गण्डकीको नीति तथा कार्यक्रममा छलफल: महत्वकांक्षी कि यथार्थपरक ?

राष्ट्रिय समाचार समिति (रासस) २०८० जेठ २५ गते १०:४०
गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी प्रदेशसभा सदस्यहरु । तस्बिर : रामबहादुर थापा / रासस

पोखरा ।
गण्डकीमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । मंगलबारदेखि सुरु भएको छलफलमा बुधबार पनि प्रदेशसभा सदस्यले आफ्ना धारणा राखे ।


बैठकमा बोल्ने सत्ता पक्षका सदस्यले नीति तथा कार्यक्रम उत्कृष्ट रहेको दाबी गरे भने विपक्षी दलका सदस्यले नीति तथा कार्यक्रम महत्वकांक्षी रहेको भन्दै कार्यान्वयन हुनेमा शंका जनाए । नेपाली कांग्रेसकी चम्पादेवी खड्काले नीति तथा कार्यक्रमले गण्डकी प्रदेशको विकास, समृद्धि र सुशासनको खाका तयार गरेको टिप्पणी गरिन् । उनले प्रदेशप्रतिको जिम्मेवारी र दायित्वबोध गर्दै सरकारले नागरिकमैत्री कार्यक्रम ल्याइएको उल्लेख गरिन् ।


एमालेका भीमबहादुर कार्कीले तथ्यांकमा आधारित वस्तुनिष्ठ कार्यक्रम आउन नसकेको जिकिर गरे । उनले छरिएर आएको नीति तथा कार्यक्रमले गन्तव्य पहिल्याउन नसकेको सुनाए । नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारीले प्रदेशका सबै खाले आवश्यकतालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम आएको तर्क गरे । उनले प्रेदश सरकारको औचित्यमाथि प्रश्न उठिरहेका बेला जनआकांक्षा पूरा गर्ने खालको बजेट र कार्यक्रम ल्याउनुपर्ने जनाए ।

Advertisement

सत्ता पक्षाका सांसदहरुले नीति तथा कार्यक्रमले गन्तव्य पहिल्याउने दाबी गर्दा विपक्षी सांसदले भने कार्यान्वयन हुनेमा शंका जनाएका छन्


प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले नागरिकले महसुस गर्नेगरी सरकारले नीति तथा कार्यक्रम ल्याएको धारणा राखे ।

Advertisement

नागरिकलाई दुःखसुखको साथी प्रदेश सरकार हो भन्ने अनुभूति दिलाउनुपर्नेमा उनको जोड छ ।


प्रदेशसभा सदस्य विकल शेरचनले सरकारले लोक कल्याणकारी कार्यक्रम घोषणा गरेको बताए । उनले नीति तथा कार्यक्रमले समृद्ध प्रदेशको दिशाबोध गरेको जनाए । एमालेका रोशनबहादुर गाहा थापाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत र विधि स्पष्ट नभएको धारणा गरे ।


प्रदेशसभा सदस्य पद्ममा जिसी श्रेष्ठले सरकारले ठोस, मूर्त र जनमुखी कार्यक्रम ल्याउन नसकेको दाबी गरिन् । कतिपय आवधिक योजनाका कार्यक्रमलाई निरन्तरता दिन नसकेको उनको गुनासो छ । प्रदेश सरकारको नीति तथा कार्यक्रमले विद्यमान समस्याको समाधान दिन नसक्ने प्रदेशसभा सदस्य श्रेष्ठले जिकिर गरिन् ।


अर्का प्रदेशसभा सदस्य भक्तबहादुर कुँवरले नीति तथा कार्यक्रम राम्रो आए पनि बजेटले कसरी समेट्छ भन्ने विषय महत्वपूर्ण हुने औंल्याए । उनले स्रोत पहिचान नगरी अमूर्त ढंगले नीति तथा कार्यक्रम तुर्जमा गरिएको धारणा राखे । राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङले नीति तथा कार्यक्रमको व्यावहारिक कार्यान्वयन चुनौतीपूर्ण रहेको विचार राखे । उनले स्रोतमा आधारित रहेर यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिए ।


बैठकमा प्रदेशसभा सदस्य प्रकाश बराल, डिल्लीराम सुवेदी लगायत २० जना सदस्यले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका छन् । बिहीबारको बैठकमा थप छलफलपछि पारितका लागि नीति तथा कार्यक्रम प्रदेशसभामा पेस हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही जेठ २१ गतेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया