पोखरा २६ का काम योजना बैंकबाट

समाधान संवाददाता २०८० जेठ १४ गते १६:४२

लेखनाथ ।
पोखरा २६ का जनप्रतिनिधिले कार्यकालको पहिलो वर्ष सम्पादन गरेका कामको शनिबार समीक्षा गरेका छन् ।

गत वर्ष जेठ १३ गते पदस्थापन गरेका जनप्रतिनिधिले त्यसयता गरेका काम वडावासीबीच प्रस्तुत गरे ।

अघिल्लो वर्ष वडा भेला गरी योजना संकलन गरिएका योजनाहरु योजना बैंक स्थापना गरी कार्यान्वयन गर्न थालिएको अध्यक्ष नरेन्द्र थापाले बताए । योजना बैंकमा ३ सय ४० योजना रहेकोमा १ सय २९ योजनाको काम भएको उनले जनाए । अध्यक्ष थापाले २०८०/०८१ मा थप योजना योजना बैंकमा समावेश गरी कार्यान्वयन कार्यान्वयन गरिने जानकारी दिए ।

Advertisement

पोखरा २६ मा गत वर्ष १८ करोड ६५ लाख रुपैयाँ विनियोजन भएको थियो । वैशाख मसान्तसम्म विनियोजित रकमबाट ६० प्रतिशत र जेठको दोस्रो हप्तासम्म थप २० प्रतिशत योजनामा प्रगति भएको उनले उल्लेख गरे ।

असार मसान्तसम्म लक्षित बजेटबाट पूरै काम हुने अध्यक्ष थापाको दाबी छ ।

Advertisement

उनले वडामा सडक कालोपत्र, ढल र नाला निर्माणका कामले तीव्रता पाएको उल्लेख गरे । वडा, महानगर र प्रदेश सरकारको समेत बजेटबाट विभिन्न क्षेत्रमा गरी १ सय २९ योजना वडा सम्पन्न भएको जनाए । वडा कार्यालय भवन मर्मत गरी एकद्वार प्रणालीबाट जनताको सिफारिस र सेवा प्रवाह गरिएको उनले सुनाए ।

आगामी आर्थिक वर्षका लागि ३६ योजना उनले प्रस्तुत गरेका थिए । उनले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण, अतिक्रमित सडकको मापदण्ड लागु गरी अवैध संरचना हटाउने, वडा कार्यालयको प्रशासनिक भवनका लागि जग्गा प्राप्ति र भवन निर्माण, कृषि उत्पादनको पकेट क्षेत्र तोक्ने, पहाडी भागलाई सहरी केन्द्रसँग जोड्ने गरी सडक निर्माण लगायतका योजनालाई प्राथमिकता दिईने जनाए ।

कार्यक्रममा कांग्रेस नेता यज्ञबहादुर थापाले आफू मन्त्री हुँदा वडा विकासमा गर्न नसकेको स्मरण गरे । उनले अहिले दीर्घकालीन र रणनीतिक हिसाबले सडक पूर्वाधार प्रस्ताव उल्लेख गरिएको जनाउँदै योजना कार्यान्वयनका लागि संघीय र प्रदेश सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

साबिक लेखनाथ नगरपालिकाका पूर्व प्रमुख शालिग्राम पौडेलले युवाले नेतृत्व गरेको वडामा रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताए । उनले भौतिक पूर्वाधार विकाससँगै मानवीय संशाधन विकासमा समेत जोड दिन आग्रह गरे ।

नेकपा माओवादी केन्द्रका नेता झलकपाणि तिवारीले २०६२/०६३ को परिवर्तनपछि जनताको अधिकारको अभ्यास वडा स्तरसम्म भएको जनाए । पूर्व न्यायाधीश वासुदेव न्यौपानेले विकासको बजेटमा रेखदेख र खबरदारी जरुरी हुने भनाइ राखे ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव जानुका अधिकारी, नेपाली काग्रेस वडा इकाइ सभापति शिवबहादुर रानाभाट, नेकपा एमाले २६ नम्बर वडाका सचिव सूर्यप्रकाश ढुंगाना, वडा सदस्य तीर्थबहादुर राजभाट, वडा सचिव मीना भट्टराई भण्डारी, कर्मचारी लीलामणि भण्डारी र नवराज सापकोटाले बोलेका थिए ।

तपाईको प्रतिक्रिया