गण्डकी स्पोर्टस् क्लबको पदस्थापन

समाधान संवाददाता २०८० वैशाख २४ गते ११:०८

पोखरा ।
गण्डकी स्पोर्ट्स क्लब पोखरा ३ कास्कीको विशेष साधारण सभाबाट नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिको शनिबार पदस्थापन गरिएको छ ।

विशेष साधारणसभाले उमेश सिकेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । क्लबको उपाध्यक्ष दीपक मुल्मी, सचिव कपिलदेव गौतम, सहसचिव चेतनाथ चालिसे, कोषाध्यक्ष विनोद गुरुङ र सहकोषाध्यक्ष सुमन ताम्राकार छन् ।

क्लबका कार्यसमिति सदस्यमा कृष्णबहादुर थापा, जयप्रकाश थापा, मिलन पुन, इनोज रञ्जीत, सान्तोष बानियाँ, अनिरुद्र उदास, गोविन्द प्रधान, द्रव्यजंग राणा, सुरेश बजिमय, मनोजकुमार गुरुङ, दमनजंग राणा, राजु कायस्थ, गुमबहादुर थापा, सुन्दरकुमार थापा र राजकुमार गुरुङ छन् ।

Advertisement

यस्तै, सल्लाहकारमा आनन्द रञ्जीत, मोतिमान शाक्य, सञ्जीव कायस्थ, वीरेन्द्रकुमार श्रेष्ठ र असिम बजिमय छन् । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा कबड्डी संघ कास्की अध्यक्ष पवनकुमार प्रजापतिले खेल र संगीतप्रति रुचि नराख्ने व्यक्तिको जीवन पूर्ण नहुने बताए । ‘खेल र संगीत मानव जीवनका लागि अपरिहार्य विषय हो,’ उनले भने, ‘खेलकुदले मानिसको चौतर्फी विकासका सहयोग पुर्‍याउँछ ।’ उनले युवालाई कुलतबाट जोगाउने औषधी खेलकुद भएको टिप्पणी गरे ।

अहिलेको अवस्थाका खेल संस्थालाई जोगाउन कठिन भएको उनले उल्लेख गरे । अध्यक्ष प्रजापतिले आफ्नो उद्योग वाणिज्य संघ अध्यक्ष र कब्बडी संघको अध्यक्षसम्मको यात्राको जग गण्डकी स्पोट्स क्लब नै भएको सुनाए । क्लबका सल्लाहकार तथा कास्की जिल्ला फुटबल संघका पूर्व अध्यक्ष आनन्द रञ्जीतले समग्र खेलकुदको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न क्लबलाई सुझाव दिए ।

Advertisement

क्लबका अध्यक्ष सिकेले खेलकुद क्षेत्रको उन्नयनका लागि गण्डकी युवा परिवारलाई स्पोर्टस क्लबमा रुपान्तरण गरेको जानकारी दिए । उनले क्लबले कास्कीमा पहिलो पल्ट लिग खेलाएको दाबी गरे । क्लबले विभिन्न प्रतियोगिता आयोजना, प्रशिक्षण जस्ता गतिविधि गरी पोखराको खेलकुद क्षेत्रको विकासमा योगदान गर्ने उनको भनाइ छ ।

क्लबका सचिव कपिलदेव गौतमले २०५८ सालमा राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको क्लबले क्रिकेट, भलिबल र फुटबल खेलमा योगदान पुर्‍याएको जानकारी दिए । उनले क्लबले पूर्व राष्ट्रिय खेलाडी नरकाजी गुरुङको स्मृतिमा लिग गरेको बताए ।

तपाईको प्रतिक्रिया