पोखरा स्पोर्ट्स अवार्ड: उत्कृष्ट होडमा रोजीना, सावित्रा र सुस्मिता

समाधान संवाददाता २०८० वैशाख १९ गते १०:११

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधिमा ३ खेलाडीबीच प्रतिष्पर्धा हुने भएको छ । आर्चरीकी रोजीना थापामगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर उत्कृष्ट ३ मा परेका छन् ।

उत्कृष्ट तीनको मनोनयनमा परेका रोजीना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङकी हुन् । शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रममा यो उपाधि हात पार्ने खेलाडीले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी पाउने नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।


यसअगाडि यो विधाको अवार्ड भलिबलकी मञ्जु गुरुङ, सितेरियो कराँतेकी बिमला नेपाली, तेक्वान्दोकी पार्वती गुरुङ र कराँतेकी सुष्मी श्रेष्ठले पाइसकेका छन् । भलिबलकी अरुणा शाहीले २ पटकसम्म यो विधाको अवार्ड पाएकी छन् ।

Advertisement

रोजीना थापामगर
२०५९ मा जन्मिएकी रोजीना थापामगरले ०७२ देखि आर्चरी खेल्न सुरु गरेकी हुन् । स्व. लक्ष्मणकुमार श्रेष्ठको स्मृतिमा ०७३ मा भएको राष्ट्रिय आर्चरी प्रतियोगितामा स्वर्ण पदक हात पारेकी उनले ०७३ मै भएको सातौ्ं राष्ट्रिय खेलकुदमा २ स्वर्ण पदक हात पारेकी थिइन् । ०७४ सालमा सम्पन्न स्व. लक्ष्मणकुमार श्रेष्ठको स्मृतिमा आयोजना गरिएको चौथो राष्टिय अर्चरीमा रजत पदक हात पारेकी थिइन् ।

०७४ मा भएको राखेप च्याम्पिएनसिपमा कास्य पदक हात पार्दै एसियन खेलका लागि छनोट भएकी थापा सरकारले आवश्यक बजेटको व्यवस्था नगरिदिँदा प्रतियोगितामा सहभागी हुन भने पाइनन् । ०७६ मा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी उनले पदक हात पार्न भने सकिन्न । ०७९ मा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा २ स्वर्ण हात पारिन् । दोस्रो गण्डकी प्रदेश स्तरीय खुल्ला आर्चरी प्रतियोगितामासमेत उनले काँस्य पदक जितेकी थिइन् ।

Advertisement

सुस्मिता थापामगर
०६० मा बाग्लुङमा जन्मिएकी सुस्मिता थापामगर आइटिएफ तेक्वान्दो खेलाडी हुन् । हाल खेल व्यवस्थापनमा स्नातक अध्ययनरत थापाले ०७४ देखि खेल्न सुरु गरेकी हुन् । पहिलोपटक ०७६ मा भएको आठौं राष्ट्रिय खेलकुदमा सहभागी उनले १ स्वर्ण र २ रजत पदक हात पार्न सफल भइन् । ०७७ मा भएको २० औं सिनियर राष्ट्रिय च्याम्पियनसिपमा सहभागी उनले ३ रजत हात पारेकी थिइन् । ०७८ मा भएको पहिलो गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा २ स्वर्ण पटक हात पार्दै उत्कृष्ट खेलाडी घोषित भइन् । ०७९ मा भएको नवांै राष्ट्रिय खेलकुदमा १ स्वर्ण र १ रजत पदक हात पार्न सफल बनिन् ।

सावित्रा भण्डारी
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा २६ वर्षअघि लमजुङमा जन्मिएकी हुन् । १२ वर्षको उमेरदेखि खेल्न सुरु गरेकी उनी फुटबल भन्दा अघि एथ्लेटिक्स र भलिबल खेलाडी हुन्् । उनले ०६९ मा भएको राष्ट्रपति रनिङ अन्तर्गत १०० मिटर दौडमा स्वर्ण जितेकी थिइन् ।

०७० बाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् । सन् २०१४ मा भएको साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गर्दैै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । उनले देशको प्रतिनिििधत्व गर्दै एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।


०७० मा विभागीय एपिएफ क्लबमा आवद्ध उनी हालसम्म सोही क्लबमा छिन् । उनी भारतको क्लबमा समेत आवद्ध रहँदै विभिन्न प्रतियोगितामा सहभागी हुँदै आएकी छन् ।

अवार्ड कार्यक्रमको थप आर्कषणका रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङ्जाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी रहने मञ्चले जनाएको छ । प्रवेश निःशुल्क रहेको कार्यक्रममा उपस्थित हुन आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया