‘विद्यालयमा लेखापाल र सहयोगी चाहिँदैन भने विदा देऊ, चाहिए दरबन्दी देऊ’

जिल्ला केन्द्रित आन्दोलनको सुनुवाइ नभएपछि ३५ हजारजना काठमाडौंमा भेला हुँदै

समाधान संवाददाता २०८० जेठ २६ गते १४:०१

पोखरा ।
विद्यालयमा शिक्षकभन्दा पहिल्यै पुग्ने कोही हुन्छ भने त्यो सहयोगी वा लेखापाल हुन्छ । शिक्षकलाई शिक्षणका लागि बन्दोबस्तीका लागि पनि उनीहरुले सहजीकरण गर्छन् । तर दुर्भाग्य के भने विद्यालयहरुमा शिक्षकहरुको दरबन्दी हुन्छ, विद्यालय सहयोगी र लेखापालको दरबन्दी हुँदैन ।


दरबन्दीअनुसार सरकार शिक्षकहरुलाई तलब पठाउँछ । तर दरबन्दी नै नभएको विद्यालय सहयोगीका लागि भनेर मासिक ८ हजार अनि लेखापालका लागि १३ हजार ५ सय रुपैयाँमात्रै पठाउँछ । सिंगो विद्यालयको काममा खटिने सहयोगीका लागि मासिक ८ हजार वा लेखापालका १३ हजार ५ सय भनेको सरकारले तोकेको मजदुरहरुको न्यूनतम पारिश्रमिकभन्दा पनि कम हो ।


नेपाल विद्यालय कर्मचारी परिषद कास्कीका अध्यक्ष हरिश्चन्द्र बास्तोला भन्छन्, ‘नेपाल सरकारका निजामती कर्मचारीमा कार्यालय सहयोगीको तलब ३५ हजार पुगेको छ ।’

Advertisement


देशभरका ३२ हजारभन्दा बढी विद्यालयमध्ये सबैमा लेखापाल र सहयोगी चाहिन्छ तर दरबन्दी सरकारले दिँदैन । यो अवस्था अहिलेको होइन, नेपालमा जहिलेदेखि विद्यालयहरु खुले त्यहिलेदेखिकै हो भन्छन् शिवशक्ति मावि फूलबारी पोखरामा लेखापालसमेत रहेका बास्तोला । ‘नेपाल सरकारलाई विद्यालयमा लेखापाल र विद्यालय सहयोगी चाहिँदैन भने विदा देओस, चाहिन्छ भने दरबन्दी देओस्,’ बास्तोलाले भने, ‘मान्छेलाई यसरी पेन्डुलम बनाउन पाइँदैन, ५८ वर्षसम्म काम गरेर खाली हात पठाउन पाइन्न ।’


परिषदले विद्यालयमा लेखापाल र विद्यालय सहयोगीको दरबन्दी स्थापनाको माग गर्दै देशभर आन्दोलन गरिरहेको छ । त्यसै सन्दर्भमा शिक्षा विकास तथा समन्वय इकाइ कास्की कार्यालयमा पनि साता दिनदेखि धर्ना चलिरहेको छ ।

Advertisement


‘राष्ट्रपतिलाई पनि भन्यौं, प्रतिनिधि सभामा सांसदज्यूहरुले पनि भनिरहनुभएको छ, सरकारले नीति तथा कार्यक्रममा पनि राख्यो,’ बास्तोलाले भने, ‘तर बजेटमा चाहिँ आएन ।’


बास्तोलाकै भनाइमा पोखरा महानगरपालिकालेले विद्यालयका कार्यालय सहयोगीहरुलाई मासिक ७ हजार थप गरिदिने गरेको छ । लेखापाललाई ७ हजार रुपैयाँ पनि थप्ने गरेको छ । कतिपय विद्यालयले स्रोत अनुसार पनि थपिदिन्छन् । बास्तोला भन्छन्, ‘सक्ने विद्यालयले पनि थप्छन्, नसक्नेले थपेका छैनन् । उही काम गर्नेलाई कतै धेरै कतै थोरै दिन भएन भन्ने हाम्रो माग हो ।’ बास्तोलाका अनुसार कास्कीका सामुदायिक विद्यालयहरुमा १२७ जना लेखापाल र बाँकी सहयोगी गरी ५०६ जना गैरशिक्षक कर्मचारी छन् । देशभर ३५ हजार ६८ जना छन् ।


संघीय सरकारको नीति तथा कार्यक्रमको बुँदा १२७ मा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवासुविधा लगायत विषयलाई सम्बोधन गरिने भनिएको छ । जिल्ला केन्द्रित आन्दोलनको सुनुवाइ नभएको हुँदा काठमाडौं केन्द्रित आन्दोलन गरिने बास्तोलाले बताए । ‘अब आइतबारबाट काठमाडौंमा ३५ हजार ६८ जनै जम्मा भएर आन्दोलन गर्दछौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया