तथ्यांक व्यवस्थापन र विश्लेषण कार्यशाला

समाधान संवाददाता २०८० वैशाख १९ गते १०:५१

पोखरा ।
शैक्षिक योजना र व्यवस्थापन तथा शिक्षा विभाग पृथ्वीनारायण क्याम्पस, पोखराको आयोजना एवं त्रिभुवन विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा प्राज्ञिक लेखनमा तथ्यांक व्यवस्थापन र विश्लेषणसम्बन्धी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
वैशाख १४ गतेबाट सुरु कार्यक्रममा प्रमुख व्यक्तित्व प्राडा सरोज कोइरालाले खोजमूलक चेतना नै विकासको आधार भएको तथ्य अघि सारे । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका शैक्षिक योजना महाशाखा प्रमुख तोयनाथ लम्सालले मन्त्रालय र शिक्षाशास्त्र संकायका बिच गण्डकी प्रदेशको शैक्षिक नीति र योजना बनाउन तथा तिनको कार्यान्वयनमा सहकार्यको आवश्यकता औंल्याए ।


कार्यशाला समापनमा त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले अनुसन्धान संस्कृतिको विकास गरी विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीमा गुणात्मक परिवर्तन आउन आवश्यक रहेको स्पष्ट पारे ।


कार्यक्रममा अनुदान आयोगका निर्देशक डा प्रमोद पौडेलले अनुसन्धानमा बौद्धिक चोरीबाट बच्नुपर्नेमा जोड दिए । गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडानवराज देवकोटा र अनुसन्धान तथा आविष्कार केन्द्र पृथ्वीनारायण क्याम्पसका सदस्य प्राडा मीन पुनले अनुसन्धान, प्रकाशन र शिक्षणलाई सँगै लान आवश्यक रहेको बताए ।

Advertisement


५ दिन सञ्चालित अनुसन्धान कार्यशालामा विज्ञहरु पुस्तकालय प्रमुख किशोर सुवेदी, प्राडा लेखनाथ भट्टराई, प्राडा विकासकुमार केसी, डा नवराज न्यौपाने, अनुसन्धान संयोजक डा श्रीकृष्ण पन्थी, डा पीताम्बर पौडेल, डा अनन्तराज ढुंगाना, पुष्पनिधि अमगाईँ र राजेन्द्र सुवेदीले सहजीकरण गरेका थिए । कार्यशालामा पुस्तकालयबाट विद्युतीय तथ्यांकको उपयोग गर्ने तरिका, परिमाणात्मक, गुणात्मक र मिश्रित अनुसन्धान विधिमा तथ्यांक संकलन, संगठन र विश्लेषण गर्ने तरिका, एसपिसएस, एटलसटिआई, एनभिभोजस्ता तथ्यांक विश्लेषणका उपकरणको उपयोग, तथ्यांक व्यवस्थापनमा कम्प्युटरको उपयोग र अनुसन्धानका नवनव आयामका विषयमा सैद्धान्तिक र व्यावहारिक किसिमले प्रस्तुतीकरण, छलफल र समूहकार्य गराइएको थियो ।


गोविन्दप्रसाद गैरे, सञ्जीवराज खनाल, राममाया राना, शकुन्तला पगेनी, केशवराज अधिकारी, रामप्रसाद सुवेदी, सिर्जना सुवेदी, श्रीकान्त सापकोटालगायतले कार्यक्रमलाई सहयोग पु¥याएका थिए । कार्यक्रमको अध्यक्षता विभागका प्रमुख रेशमबहादुर सुवेदीले गरेका थिए । कार्यशालामा शिक्षाशास्त्र संकायअन्तर्गत नेपाली शिक्षा, अंग्रेजी शिक्षा, गणित शिक्षा, स्वास्थ्य शिक्षा, विज्ञान शिक्षा, अर्थशास्त्र शिक्षालगायत विभागबाट करिब ५५ जना प्राध्यापकको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया