गण्डकी बोर्डिङ स्कुलको ५८ औं स्थापना दिवस

समाधान संवाददाता २०८० जेठ २९ गते १९:३४

पोखरा ।
गण्डकी बोर्डिङ स्कुल लामाचौर पोखराले ५८ औं स्थापना दिवस सोमबार मनाएको छ । युनाइटेड मिसन टु नेपाल र नेपाल सरकारको संयुक्त प्रयासमा नेपाली आदर्श विद्यालयका नामबाट यो विद्यालय ५८ वर्षअघि सुरु भएको थियो ।


स्थापना दिवसका अवसरमा विद्यालयको विभिन्न कक्षाका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्‍यो । कक्षाका उत्कृष्टहरुलाई विद्यालयले र कक्षाका उत्कृष्टहरुलाई शिक्षक अभिभावक संघका तर्फबाट पुरस्कृत गरिएको थियो । कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीले नेपाली सांस्कृतिक नाचगान प्रस्तुत गरेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विद्यार्थीको मनोविज्ञान बुझेर शिक्षण गर्नुपर्ने खाँचो औंल्याए । उनले पाठमात्रै घोकाउने वा पढाउने भन्दा पनि त्यसलाई प्रत्यक्ष अभ्यास र व्यवहारमा देखाएर पढाउँदा प्रभावकारी हुने अनुभव सुनाए ।

Advertisement


विद्यालयका प्राचार्य वीरेन्द्र खड्काले विद्यालय स्थापनाका लागि जग्गादान गर्ने, पहलकर्ता लगायतलाई धन्यवादसहित स्मरण गरे । उनले विद्यार्थी, शिक्षक र अभिभावक सबै मिलेर विद्यालयको स्तर अझै वृद्धि गर्दै लैजाने पनि बताए ।


एनएमबी बैंकका डेपुटी सिइओ सुदेश उपाध्यायले विद्यालयको कम्प्युटर ल्याब व्यवस्थापनको जिम्मेवारी बैंकले गर्ने प्रतिबद्धतासहित समझदारीपत्रमा हस्ताक्षर गरे । शिक्षक अभिभावक संघका अध्यक्ष जयमोहन भट्टराईसहितका अतिथिहरुले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै अभिभावकहरुका तर्फबाट विद्यालयलाई निरन्तर सहयोगको विश्वास दिलाए ।

Advertisement


विद्यालयमा २० वर्षभन्दा बढी सेवा गरेका २ शिक्षक र ९ कर्मचारी गरी ११ जनालाई दीर्घसेवा पदकले सम्मानसमेत गरिएको थियो । शिक्षकद्वय मोहनप्रसाद गुरुङ, शिक्षक सूर्य गुरुङ र कर्मचारीहरू बिन्दुमाया नेपाली, हेमचन्द्र पतानी, बद्रीनाथ शर्मा, इन्दिरा श्रेष्ठ, ख्यामनारायण ढकाल, सुन्दरी राना, कर्णबहादुर खत्रीलाई दीर्घसेवा सम्मान गरिएको हो ।


जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सेकेन्डरी स्कुल सुपरभाइजर सन्तबहादुर विश्वकर्माले धन्यवाद ज्ञापन गरे ।

अतिरिक्त क्रियाकलाप प्रमुख एवं सामाजिक अध्ययन विषय शिक्षक तथा शिक्षक अभिभावक संघको सदस्य सचिव मानबहादुर थापा र विद्यार्थीहरु अतिथि अधिकारी र मनीषकुमार कुसवाहले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया