समयका कथा मेरा लघुकथाको जगः शुभ

समाधान संवाददाता २०८० जेठ ५ गते ११:२२

नेपाली लघुकथा उन्नयनमा सक्रिय साहित्यकार र साहित्यसेवीले बिर्सनै नमिल्ने नाममा पर्छः शुभ शर्मा । सबैभन्दा बढी नेपाली लघुकथा वाचन गर्नेमा सम्भवतः उनकै नाम आउँछ । वाचन गर्दागर्दै लघुकथाको शक्ति र सामथ्र्य बुझेकी उनले आफैं लेख्न पनि थालिन् । गएको वैशाख १३ गते उनको पहिलो कृति ‘शुभांशु’ लघुकथा सञ्चयन सार्वजनिक भएको छ ।

यो कृति कास्कीमा महिला साहित्यकारकै पहिलो लघुकथा कृतिसमेत बनेको छ । ११२ पेजको यो पुस्तकमा ६२ लघुकथा छन् । लघुकथाको माध्यमबाट समाजमा रहेका परिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र मनोवैज्ञानिक पक्षलाई उनले उजागर गरेकी छन् । जीवनप्रतिको सकारात्मक सोच र आदर्शवादी चेत उनका लघुकथाको मुख्य धरातल हो । उनी हाम्रो लघुकथा पाठशाला (हाल हाम्रो लघुकथा केन्द्र) को फेसबुक पेजमा वाचिका तथा व्यवस्थापकसमेत छिन् । उनीसँग गरिएको नयाँ कृति र लघुकथा केन्द्रित कुराकानीः

तपाई लघुकथा सिर्जनासम्म चाहिँ कसरी आइपुग्नुभयो ?
म गरिखाने मान्छे हुँ । वैदेशिक रोजगारबाट भर्खरै फर्केर किताब निकालेकी हँु । १० वर्ष वैदेशिक रोजगारीमा रहें । मैले आफ्नो पहिलो लघुकथा ‘दार’ लेखेर हाम्रो लघुकथा कुनोमा पोस्ट गरेकी थिएँ । त्यहाँ पोस्ट गरेपछि विभिन्न प्रतिक्रिया आए ।

Advertisement

नारायण तिवारी सर लगायतले यसरी लघुकथा लेख्ने होइन, यसो यसो गर्नुपर्छ भनेर बुझाउनु भयो । कसरी रहेछ लघुकथा लेख्ने भन्ने मलाई थप जिज्ञाशा जाग्यो ।

यसै क्रममा राजु क्षेत्री अपुरोसँग भेट भयो सामाजिक सञ्जालबाटै । उहाँले लेखनका तकनिकीबारे जानकारी गराइदिनुभयो ।

Advertisement

त्यसपछि लेख्दै पोस्ट गर्दै गर्दा कति लघुकथा बने, कति बनेनन् पनि । वास्तवमा लघुकथा कस्तो हुनुपर्छ भन्ने पाठशालामा आएपछि नै थाहा भयो ।

लघुकथामा मैले समाजमा अहिलेको अवस्था र भोलि यस्तो चाहिँ नभईदिए हुन्थ्यो भन्ने चित्र बनाउन खोजेकी छु

साहित्यमा प्रवेश नै लघुकथाबाट गर्नुभयो कि अरु विधा हुँदै यहाँसम्म आइपुग्नुभयो ?
सानैमा गीत लेख्थें, लेख्नेभन्दा पनि बढी गीत गाउँथे । मैले पहिलो चोटि ७,÷८ वर्षको हुँदा होला । अहिले म कुनै पार्टीमा छैन, त्यति बेला बुवाकै पार्टीमा गीत गाएकी थिएँ र गिरिजाप्रसाद कोइरालाले १ सय रुपैयाँ इनाम दिनुभएको थियो । साहित्यको मेरो पहिलो कमाइ भनौं या पुरस्कार थियो त्यो । मेरो जन्मस्थान नै चितवन हो, बाल्यकाल त्यही बित्यो । अहिले पोखरा स्थायी घर भएको छ ।

