स्मार्ट कक्षा सञ्चालन गरेको छ ।

‘पालिकाको एउटा बाल विकास केन्द्रमा एउटा ३२ इन्चको स्मार्ट टिभी, बोल्ने किताब, र स्मार्ट टिभीका लागि रिमोर्टको काम गर्ने एउटा मोबाइल फोन दिएका छौँ,’ बानियाँले भने । सफ्टवयरमार्फत बोल्ने भएकाले शिक्षकको भन्दा शुद्ध बोल्ने हुँदा बालबालिकाले शुद्ध बोल्न सिकेको उनको भनाइ छ ।

अहिलेसम्म ४० बाल विकास केन्द्रमा स्मार्ट कक्षा सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । विद्यालयले २० हजार र पालिकाले ८० हजारसम्म अनुदान दिने गरको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताए ।

‘अहिले शिक्षकले स्मार्ट कक्षासम्बन्धी तालिम आवश्यक पर्‍यो भन्नुभएको छ । यो वर्ष हामी तालिमको आयोजना गर्दै छौँ ।’

पालिकामा स्मार्ट कक्षा प्रभावकारी भएका कारण यो वर्ष पनि १० देखि १५ वटा विद्यालयका कक्षा १ मा स्मार्ट कक्षा सञ्चालन गरिने खत्री बताउँछन् । पालिकाले स्मार्ट कक्षाका लागि चालु आर्थिक वर्षमा १२ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया