‘होटलका गाइड पर्यटकलाई झम्टन्छन्, हैरान पार्छन्’

रिखिराम जिसी २०८० जेठ ३० गते १०:३९

पोखरा ।
केही दिनअघि वडा प्रहरी कार्यालय बैदाम पोखराले पर्यटकलाई दुख दिएको भन्दै करिब १५ जनालाई नियन्त्रणमा लियो ।

पोखरा भित्रने पर्यटकलाई पछ्याउने र झोला तान्ने गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पर्यटकलाई दुख दिने गतिविधि नगर्ने सर्तमा भोलिपल्ट उनीहरुलाई रिहा भए । पक्राउ परेका ती १५ जना ‘पर्यटक गाइड’ होटल प्रतिनिधि समाजको रोहबरमा छाडिएका थिए ।


‘गाडीमा आएका पर्यटकलाई अगाडिपछाडि मोटरसाइकल नडुलाउने, उनीहरुलाई पटकपटक सोधेर दुख नदिने सहमति भएको हो,’ बैदाम प्रहरीका एक अधिकारीले भने ।

Advertisement


त्यसयता पनि निरन्तर पर्यटकका गाडीको अगाडिपछाडि मोटरसाइकल कुदाउँदै पछ्याउने तथा पर्यटकलाई अनावश्यक रुपमा दुख दिने गतिविधि भइरहेका छन् । पोखराका प्रवेशद्वार, अमरसिंह, पृथ्वीचोक, बिरौटा, छोरेपाटन, कालीमाटीमा होटलका गाइड पर्यटक कुरेर बसेका बस्छन् । उनीहरु विदेशी पर्यटकलाई आफ्ना होटलमा लैजान कसरत गर्छन् । नाकानाका पर्यटक दफनेर बस्छन् र देख्दासाथ उनीहरु पछ्याउँछन्, सके त झोलै तान्छन् र आफ्नो होटलमा जान बाध्य पार्छन् । ‘चोकचोकमा कुरेर बस्छौं, विशेष गरी विदेशी पर्यटकलाई हामीले हेर्छाैं, उनीहरुसँग कुरा गर्दै होटलसम्म पुर्‍याउँछौं,’ आइतबार बिरौटामा भेटिएका एक गाइडले भने, ‘दुख दिएका छैनौं ।’

नाकानाका पर्यटक दफनेर बस्छन् र देख्दासाथ पछ्याउँछन्, झोलै पनि तान्छन्

Advertisement


होटल देजाभुका सञ्चालक सुनील शर्मा गाइडले गरेको व्यवहारले अस्वस्थ प्रतिस्पर्धा बढाएको बताउँछन् । ‘गाइड गर्नु नराम्रो होइन, गाइडलाई हामीले गाइडेन्स गरिदिने, विदेशी पर्यटकलाई सही लोकसन दिने हो, उहाँहरुलाई दुख परेको छ भने सहयोग गर्ने, त्यो हिसाबले सबै कुरा बुझाउनेलाई गाइड भनिन्छ,’ शर्मा भन्छन्, ‘तर पोखरामा रहेका गाइडलाई गाइडै भन्न मिल्दैन, कुनै माध्यमबाट बुक गरेर आएका ग्राहकलाई मुग्लिनतिर भए तालचोकदेखि र बुटवलतिरबाट आउनेलाई पुम्दीको कालीमाटीबाट बार्गेनिङ गर्न सुरु गर्ने र दुख दिन्छन् ।’


गाइडको प्रवृत्तिले पोखराको पर्यटनलाई नै असर गरिरहेको शर्मा बताउँछन् । ‘कोरोनाको असर अहिले परेको छ, गाइडको यो प्रवृत्तिले पनि पोखराको पर्यटनमा ठूलो धक्का पुग्छ,’ उनले भने । होटल व्यवसायी विश्वदर्शन पराजुलीले गाइडले बुक गरेका ग्राहकलाई समेत भड्काउने गरेको सुनाए । ‘अनलाइन तथा विभिन्न माध्यमबाट बुक गरेका पर्यटकहरु पोखरा प्रवेश गरेसँग फोन अफ गर्छन्, अनि हराउँछन्,’ उनले भने, ‘गाइडहरु चोकचोकमा बस्छन्, पर्यटक देख्नासाथ झम्टन्छन्, हैरान पार्छन् ।’


