गर्मीमा मुटुको हेरचाह

डा ओममूर्ति अनिल २०८० जेठ ३२ गते १२:४३

केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । गर्मी मौसममा मुटुका बिरामी, उच्च रक्तचाप, कोलस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले केही अतिरिक्त सावधानी अपनाउनु पर्दछ । मुटुसम्बन्धी समस्या भएका बिरामीका लागि जाडो जत्तिकै जोखिम गर्मी याममा पनि हुने गर्दछ ।


गर्मीमा थप सावधानी अपनाउनुपर्ने जोखिम समूहमा मुटुमा ब्लकेज भएका बिरामीहरू, (मुटु कमजोर) भएका बिरामीहरू, उच्च रक्तचाप र यसको औषधि उपयोग गरिरहेकाहरू, मधुमेही र यसको औषधि उपयोग गरिरहेकाहरू, बुढापाका/मिर्गाैला रोगी, पहिले बेहोस भइसकेका र कुनै अंगको संक्रमणले ग्रस्त बिरामी पर्दछन् ।


अझ मुटुजन्य समस्या भएका व्यक्तिहरूका लागि त झन उच्च तापक्रमबाट प्रभावित हुने सम्भावना दोब्बरले बढछ । अति गर्मीले मुटुका बिरामीको ज्यानसमेत जान सक्छ । तापमान वृद्धिका कारण कही वर्षयता मुटुसँग सम्बन्धित समस्या (विशेषगरी हृदयाघात) बढिरहेको छ । जाडोमा जसरी रक्तनली साँघुरो भएर रक्तचाप बढ्छ, त्यसको ठीक विपरीत गर्मीले गर्दा रक्तनलीको आकार बढेर रक्तचाप घट्न सक्छ ।

Advertisement


बढ्दो गर्मीमा टाउको दुख्ने समस्या हुने गर्दछ । गर्मीमा लगातार टाउको दुख्नु भनेको रक्तचाप बढ्ने संकेत हुन सक्छ । बढी समय चर्को घाममा रहनाले रक्तचाप घट्छ र मुटुमा समस्या आउँछ । गर्मीले रक्तचाप घट्दा बिरामीलाई रिँगटा लाग्ने, हिँड्न अप्ठयारो हुने, कहिलेकाहीं बेहोस हुने स्थितिसम्म आउन सक्छ । जोखिम समूहमा परेकाहरूले अत्यधिक गर्मीमा पर्नबाट जोगिनुपर्छ । गर्मी याममा मुटुको समस्याहरू भएका व्यक्तिले मात्र नभई स्वथ्य व्यक्तिले समेत दिनहुँ प्रशस्त मात्रामा झोल कुरा खानुपर्छ ।

गर्मी याममा शरीरबाट बढी पानी निस्किने हुँदा पानीको मात्र कम हुन्छ । शरीरमा पानीको कमी भए रक्तचाप घट्न थाल्छ अनि मुटु र मधुमेहका रोगीहरू जोखिममा पर्न सक्छन् । बुढापाका र मोटो व्यक्तिको शरीरमा पानीको मात्रा अन्य व्यक्तिको तुलनामा कम हुन्छ । शरीरलाई चाहिने पानीको मात्रा कम हुँदा रगत बाक्लो हुन जान्छ । रगत बाक्लो हुँदा जम्ने डर हुन्छ । त्यतिबेला हृदयाघात वा मस्तिस्कघात हुने सम्भावना बढी हुन्छ ।

Advertisement

शरीरमा पानीको मात्रा कम हुनु भनेको यसले शरीरमा निर्जलीकरण (डिहाइड्रेसन) हुनु हो । डिहाइड्रेसनका कारण शरीरमा सोडियम र पोटासियमको मात्रामा गडबड हुन्छ । डिहाइड्रेसनले गर्दा शरीरमा रगत जमेर समस्या उत्पन्न गर्न सक्छ । यसबाट मुटुको धड्कन बढी हार्ट फेल समेत हुन सक्छ । त्यसैले डिहाइड्रेसनका कारण डिहाइड्रेसनले मुटु रोगीको ज्यानै पनि जान सक्ने हुन्छ । मुटुको औषधि खाइरहेका व्यक्तिहरू गर्मी याममा डिहाइड्रेसन भएर बेहोस भएको पाउने गरिन्छ । शरीरमा पानीको कमी लामो समयसम्म रह्यो र प्रारम्भिक लक्षणबाट पहिचान गर्न नसकेमा ऊर्जाको कमीदेखि लिएर हृदयाघातको जोखिम हुन्छ ।

