लेखनाथ नगरपालिका पुनःस्थापना गर्न माग

लेखनाथ नगरपालिका हुँदा आउने बजेट र अहिले महानगरपालिका हुँदा आउने बजेटमा ४ भागले कमी आएको दाबी

समाधान संवाददाता २०८० वैशाख १९ गते १३:०३

लेखनाथ ।
पोखरा र लेखनाथ मिसाएर पोखरा महानगरपालिका बनाए पनि जनताले पाउने सेवा र सुविधामा ठूलो भिन्नता रहेकाले साविक लेखनाथ नगरपालिका पुनःस्थापना गर्नुपर्नेमा सोमबार आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।


राज्यको पुनःसंरचनासँगै लेखनाथ नगरपालिका र पोखरा महानगरपालिकामा मिसिए पनि लेखनाथवासीको मन र भावना मिसिन नसकेको भन्दै वक्ताहरुले साविक लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।


जागरुक नागरिक समाज पोखरा २६ ले आयोजना गरेको साविक लेखनाथ हिजो आज र भोलि विषयक अन्तर्क्रियामा बोल्ने अधिकतर वक्ताहरुले पर्याप्त सम्भावनाहरु हुँदा हुँदै पनि जनताले अपेक्षा गरे अनुरुप विकास हुन नसकेको र महानगरले साविक लेखनाथलाई हेर्ने दृष्टिकोण नै भेदभावपूर्ण रहेको भन्दै लेखनाथ नगरपालिकालाई पुनःस्थापना गर्नुपर्ने बताएका हुन् ।

Advertisement


कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लेखनाथ नगरपालिकाका संस्थापक मेयर शालिग्राम पौडेलले सात तालको बगैंचा सहरको पहिचान बनाउँदै तत्कालीन अवस्थामा २२ नगरपालिकाहरुमध्ये लेखनाथ सबैभन्दा उत्कृष्ट नगर हुन सफल भएको सुनाए ।

उनले लेखनाथलाई पोखरा महानगरमा गाभे पनि जनताको अपनत्व र सहभागिता हुन नसकेको र राजनीतिक नेतृत्वले समेत गल्ती महसुस गरेको भनाइ राखे । आगामी दिनमा सबै जनता एकजुट भएर पुनःस्थापनाका लागि अगाडि बढ्नुपर्नेमा उनले जोड दिएका थिए ।

Advertisement


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीले स्थानीय तहको पुनर्संरचनाका बखत ग्रेटर पोखराको ललिपप देखाएर महानगरमा गाभिएको बताए ।

अहिलेको अवस्थासम्म आइपुग्दा उक्त अवधारणा विफल सिद्ध भएको उनको भनाइ थियो । ‘यसले लेखनाथवासीमा चरम निराशा छाएको, सन्तुलित विकास हुन नसकेको र लेखनाथको पहिचान नै गुम्ने अवस्था रहेको भन्दै अबका दिनमा विगतका त्रुटि सच्याएर अगाडि बढ्नुपर्छ,’ उनले भने ।


लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले लेखनाथ पोखरामा गाभिएकोमा लेखनाथवासीहरु सन्तुष्ट हुन नसकेको बताए । पोखरावासीहरुले पनि आफ्नो भाग खोसिएको महसुस गरेको आफूले पाएको उनको भनाइ थियो । ‘यो सामूहिक मुद्दा भएकाले सामूहिक रुपमा उठाउनुपर्नेमा उनले जोड दिए । यसमा लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए ।


कार्यक्रमका टिप्पणीकार रामजी लामिछानेले लेखनाथ नगरपालिका हँुदा आउने बजेट र अहिले महानगरपालिका हुँदा आउने बजेटमा ४ भागले कमी आएकाले कानुनी अडचनहरुको खोजी गरी साविक लेखनाथलाई लेखनाथ नगरपालिकाकै रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।


सोही अवसरमा आर्का टिप्पणीकार हरि त्रिपाठीले जसरी अहिले ठूला दलहरुमा जनताको विश्वास घट्दो रहेको बताए । लेखनाथवासीले पोखरामा मिसिँदा मनमा आत्मसम्मानको अनुभूति गर्न नपाएको उनले बताएका थिए ।


जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा साविक लेखनाथ नगरपालिका हुदा विभिन्न नेतृत्वदायी भूमिकामा रहेका राजनीतिक पार्टीका प्रतिनिधिहरुले आपूmहरु माथिल्लो तहका नेताको दबाबमा परेर लेखनाथलाई पोखरामा गाभ्न बाध्य भएको गुनासो राख्दै गल्ती भएको सिब्कार गरेका थिए ।


कार्यक्रममा जागरुक नागरिक समाजकी सचिव सावित्री भट्टराई, उपाध्यक्ष जगननाथ तिमिल्सेना, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुराखर अधिकारी, लक्ष्मीप्रसाद त्रिपाठी, उद्योगी व्यवसायी, कानुन व्यवसायी, सञ्चारकर्मी लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले लेखनाथलाई लेखनाथ नगरपालिकाकै रुपमा स्थापित गर्न दबाबमूलक समिति गठन गर्दै कानुनी अडचनहरुलाई हटाउँदै आन्दोल गर्न परेपनि पछि नपर्ने प्रतिबद्धता जनाएका थिए ।

तपाईको प्रतिक्रिया