वातावरण दिवस

बोतलमा अक्सिजन बेच्ने दिन

गोकर्ण देवकोटा २०८० जेठ २४ गते १६:२३

कलंकी चोकबाट गाडी छुट्ने स्थान नजिक केही मानिसहरु यात्रुलाई यात्राका लागि पानी, खाजा बेचिरहेका हुन्छन् । चर्को स्वरले कराउँदै २० रुपैयाँमा शुद्ध पानी–पानी भन्दै पानीको विज्ञापन हाम्रो लागि नौलो विषय होइन ।


काठमाडौंका रैथाने अग्रजहरुले हिँडडुल गर्दा उपत्यका भित्र नै यसरी पानीको बोतल बोक्नुपर्छ भन्ने सपनामा पनि सोचेका थिएनन् होला । प्रत्येक केही सय मिटर दुरीका ढुंगेधारामा नै जिवन चलाउन जानेका यहाँका हाम्रा अग्रजहरुलाई नियमित पानी एउटा सपना बनेको छ । विकासको नाममा फैलँदो अव्यवस्थित सहरीकरणले ढुंगेधाराको ढुंगा बाहेक धारो गायब भए पश्चात र मेलम्चीको कथाले लय नसमाते पश्चात अब बोतलको विकासे पानी निर्विकल्प बनेको छ ।


मिथ नै सही, उपत्यका वरपरका डाँडाहरुमा रैथाने पूर्वजहरुले लगाएका जंगल जोगाउन राजा सुरेन्द्रले पात पतिंगरदेखि जनावर छुन नपाइने अति महँगो जरिवाना लगाए । आज काठमाडांैका करिब ५० लाख जनसंख्याले त्यही उर्दी र जरिवानाबाट संचित उपत्यकाका वरिपरि जंगलबाट प्राप्त अक्सिजन निःशुल्क उपभोग गरिरहेका छन् ।

Advertisement

एकदिन हाम्रो पालामा सडक–सडकमा अक्सिजनका बोतल पानीको बोत्तल जसरी उपलब्ध हुनेछ


कथित विकास र अव्यवस्थित सहरीकरणको प्रभावले तिव्र सहर पस्ने हुटहुटी दिनदिनै फष्टाएको छ । त्यसैको फलस्वरुप २ आना भन्दा कम क्षेत्रफलमा चक्का–चक्कामा जमिन काटिएको छ । प्रत्येक टुक्रामा घर बनेका छन् । खुला ठाउँ भेट्न कि मिचिएको टँुडिखेल छिर्नुपर्छ कि त थानकोट काट्नुपर्छ ।

Advertisement


हुटहुटीकै मारमा नजिकका जंगल र जंगल वरिपरिका क्षेत्र परेका छन् । डोजरले क्षत–विक्षत बनेका उपत्यकाका काठहरुको कथा वियोगान्तक छन । विस्तारै उपत्यकाका डाँडाहरुमा हाम्रो विकासे भ्रमले आँखा गाडिरहेको छ ।

पल्लो गाउँ जान त्यही जंगल बिचकै सडक चाहिएको छ, सिमेन्टको पार्कको लागि त्यही जंगलको जमिन उपयुक्त लाग्न थालेको छ ।


हाम्रो पालामा हामीले उपत्यकाको वरिपरिको जंगल मास्न सुरु ग¥यौं । हाम्रो अन्तरनिहित संकल्प छ ‘हाम्रो पालामा मासी सक्छौं । उपत्यका धुवाँ–धुलोले बसिनसक्नु छ । यसलाई दैनिकी रुपमा हामीले स्वीकार गरिसकेका छौं । नाकले गन्ध थाहा नपाउने रोग हामीलाई सामान्य लागिसकेको छ । घाँटी खसखसाउने, आँखा पोल्ने जस्ता वायु प्रदूषणको विकल्प एलोपेथिक औषधीको व्यापार राम्रो फष्टाएको छ ।पैसा तिर्ने वितिकै स्वच्छ हावा होईन औषधी पाएका छौं ।


शहर कंक्रिट र प्लास्टिकले भरिएको छ । हाम्रो भान्छा, सुत्ने कोठा, शौचालय प्लास्टिकमय छ । फूल प्लास्टिकको, बिरुवा प्लास्टिकको, गमला प्लास्टिकको, बोतल प्लास्टिकको, खाने थाल, पस्कने पन्यू, राख्ने भाँडो प्लास्टिकको । प्रकृति संरक्षण सम्बन्धी हुने छलफलमा हामी निर्धक्क प्लाष्टिकको कुर्सीमा बसी प्लास्टिकको बोत्तल अगाडि राखी वातावरण संरक्षणको गफ चुटिरहेका छौं ।


