‘१७ लाख ऋण पौने २ करोड तिर्दा पनि सकिएन’

समाधान संवाददाता २०८० वैशाख ३१ गते १५:०२

पोखरा ।
कास्कीका प्रमख जिल्ला अधिकारी टेकबहादुर केसीले मिटरब्याज र सहकारीबाट पीडितका समस्या देखेर दिक्क लाग्ने गरेको बताएका छन् । उनले तराईमा जस्तो मिटर ब्याज पीडितको संख्या ठूलो नभए पनि कास्कीमा करोडौं रुपैयाँसम्मको कारोबार भएको र सहकारीबाट पीडितको समस्या पनि उस्तै रहेको सुनाए ।

‘१ व्यक्तिले १७ लाख रुपैयाँ ऋण लिएर १ करोड ८५ हजार भुक्तानी गरिसकेछन् तर उनलाई अझै ५५ लाख तिर्न बाँकी रहेको देखाइएछ,’ जिल्ला प्रशासन कार्यालय कास्कीमा आएको एक उजुरीको फेहरिस्त प्रस्तुत गर्दै उनले भने, ‘अदालतमा मुद्दा हाल्दा भने मिटरब्याज लगाउनेले ३४ लाख बाँकी छ भनेछ ।’

पीडितहरु सयौँको संख्यामा छन्, रोएका छन् ।
टेकबहादुर केसी, सिडिओ, कास्की

Advertisement

उनी शुक्रबार पोखरा उद्योग वाणिज्य संघ र राष्ट्रिय उपभोक्ता महासंघले संयुक्त रुपले आयोजना गरेको व्यावसायिक सचेतना तथा अन्तरक्रियामा बोल्दै थिए । उनले पोखरामा मिटरब्याजबाट पीडितको अवस्था कहालीलाग्दो भएको पनि बताए ।

‘पीडितहरु सयौँको संख्यामा छन्, रोएका छन्,’ उनले भने ।

Advertisement

जिसीले सहकारीबाट पीडितहरुको अवस्था पनि उस्तै रहेको सुनाए । ‘सहकारीलाई हेर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई दिएको छ तर नियमन छैन,’ उनले भने, ‘एउटै व्यक्तिको ३/४ करोड फसेको छ, सञ्चालक सम्पर्कमा छैनन्, उनीहरुको गुनासो सुन्दा पनि दिक्क लाग्छ ।’

उनले उपभोक्ताको अधिकारलाई ध्यानमा राख्न व्यवसायीसँग आग्रह पनि गरे । व्यवसायीलाई कानुनबारे थाहा हुने तर कार्यान्वयन नगर्ने प्रवृत्ति रहेको पनि उनले सुनाए ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले व्यवसायी स्वयं पनि उपभोक्ता भएको र ऊ उपभोक्ताको अधिकारप्रति सचेत रहेको जिकिर गरे । ‘कोही बदमास पनि होलान् तर हाम्रो अर्थतन्त्र आयातमा निर्भर छ, हामी अर्काको सामान ल्याएर बेच्न बाध्य छौँ,’ उनले भने, ‘अघिल्लो पटक बढी मूल्यमा सामान आउँछ, गोदाममा थन्किन्छ, अर्को पटक सस्तोमा आउँछ, अघिल्लो खरिदलाई कालोबजारी भन्न मिल्दैन ।’

उनले बैक तथा वित्तीय संस्थाहरुले ब्याज वृद्धि गरेर कालोबजारी गरेको तर्क गर्दै त्यहाँ उपभोक्तावादी संघ, संस्थाले अनुगमन गर्नुपर्ने औंल्याए । दर्ता बिना व्यवसाय गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त बरालले अनुगगमनका क्रममा प्रशासनले सकेसम्म व्यवसायीलाई दण्डित गर्ने नभई सम्झाउने गरेको सुनाए । स्वस्थ बजारका लागि व्यावसायिक सचेतताबारे कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले हरेक व्यवसायीले आफ्नो कर्तव्य इमान्दारितापूर्वक पालना गरे उपभोक्ता हितको संरक्षण हुने जनाए ।

कार्यक्रममा उपभोक्ता मञ्च कास्की अध्यक्ष राजेन्द्र लिगल, सचिव कमल पौडेल अथक, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, व्यवसायीहरु सीता गुरुङ, बालकुमार लुइँटेल, गजेन्द्रमान श्रेष्ठ, रामबहादुर विक, अधिवक्ता मुना रानाभाट लगायतले व्यवसायीले भोग्नुपरेका समस्या र उपभोक्ता अधिकारबारे जिज्ञासा राखेका थिए ।

तपाईको प्रतिक्रिया