होटल प्रतिनिधि समाज पोखरामा हाल करिब २ सय होटल आवद्ध छन् । समाजमा आवद्ध भएका होटलले मात्र गाइड राख्न पाउँछन् । गाइडको निगरानी होटल प्रतिनिधि समाजले गर्छ । होटलले गाइड राखेवापत प्रतिनिधि समाजलाई निश्चित रकम दिनुपर्छ ।


पर्यटकलाई दुख दिने गाइडलाई आन्तरिक रुपमा पनि कारबाही गर्ने गरेको होटल प्रतिनिधि समाजका अध्यक्ष सन्तु चौधरीले बताए । ‘केही दिनअघि गाइडले गल्ती गरे भनेर प्रहरीले नियन्त्रण लियो, गाइडलाई उहाँलाई सम्झायौं,’ उनले भने, ‘गल्ती गर्ने गाइडलाई हामी पनि आन्तरिक कारबाही गर्छाैं, नसके गाइडको परिचयपत्र निकालेर प्रहरीको जिम्मा लगाउँछौं ।’


प्रतिनिधि समाज आइसकेपछि गाइड व्यवस्थापन भएको अध्यक्ष चौधरी बताउँछन् । ‘हामी आउनुभन्दा पनि जस्ले पनि गाइड गर्थे, कुनै सिमितता थिएन, हामी आएपछि समाजमा आवद्ध भएका र होटलको एकजनालाई मात्र गाइड गर्ने अनुमति दिएका छौं,’ उनले भने, ‘गाइडले केही गल्ती नगरुन्, पर्यटकलाई दुख नदिउन् भनेर हामीले गाइडलाई समयसमयमा तालिम दिन्छौं ।’


पश्चिमाञ्चल होटल संघ (हान) का अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकलाई तर्साउने तथा पछ्याउने गर्दा पोखराकै बेइज्जत हुने बताए । ‘केही गाइडहरुले राम्रो गरिराख्नुभएको छ तर, जो छोरेपाटन, कालीमाटी, तालचोकमा गएर बस्ने पर्यटक तर्साउने, कतै बाहिरको नम्बर प्लेटको गाडी देख्यो भने पछ्याउने गर्दा पर्यटकले होटलका व्यक्ति त सोच्दैन नि त । अपरहणमा परेँ कि भन्ने सन्देश जान्छ । त्यो पोखराकै बेइज्जत हुन्छ,’ उनले भने ।


गलत क्रियाकलाप प्रशासनले जतिसक्दो छिटो रोक्नुपर्ने हानका अध्यक्ष सुवेदी बताउँछन् । उनी भन्छन्, ‘उनीहरुको स्वतन्त्रताको कुरा हो । होटल बुक नगरेको खण्डमा सेवा सुविधा यो छ है भनेर लानु स्वाभाविक हो । तर, चोकचोकमा १२/१५ वटा मोटरसाइकल कुरेर बस्ने, पर्यटक तर्साउने काम भइरहेको छ । यो कदम प्रशासनले जतिसक्दो छिटो रोक्नुपर्छ ।’


गाइडको विषयमा गुनासोहरु आएको र बुझेर प्रक्रिया अगाडि बढाउने कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बासुदेव घिमिरेले बताए । यस विषयमा मलाई गुनासो आएका छन्, मैले बुुझ्दै छु, बुझेपछि के गर्ने भन्नेबारे प्रक्रिया अगाडि बढ्छ,’ प्रजिअ घिमिरेले भने ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया