कान छामौं, कागको पछि नदौडौं

प्रतिमान पौडेल २०८० जेठ २४ गते १६:३१

केही ऐन विपरीत चलेका सहकारीका कारण सबै सहकारी एउटै हुन् भन्ने भाष्य निर्माण गरिँदै छ
वित्तीय क्षेत्र यति बेला संकटमा छ । हाम्रो देश नेपालमात्रै होइन, अन्य आर्थिक रुपमा सम्पन्न मुलुक पनि वित्तीय समस्यासँग जुधिरहेका छन् । वित्तीय क्षेत्रमा देखिएको संकटका बाछिटाले नेपालमा सबैभन्दा बढी सहकारी क्षेत्रलाई प्रभावित बनाएको छ ।


वित्तीय संकटले सबै क्षेत्रलाई छोएको छ तर बजारमा चर्चा धेरै सहकारीको छ । केही ऐन विपरीत चलेका सहकारीका कारण सबै सहकारी एउटै हुन् भन्ने भाष्य निर्माण गरिँदै छ । सहकारीहरु यसको मर्म अनुसार चल्ने हो भने संसारमा जुनसुकै समस्या आउदा पनि यी जोगिनुपर्ने हो । सहकारीलाई सदस्यहरुले बचाउनुपर्ने हो । तर हाम्रोमा विशेष गरी बजार क्षेत्रमा सञ्चालित कतिपय सहकारीले सहकारी मर्म र भावना अनुसार नचलेका कारण सहकारी क्षेत्र पनि समस्यामा देखिएको छ ।


सदस्य केन्द्रीत व्यवसायका रुपमा रहेका सहकारीलाई ग्राहक केन्द्रीत बनाएका कारण, सहकारीलाई उपयोग गरेर निजी सम्पत्ति जोड्नतर्फ कतिपय सहकारी लागेका कारण आजसमस्या देखिएको हो । सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा सहकारीको नियमनकारी निकाय सहकारी विभागले तीन निष्कर्ष निकालेको छ । विभागले जेठ १२ गते प्रकाशित गरेको विज्ञप्तिका अनुसार अहिले नेपालमा समस्या देखिएका सहकारीमा तीन प्रकारका समस्या छन् । सहकारी विभागको निष्कर्षमा सहकारीमा देखिएका ३ प्रकारका समस्या र समाधानका ३ उपाय निम्नानुसार रहेका छन् ।

Advertisement

१. कोभिडपछि विश्वको अर्थतन्त्रमा समस्या देखिँदै गयो । रुस र युक्रेन युद्धले पनि वित्तीय क्षेत्रमा असर पुर्‍यायो । विश्वकै समस्याको असर नेपालमा पनि परेको छ र त्यसले सहकारी क्षेत्रलाई प्रभावित बनाएको छ ।

नेपालमा रहेका करिब ३० हजार सहकारीमध्ये १५ हजारभन्दा बढीले वित्तीय कारोबार गर्छन् । बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा यति बेला तरलताको समस्या देखिएको छ । सुुरुमा एक दुई वटा सहकारीले बचत फिर्ता गर्न नसकेको विषय बढ्दै गएका कारण राम्रै तरलता भएका सहकारीमा पनि विस्तारै समस्या देखिन थाल्यो ।

Advertisement


संस्था विधिसम्मत चलाएका तर पछिल्लो वित्तीय संकटका कारण तरलताको प्रेसरमा परेका सहकारीहरु पहिलो प्रकारले समस्यामा परेका हुन् । उनीहरुको वित्तीय अवस्था, सम्पत्ति र दायित्व खराब छैन, स्वस्थ छ, यिनी समस्याग्रस्त भएका होइनन्, यिनलाई वित्तीय संकटसंगै खराब सहकारीको हल्लाको असर परेको हो ।