धेरै नेपालीको कवितासँग पहिलो हेलमेल हुन्छ तर तपाईलाई लघुकथाले कसरी तान्यो ?
मैले पनि साहित्यमा पहिला त मुक्तक, कविता नै लेखेकी हुँ । कविता अहिले पनि लेख्छु । खासगरी छन्द मलाई असाध्यै मन पर्छ । कृतिचाहिँ निकालेको छैन । लघुकथा पाठशालाले नै मलाई आख्यानकार बनाएको हो । यसमा दुई मत छैन । उहाँहरुले लघुकथा वाचनमा मलाई अघि ल्याउनुभयो । वाचन गर्दागर्दाै यत्तिको लेख्न त म पनि सक्छु भन्ने लाग्यो । आखिरी मैले लेखेका लघुकथा लघुकथा बने भन्ने उहाँहरुको प्रतिक्रिया आएपछि संगृहित गर्नुपर्छ भन्ने सोच पलायो । त्यसको परिणाम अहिले पाठकको हातमा शुभांशु छ ।

लघुकथा पाठशालासँग चाहिँ कसरी जोडिने संयोग मिल्यो ?
पाठशाला सुरु भएसँगै नै म जोडिएकी हुँ । अहिलेसम्म लघुकथा पाठशालामा मात्र होइन, सम्भवतः सबैतिर सर्वाधिक नेपाली लघुकथा वाचन गर्नेमा मै पर्छु होला ।

तपाईका लागि लघुकथा के हो ?
कुनै दृश्य देखियो, त्यसलाई आफूले कथामा परिणत गर्न सकियो, मैले लेखेको कुराले समाजमा सकारात्मक सोच दिन्छ भन्ने खालको मनमा लाग्यो भने त्यतिखेरै म त्यसलाई कथामा उर्तार्ने कोशिश गछु । कहिलेकाँही लेख्छु, केर्छु । राम्रो लाग्यो भने पोस्ट पनि गर्छु, त्यसरी पोस्ट गरिएका लघुकथा नै यो पुस्तकमा छन् । कतिपय नयाँ लघुकथा पनि समावेश छन् ।

म नयाँ सर्जक हुँ । लघुकथामा मैले दिने परिचय भनेको अग्रजले दिएकै हुन्छ । यसलाई म सुगा रटाइ पनि भन्छु । जानेर, विज्ञ भएर म लघुकथाकार बनेको होइन । आजसम्म अग्रजहरुले बोलेका कुरालाई नै लघुकथा यो रहेछ भनेर बुझेकी छु ।

तपाईको पहिलो कृतिबाट पाठकले के पाउँछन् ?
म अध्ययनले भन्दा पनि अनुभवले आएकी हुँ । यो कृतिको नामको अर्थ उज्यालो अर्थात् प्रकाश भन्ने हुन्छ । मेरालागि चाहिँ यो शुभको अंश हो, जीवनको उज्यालो वा प्रकाशतर्फ लैजाने गोरेटो हो । मेरा लघुकथामा मैले भोगेका भन्दा पनि समाजमा देखिएका विषयवस्तु छन् । समाजमा अहिलेको अवस्था र भोलि यस्तो चाहिँ नभईदिए हुन्थ्यो भन्ने चित्र दिन खोजेकी छु । त्यसमा कति सफल भएँ, कति असफल रहें, अब मूल्यांकन गर्ने पाठकको जिम्मा ।

तपाई पाठकलाई के भन्न चाहनुहुन्छ ?
शुभांशु यहाँहरुको हात हातमा पुगोस् । पक्कै पनि यहाँहरुले अध्ययन गरेर सुझाव, सल्लाह, मार्गदर्शन गर्नुहुनेछ भन्ने अपेक्षा छ । यो मेरो पहिलो कृति हो । मलार्ई आगामी रचना सुर्धार्ने र म आफू पनि सुध्रिने मौका दिनुहुनेछ भन्ने आशा छ ।

तपाईको प्रतिक्रिया