तथ्यांक व्यवस्थापन र विश्लेषणसम्बन्धी कार्यशाला

समाधान संवाददाता २०८० वैशाख १८ गते १७:१३

पोखरा ।
शैक्षिक योजना र व्यवस्थापन तथा शिक्षा विभाग पृथ्वीनारायण क्याम्पस पोखराको आयोजनामा प्राज्ञिक लेखनमा तथ्यांक व्यवस्थापन र विश्लेषणसम्बन्धी कार्यशाला भएको छ । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा ५ दिने कार्यशाला भएको हो ।

वैशाख १४ गतेबाट सुरु भएको कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्राडा सरोज कोइरालाले खोजमूलक चेतना नै विकासको आधार भएको तथ्य अघि सारेका थिए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका शैक्षिक योजना महाशाखा प्रमुख तोयनाथ लम्सालले मन्त्रालय र शिक्षाशास्त्र संकायकाबीच गण्डकी प्रदेशको शैक्षिक नीति र योजना बनाउन तथा तिनको कार्यान्वयनमा सहकार्य गर्न आवश्यक रहेको धारणा राखेका थिए ।

सोमबार भएको समापन सत्रमा त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले अनुसन्धान संस्कृतिको विकास गरी विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीमा गुणात्मक परिवर्तन आउन आवश्यक रहेको स्पष्ट पारे ।

Advertisement

अनुदान आयोगका निर्देशक डा प्रमोद पौडेलले अनुसन्धानमा बौद्धिक चोरीबाट बच्नुपर्नेमा जोड दिए । गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटा र अनुसन्धान तथा नवप्रवर्धन केन्द्र पृथ्वीनारायण क्याम्पसका सदस्य प्राडा मीन पुन र शिक्षाशास्त्र संकायका सहायक क्याम्पस प्रमुख यादवराज अधिकारीले अनुसन्धान, प्रकाशन र शिक्षणलाई सँगै लान आवश्यक रहेको बताएका थिए ।

कार्यशालामा पुस्तकालय प्रमुख किशोर सुवेदी, प्राडा लेखनाथ भट्टराई, प्राडा विकासकुमार केसी, डा नवराज न्यौपाने, अनुसन्धान संयोजक डा श्रीकृष्ण पन्थी, डा पिताम्बर पौडेल, डा अनन्तराज ढुंगना, पुष्पनिधि अमगाईँ र राजेन्द्र सुवेदीले सहजीकरण गरेका हुन् ।

Advertisement

कार्यशालामा पुस्तकालयबाट विद्युतीय तथ्यांकको उपयोग गर्ने तरिका, परिमाणात्मक, गुणात्मक र मिश्रित अनुसन्धान विधिमा तथ्यांक संकलन, संगठन र विश्लेषण गर्ने तरिका, एसपिएसएस, एटलसटिआइ, एनभिभोजस्ता तथ्यांक विश्लेषणका उपकरणको उपयोग, तथ्यांक व्यवस्थापनमा कम्प्युटरको उपयोग र अनुसन्धानका नवनव आयामका विषयमा सैद्धान्तिक र व्यावहारिक किसिमले प्रस्तुतीकरण, छलफल र समूहकार्य गराइएको थियो ।

कार्यशालामा शिक्षाशास्त्र संकायअन्तर्गत नेपाली शिक्षा, अंग्रेजी शिक्षा, गणित शिक्षा, स्वास्थ्य शिक्षा, विज्ञान शिक्षा, अर्थशास्त्र शिक्षालगायत विभागबाट करिब ५५ जना प्राध्यापकको सहभागिता रहेको थियो ।
गोविन्दप्रसाद गैरे, सञ्जीवराज खनाल, राममाया राना, शकुन्तला पगेनी, केशवराज अधिकारी, रामप्रसाद सुवेदी, सिर्जना सुवेदी , श्रीकान्त सापकोटालगायतले कार्यक्रममा स्वागत, सञ्चालन, व्यवस्थापन तथा विभिन्न उपसमितिमा रहेर सहयोग पुर्‍याएका थिए ।

हरेक दिन ४, ४ सत्रमा सञ्चालित कार्यक्रमको अध्यक्षता विभागका प्रमुख रेशमबहादुर सुवेदीले गरेका थिए ।

तपाईको प्रतिक्रिया