२. दोस्रो तरिकाका सहकारीमा जम्मा भएको बचत रकम सदस्यलाई लगानी गरिएको छ तर थोरै व्यक्तिलाई धेरै लगानी तथा घरजग्गा, सेयर, सुपरमार्केट लगायतका क्षेत्रमा लगानी गरेका कारण त्यहाँ समस्या देखिएको छ ।
३. तेस्रो तरिकाका सहकारीमा सञ्चालकहरुको बदनियत देखिएको छ । विभिन्न खालका प्रलोभन देखाएर ठूलो मात्रामा बचत संकलन गर्ने र त्यो रकम यिनले आफ्नो नाममा, आफन्तहरुका नाममा घरजग्गा खरिद गर्ने, कम्पनी खडा गरेर त्यसमा लगानी गर्ने गरेका छन् ।
यी ३ प्रकारका समस्याको पहिचानपछि ती समस्याको समाधान पनि ३ प्रकारले नै गर्र्नुपर्छ भन्ने विभागको निष्कर्ष छ ।


१. आर्थिक क्षेत्रमा आएको समस्याका कारण संकट देखिएका सहकारीको दायित्व र सम्पत्तिको अवस्था पहिचान गर्ने, आर्थिक अवस्था स्वस्थ छ तर तरलताको प्रेसरमा छन् भने त्यस्ता सहकारीलाई सहजता प्रदान गर्नका लागि विभागले सेयर सदस्यहरुलाई अनुरोध गर्न सक्छ । त्यसका लागि सञ्चालकहरुले सदस्यसँग अन्तरक्रिया गरी समस्याको समाधान निकाल्नु पर्छ ।


संस्थाका सञ्चालकहरुले संस्थाको सम्पूर्ण अवस्था प्रष्ट हुने र त्यसको जिम्मेवारी पूर्ण रुपमा आफूहरुले लिने गरी श्वेतपत्र जारी गरेपछि वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानसँगै सहज रुपमा संस्था सञ्चालन हुन्छ भन्ने प्रतिवद्धता गरेपछि बचत फिर्ताका लागि समय सिमा तोक्न सक्ने छन् ।


२. दोस्रो तरिकाले समस्यामा परेका सहकारीको हकमा ती सहकारीका सञ्चालकहरुले पनि आफ्नो सम्पूर्ण अवस्था प्रष्ट हुने गरी श्वेतपत्र जारी गर्नुपर्ने छ । संस्थाको दायित्व भुक्तानीका लागि सञ्चालकहरुले व्यक्तिगत तथा सामूहिक तरिकाले कानुनी रुपमा दायित्व ग्रहण गर्ने ग्यारेन्टी गर्नु पर्‍यो, त्यसो गर्दा पनि संस्थाले बचतकर्ताहरुलाई समय सिमा तोक्न सक्नेछन्, त्यसका लागि सहकारी विभाग समन्वय गर्न तयार छ ।


३. तेस्रो प्रकारले समस्यामा परेका सहकारीमा सञ्चालकहरुले गलत तरिकाले लगानी गरेका हुन् । यी सहकारीमा सञ्चालकहरुले आफ्नो निजी व्यवसाय, घर, जग्गा जोड्नका लागि लगानी गरेका छन् । यस्ता सहकारीका सञ्चालकलाई कानुनी दायरामा ल्याउने र कारवाही गर्ने हो । उनीहरुबाट बचतकर्ताको रकम असुली गराउने हो । सम्पूर्ण दायित्व उनीहरुलाई नै लिन लगाउने हो ।


यी ३ प्रकारका समस्या र समाधानका ३ उपायले सदस्यसँग कारोबार गरेका, सदस्यलाई ऋण लगानी गरेका सहकारीलाई सहजता प्रदान गर्न सक्ने देखिएको छ । संस्थाको सबै अवस्था ठीक छ तर संस्थाले नियमित तरलता व्यवस्थापन गर्न सकेन भने उसले आफ्नो अवस्थाका बारेमा सदस्यलाई जानकारी गराएर केही समय माग्ने र ऋण उठाएर बचत फिर्ता गर्न सक्ने गरी विभागले सुझाव दिएको छ । गलत गरेकालाई त उनीहरुको कसुरका आधारमा कावारही गर्न विभागको निर्देशन छ ।


