रुखमा बसेर फेद नकाटौं

समाधान संवाददाता २०८० जेठ २३ गते ११:५३

सानाठूला कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ । हरेक वर्ष जुन ५ मा यो दिवस मनाइन्छ, विश्वभरी वातावरणको अवस्था र संरक्षणका नीतिबारे बिमर्श गरिन्छ । दिवस सकिएपछि यो बहस सामसुम हुन्छ, वातावरण विनाश भने जारी रहन्छ ।

मानव सभ्यताको अस्तित्व र विकास यस पृथ्वीको हावापानीमा आधारित छ, तर पछिल्ला केही दशकको तीव्र विकासका बीचमा हामीले प्रकृतिलाई उपेक्षा गरेका छौं । २१ औं शताब्दीमा हामी विकास र समृद्धिका ठूला सपना देखिरहेका छौं । ती सम्भावना साकार बनाउने योजना र रणनीतिहरु पनि बनाउँदै छौं । पछिल्लो शताब्दीमै वातावरणमा ठूला ठूला परिवर्तन भइसकेका छन् ।

अब पनि हामीले आफ्नो ठाउँबाट नसोच्ने हो भने भविष्यका पिँढीलाई निकै अप्ठ्यारो हुने पक्का छ । जलवायु परिवर्तनका कारण इकोसिस्टम बिग्रियो भने यसले ३ अर्ब २० करोड मानिस अर्थात् विश्वको जनसंख्याको ४० प्रतिशतलाई असर गर्ने विज्ञहरु बताउँछन् । पृथ्वी हाम्रो घर हो, जहाँ बसेर वातावरण विनाश गर्नु रुखमा बसेर फेद काट्नु हो । यस गर्दा आउने परिणाम निश्चय पनि सुखद् हुँदैन ।

Advertisement


अहिले जलवायु परिवर्तन, विश्वव्यापी उष्णता, अम्लीय वर्षा, जैविक विविधतामा ह्रास, हरित गृह प्रभाव, ओजोन तहको विनाश आदिबाट अनेक असर देखिएका छन् । मौसमको स्वरूपमा परिवर्तन, अतिवृष्टि, अनावृष्टि, प्राकृतिक एवं दैविक प्रकोपजन्य भू–क्षय, बाढीपहिरो, भूकम्प, खडेरी, कृषि उत्पादनमा ह्रास, मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव, खाद्यान्न संकटजस्ता जटिलता हामीले भोग्नु परेको छ ।

नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूले कार्बनको बढ्दो उत्सर्जनलाई न्यूनीकरण गर्न योगदान पुर्‍याएवापत विकसित तथा औद्योगिक राष्ट्रहरूसँगको कार्बन व्यापारबाट लाभ लिनु जरुरी छ । तापक्रममा भएको वृद्धिले हिमालको हिउँ पग्लिने, सामुद्रिक सतहमा वृद्धि भई तटीय क्षेत्रहरू डुबानमा पर्ने, हिमाली भेगमा रहेका हिमताल फुट्ने, हिउँ पहिरो, सुक्खा पहिरोजस्ता खतरा आउन सक्छन् ।

Advertisement


विश्व वातावरण दिवस नेपालमा विशेष गरी वृक्षारोपण गरेर मनाइयो । वृक्षारोपण गर्नु आफैँमा सुखद हो । तर विरुवा रोपेरमात्र पुग्दैन । अहिले नेपालीमाझ देखाउन चलन बढेको छ । रुख रोपेर फोटो खिच्दै विरुवा बढिहाल्ने होइनन् । विरुवा रोपेपछि हुर्काउनु अर्काे चुनौती हो । अधिकतर विरुवा रोप्नेहरुले ती विरुवाको संरक्षणमा ध्यान दिएको पाइँदैन । वातावरण जोगाउन नेपाल र नेपालीले गर्नुपर्ने र गर्न सक्ने धेरै कुरा छन् । वन र खेतीयोग्य जमिन मासेर गगनचुम्बी महलहरु बन्दै छन् । युगको दायित्व वहन गर्ने कि अहिले मनोमानी काम गरी आफू पछुताउने र भावी पुस्तालाई पनि पछुताउने बनाउने ? हामीसँग यिनै विकल्प बाँकी छन् ।

तपाईको प्रतिक्रिया