बाटोको लम्बाइभन्दा सवारी साधनको संख्याको लम्बाइ लामो छ । सडकमा गुड्ने सार्वजनिक सवारीको कैयौं गुणा निजी सवारीले ढाकेको छ । एउटा सरकारी गैरसरकारी बैठकमा सहभागी हुने एकै कार्यालयका ४ जना पदाधिकारीहरु ४ वटै सवारी साधन लिएर जान्छौं । सडकमा निस्किएका ९५ प्रतिशत सवारी साधनले सिट क्षमता अनुसार भरिएर हिँडेका छैनन् तर वातावरण प्रदूषण भने बराबर नै छ । ति सवारी साधन भित्रँदा वा प्रयोग गरे बापत लिइने करको १ प्रतिशत पनि वातावरण सुरक्षालाई प्रयोग गरी रहेका छैनौ र गरेको पनि देखिँदैन । यस्तो मनोवृत्ति र संस्कार बढेको छ कि सवारी साधन आवश्यकता नभई विलासिता एवं सोख देखाउने प्रवृत्ति बनेको छ ।


यस्तो अवस्थामा हामी संसारकै दुर्गन्धित सहरको सुखी बासिन्दा बनिरहेका छौं । यो वास्तविकता बीच सफा हावा वा पर्याप्त अक्सिजन हाम्रो आवश्यकता भएता पनि विस्तारै न्यून हुँदैछ । एकदिन हाम्रो पालामा सडक–सडकमा अक्सिजनका बोतल पानीको बोत्तल जसरी उपलब्ध हुनेछ । अक्सिजन क्याफेको व्यापार चल्ने छ ।

विद्यालय तथा कलेजहरुले आफ्नो होर्डिङ बोर्डमा ठूलाठूला अक्षरले ८० प्रतिशत अक्सिजन सहित भनेर विज्ञापन गर्नेछन् । हाम्रो सार्वजनिक सवारी साधनहरुमा अक्सिजन फ्रि को बोर्ड हुनेछ, हाम्रा नजिकका कंक्रिट पार्कमा अक्सिजनको मात्रा अक्सिजन सिलिन्डरले पुरा गरेको हुनेछ ।


हामी आफ्नै पालामा यति विकास गर्न तत्पर, प्रयत्नशील छौं । हामी नेपाली हौं, लक्ष्य प्राप्त गर्नु हाम्रो ध्यान हो । हामीलाई विकासको बाटो अवरुद्ध पार्नु छैन, त्यसैले अक्सिजन उत्पादन गर्ने प्लान्ट अहिले आयात गरी व्यवसाय सुरु गरौं । राज्यलाई व्यापारमा प्रोत्साहन गरौ । अक्सिजन आयात गर्ने कानुन अहिले नै बनाऔ । जे होस विकास त चाहिएको छ ।


अक्सिजन व्यापारले हाम्रो आन्तरिक अर्थतन्त्र बलियो हुनेछ । अन्तर्राष्ट्रिय समुदायलाई हामी गर्वको साथ भन्ने छौं—‘हाम्रो चोक–चोकमा, प्रत्येक होटलमा, प्रत्येक विद्यालयमा, प्रत्येक सरकारी कार्यालयमा विभिन्न क्षमता अनुसारको अक्सिजन बोतल पाइन्छ ।’ हामी यही वर्षको बजेटमा अक्सिजन उत्पादन गर्ने सरकारको प्राथमिकता समेटौ र प्रत्येक वर्षको उपलब्धिमा अक्सिजन उत्पादनको प्रतिशत राखाैं ।


काठमाडाैं वरिपरिका जंगलले हामीलाई घाम छिर्न दिएनन् । यिनलाई यसपालिनै विकासले समेटौं । अबको केही वर्षमा चर्को स्वरले अक्सिजन क्याफेमा बसेर प्लास्टिकको अक्सिजन बोतल समात्दै उद्घोष गरौं—‘हामी अक्सिजन व्यापारमा आत्मनिर्भर छौं ।’ विश्व वातावरण दिवसको शुभकामना !

तपाईको प्रतिक्रिया