यो निर्देशनले सदस्यसँग मात्रै कारोबार गर्दै आएका सहकारीहरुलाई राहत प्रदान गरेको छ । सदस्यसँग लगानी गरेका सहकारीलाई तरलताको समस्या हुँदा उनीहरुले आफ्ना सदस्यलाई संस्थाको अवस्थाबारे जानकारी गराएर समय सिमा तोकी ऋण उठाउने र बचतकर्ताको रकम फिर्ता गर्न सक्ने गरी विभागको निर्देशन आएको छ ।


सहकारी विभागले सहकारीबाट लिएको ऋण तिर्न पर्दैन भन्नेहरुलाई सरकारले कठोर कानुनी कारवाही गर्ने जनाएको छ । विभागले ऋण तिर्न पर्दैन र नतिर्ने भन्ने जस्ता वित्तीय अराजकतालाई नजिकबाट नियालेको भन्दै यस्तो अराजकता नियन्त्रण गर्न जस्तोसुकै कठोर कानुनी कारवाही गर्ने उल्लेख गरेको छ । ऋण लिएर तिर्न नपर्ने कल्पना गरेको भए त्यो आफैंका लागि प्रत्युत्पादक हुने विभागले स्पष्ट पारेको छ ।


सहकारी विभागले ऋण तिर्दिनँ भन्नेहरुलाई कठोर कानुनी कारवाही हुने उल्लेख गरेसँगै सहकारीबाट ऋण लगेर नतिर्नेहरु सतर्क भएका छन् । सहकारीबाट ऋण लगेर नतिर्नु भनेको सदस्यहरुले बचत गरेको रकम फिर्ता नहुनु हो । सदस्यहरुले दुःख गरेर जग्मा गरेको रकम सहकारीले सदस्यहरुलाई ऋणका रुपमा लगानी गरेका हुन्छन् ।


सदस्यहरुले जम्मा गरेको रकम सदस्यलाई नै लगानी गरेका संस्थाहरुले बचतको चाप बढ्दै गएपछि ऋणी सदस्यहरुलाई नै गुहार्ने हो । ऋणी सदस्यलाई सहकारीले ऋण भुक्तानका लागि दबाब बढाउँदै लैजादा बचतकर्ताले पनि साथ दिने अवस्था आउँछ ।


सहकारीले बचत फिर्ता गर्न नसक्नुको कारण ऋण नउठ्नु हो भन्ने जानकारी पाएपछि बचतकर्ताहरु र सहकारीका सञ्चालकहरु जुटेर ऋण उठाउने योजना बनाउन सक्छन् । त्यसका लागि उनीहरुले आवश्यक कानुनी प्रक्रिया त अगाडि बढाउने छन् नै, त्यो भन्दा पनि बढी सामाजिक पहिचानको समस्या अगाडि आउन सक्ने देखिन्छ ।


सहकारीका सदस्यहरुले ऋण नतिरेको कुरा अर्थात् ऋणी सदस्यले सावा, ब्याज भुक्तान नगरेको कुरा नियमनकारी निकायमा पठाउने कामको सुुरुवात हुन थालेको छ । नियमनकारी निकाय, आम सञ्चारका माध्यम लगायत सहकारीका सबै सदस्यलाई ऋण लगेर नतिर्ने सदस्यको पहिचान गराउने कार्यले ऋणी सदस्यहरुलाई प्रेसर पर्ने अवस्था विस्तारै बढ्दै गएको छ ।


