सम्पादकीय: सिमसार जोगाऊँ

समाधान संवाददाता २०८० जेठ १४ गते १२:०२

पोखरा महानगरले गत चैतको पहिलो साता फेवा तालको सिमसार क्षेत्र पुर्दै गरेको अवस्थामा दुई ट्रिपर नियन्त्रणमा लियो । महानगरले ट्रिपर त नियन्त्रणमा लियो तर, सिमसार क्षेत्र पुर्ने काम भने अहिले पनि चलिरहेको छ । फेवा तालको उपल्लो भागको सिमसार क्षेत्र पुर्दै घडेरी बनाउने क्रम रोकिएको छैन । यसो त सिमसार क्षेत्र पुर्ने कदम नयाँ होइन, यसअघि पनि निरन्तर रुपमा सिमसार क्षेत्र पुरेर भौतिक संरचना बनाउने कामहरु पनि निरन्तर चलिरहेका छन् ।

यसो त फेवा तालको संरक्षणमा असर पु¥याउने गरी तालको ६५ मिटरभित्र बनेका भौतिक संरचनाहरु हटाउन सर्वाेच्च अदालतले पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारलाई ५ वर्षअघि नै आदेश दिएको थियो । तर, पनि उक्त आदेश कार्यान्वयन हुन सकेको छैन । तालको मापदण्डभित्रै होटल तथा रेस्टुरेन्ट ठडिएका छन् ।

सिमसार पुर्नेहरु खुलेआम व्यक्तिगत भूमि पुर्न पाउनुपर्ने भनिरहेका छन् । रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्र पुरिँदै जाँदा फेवा तालकै अस्तिवमा संकटमा परेको छ । त्यतिमात्रै होइन, निरन्तर रुपमा हुने सिमसार क्षेत्र दोहनले मानव जीवनमा आर्थिक, वातावरणीय स्वास्थ्यका जोखिम बढाएको छ । कतै पानीका स्रोत सुकेर बस्ती सार्नुपर्ने समस्या बढेको छ । सिमसार क्षेत्र रह्यो भने मात्रै पानी रहन्छ ।

Advertisement

सिमसार क्षेत्र नै नरहे पानी जम्मा हुने ठाउँ हँुदैन । अनि सिमसार क्षेत्रबाट प्राप्त हुने विभिन्न वस्तु तथा पारिस्थितिकीय सेवाहरू नै समाप्त हुने खतरामा पर्न सक्छ । जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सिमसार क्षेत्रमा भइरहेको अवैध उत्खनन् र जमिन पुर्ने कार्य तत्काल रोक्ने निर्णय गरेको छ । उक्त निर्णय तत्काल कार्यान्वयन होस् र सिमसार पुर्ने काम तत्काल बन्द होस् ।

वन, वनस्पति, वन्यजन्तु र मानव जीवनका लागि अति महत्वपूर्ण फेवातालको सिमसार क्षेत्र अतिक्रमणले सिमसार क्षेत्र साँघुरिँदै जानु मानव जातीकै लागि खतराको विषय हो । व्यक्तिको नाममा रहेका जग्गा त्यसैगरी पुर्दै जाने हो भने कुनै दिन फेवा ताल नै पुरेर घर नबन्ला भन्न सकिँदैन । फेवा ताल वरिपरि भएको जग्गा व्यक्तिको सम्पत्ति मात्रै होइन, त्यो फेवा तालको पनि सम्पत्ति हो र राज्यको पनि सम्पति हो, प्रकृतिको सम्पत्ति हो ।

Advertisement

आवश्यक छ भने राज्यले मुआब्जा दिएर भए पनि सिमसारको व्यक्तिको जमिन अधिग्रहण गरी संरक्षण गर्न जरुरी छ । जसरी फेवा तालले पर्यटनलाई जोगाउँछ, त्यसरी नै सिमसार क्षेत्रले फेवा ताललाई जोगाउँछ । त्यस कारण पनि तालको सिमसार क्षेत्र जोगाउनु अति नै आवश्यक छ । सिमसार क्षेत्रमा रहेका व्यक्तिगत जमिनलाई राज्यले नै उचित टुंगो लगाइ व्यवस्थापन तथा संरक्षण गर्न जरुरी छ । अन्यथा सिमसारसँगै फेवा तालको अस्तित्व नरहला भन्न सकिँदैन ।

तपाईको प्रतिक्रिया