तेस्रो अन्नपूर्ण म्याराथन जेठ २० गते हुँदै

समाधान संवाददाता २०८० जेठ ४ गते १६:४९

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १०, घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन जेठ २० गते हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको व्यवस्थापनमा जेठ २० गते तेस्रो अन्नपूर्ण म्याराथन हुन लागेको हो । समितिकै आयोजनामा जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० हुन लागेको हो ।

आयोजनाले बिहीबार पत्रकार सम्मेलन गर्दै सन् १९५० जुन ३ का दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको भन्दै सोही दिनको सम्झनामा म्याराथन गर्न लागिएको जनाएको छ ।

म्याराथन अन्नपूर्ण आधारशिविरबाट माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुकमा आएर सकिनेछ ।

Advertisement

म्याराथन महिला र पुरुष दुवैतर्फ हुनेछ । पुरुषतर्फको विजेताले १ लाख ५० हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उपविजेताले १ लाख र तेस्रो हुनेले ७५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । महिलातर्फको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार राखिएको छ ।

Advertisement

सोही अवसरमा गाउँस्तरीय पुरुष भलिबल र खुल्ला पुरुष बास्केटबल प्र्रतियोगिता आयोजना गरिएको छ । दुवैतर्फ विजेतालाई ८० हजारसहित पदक र प्र्रमाणपत्र प्रदान गरिने महोत्सवको संयोजक ललित गुरुङले जानकारी दिए । उपविजेता हुने टिमले ५० हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । दुवैको दर्ता शुल्क ६ हजार राखिएको छ ।

तपाईको प्रतिक्रिया