अहिलेको समय भाइरल हुने समय हो । सहकारीहरुले ऋण नतिर्ने ऋणीहरुको नाम नियमनकारी निकायमा पठाएको वा सार्वजनिक सञ्चार माध्यममा सूचना प्रकाशित गर्दा साथ समाजमा राम्रो पहिचान बनाएका तर सहकारीको ऋण नतिरेका सदस्यहरु खराब ऋणीका रुपमा सामाजिक सञ्जालमा भाइरल हुने अवस्था सिर्जना हुँदै छ, यसले उनीहरु दबाबमा पर्ने अवस्था सिर्जना हुन थालेको छ । कतिपय जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, ठूला व्यवसायी, कतिपय त एउटा सहकारीको पदाधिकारी छ, अर्को सहकारीको ऋण नतिरेका कुरासमेत बाहिर आउन थालेका छन् । सामाजिक पहिचान बनाएका, शानको जिन्दगी बिताएकाहरुले ऋण नतिरेका कुराहरु पनि बाहिर आउन थालेका छन् ।


सहकारीको रकम एउटै व्यक्ति, निजी कम्पनी वा फार्मलाई लगानी गरेकाबाहेक आफ्ना सदस्यमा लगानी गरेका संस्थाहरुले एउटा अभ्यास सुरु गरिसकेका छन्, यो अभ्यासले ऋणी सदस्यहरुलाई दबाब पर्न थालेको छ ।


ऋणी सदस्यहरुले आफूले लगेको ऋणको केही प्रतिशत सावा र ब्याज बुझाइदिँदा पनि संस्थालाई तरलता व्यवस्थापनमा सहजता भएका समाचार पनि आइरहेका छन् । ऋणीहरुले आफ्नो पहिचान खराब ऋणीका रुपमा नदेखाउनका लागि संस्थामा जाने, केही रकम भुक्तान गर्ने र ऋण नवीकरण गर्ने काम बढ्दै गएको छ ।


सदस्य केन्द्रीत भएर कारोबार गरेका सहकारीलाई ती ऋणी सदस्यले त सहयोग गर्ने नै भए, ऋण नभएका सदस्यले पनि सानो सानो बचत गरिदिएर संस्था जोगाउने अवस्था सिर्जना भएको छ । यो बेला जोगिने हो, आफू पनि जोगिने र संस्था पनि जोगाउनका लागि सदस्य सचेत बन्नैपर्ने अहिलेको आवश्यकता हो ।


सहकारी सदस्यहरुको हो, सेयर सदस्यहरुले आफ्नो संस्थामा आउन सक्ने समस्यालाई सहज बनाउनका लागि सानो सानो रकम थप गर्ने, ऋणी सदस्यहरुले ब्याज र किस्ता रकममात्रै सही समयमा बुझाइदिँदा संस्थाले तरतला व्यवस्थापन गर्न सक्ने अवस्था रहन्छ ।


कतिपय ऋणी सदस्यहरु सहकारी बन्द भए ऋण तिर्न पर्ने थिएन भन्ने सोचेर सहकारीको बद्नाम गराउदै हिडेको पनि पाइन्छ । तिनलाई भोलि सहकारी बन्द हुँदा नियमनकारी निकायले ऋणीको घरजग्गा, बैक तथा सहकारीको खाता रोक्नुका साथै सामाजिक रुपमा समेत बदनाम गराइदिन्छ भन्ने चेत नभएर हो वा भएर पनि कसले के गर्छ र भन्ने सोचेका हुन भन्न सकिन्न ।


सहकारीबाट ऋण लगेर नतिरेकाहकरुको समूह बनाउने अनि चोक चोकमा मान्छे जम्मा भएको ठाउँमा गएर फलानो सहकारी डुब्दै छ, ढिस्कानो सहकारी डुब्दै छ भनेर प्रचार गर्नेहरुको संख्या बढ्दो छ । सामान्य मान्छेहरुले तिनका कुरा पत्याएर सबै सहकारी खराब हुन भन्न पर्ने अवस्था आउँदै छ । सहकारीका सदस्यहरुले चोक चोकमा हुने कुरालाई विश्वास गरेर होइन, आफू सदस्य भएको संस्थामा गएर यथार्थ बुझ्न आवश्यक छ । अन्यथा यस्तै खराब प्रवृतिका मानिसका कारण सबै सहकारीमा समस्या आउन सक्छ ।

तपाईको प्रतिक्रिया