शरीरका विभिन्न अंगमा रगत पु¥याउन मुटुले बढी मिहिनेत गर्नुपर्छ । यसले गर्दा मुटुलाई बढी दबाब हुन्छ । जसले गर्दा मस्तिष्क, मुटु, हातखुट्टा लगायत नसामा रगत जमेर समस्या उत्पन्न हुन सक्छ । मुटुसम्बन्धी जोखिम समूहमा रहेकाहरूलाई गर्मी याममा पनि विशेष सावधानी अपनाउनुपर्छ । जब हाम्रो मुटुले सामान्य प्रवाहमा रक्तसञ्चार गर्न सक्दैन भने यस्तो अवस्थामा मानिस बेहोस हुने गर्छन् । 

गर्मीले गर्दा मानिसको रक्तचाप तल–माथि हुन सक्छ । रक्तचापको औषधि सेवन गरिरहेकाहरूलाई औषधिको मात्रा घटबढ हुन सक्ने भएकाले औषधि सेवन गर्ने रक्तचापका बिरामी अत्यधिक गर्मीमा नहिँड्नु नै राम्रो हुन्छ । कतै जानु नै परे प्रशस्त तरल पदार्थ सेवनसँगै गर्मीबाट जोगिने उपाय गर्नुपर्छ । आफूलाई रिँगटा लाग्न र बेहोसी हुने अवस्था आउन लाग्यो भन्ने थाहा पाउनेबित्तिकै हावा आउने ठाउँमा निस्कनुपर्छ , तरल पदार्थ सक्दो लिनुपर्छ । उभिइरहनु हुँदैन । यति गर्दा पनि आराम नभए देब्रे कोल्टो परेर सुत्नुपर्छ । यसो गर्दा मस्तिष्कमा रगत प्रवाह यथोचित मात्रामा भएर अचेत हुनबाट जोगिन सकिन्छ । सा¥है गर्मी हुँदा चिसो पानीमा नुहाउँदा शरिरलाई शीतलता हुन्छ ।

गर्मीले मुटुमा समस्या हुनबाट जोगिने उपाय

प्रशस्त पानी सेवन: काममा घरबाहिर निस्कनुअघि प्रशस्त मात्रामा पानी वा झोल पदार्थ खानुपर्छ । त्यस्ता व्यक्तिले नून/चिनी, पानी र कागतीको सर्बतले खाइरहने गरे शरीरमा खनिज, लवण र पोटासियमको सन्तुलन बिग्रन पाउँदैन । पानीले शरीरको तापक्रम सामान्य राख्छ । यसले जोर्नीलाई चिप्लोसँगै गद्दाजस्तै बनाउँछ । यसले स्पाइनल कर्डसँगै अन्य संवेदनशील तन्तुहरूलाई जोगाउँछ । नियमित आवश्यकता अनुसार एक–दुई घण्टाको फरकमा प्रशस्त पानी पिउने र शरिरमा पानी प्रयाप्त भए नभएको आफ्नो पिसाव सफा छ छैन हेर्नुपर्छ ।


फलफूल/जुस सेवन: फलफूलमा पाइने खनिज तत्वहरूले शरिरलाई पसिनाको माध्यमबाट हुने खनिजको कमीलाई पूर्ति गर्छ र रक्तचाप र मुटुको क्रियाकलापलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

चिया/कफी सेवन नगर्ने: चियाकफीका कारण शरीरमा पानीको कमी झन् हुन थाल्छ । चिया/कफीमा पाइने कैफिनले पिसाबको मात्रा बढाएर शरिरमा पानीको मात्रालाई कमी गर्छ, अत्यधिक गर्मीमा चिया/कफीको सेवन कम गर्नु फाइदाजनक हुन्छ ।

धूमपान तथा मद्यपान नगर्ने: धुमपान तथा मद्यपान स्वास्थ्यका लागि लाभदायक हुँदैन । त्यसमा पनि गर्मीको समयमा गरिने धुमपानले शरीरलाई सुख्खा राख्न बल पुग्दछ भने मदिरा सेवनले पिसाबको मात्रा बढाएर शरीरमा पानीको मात्रालाई कमी गर्छ ।


व्यायाम गर्दा होस पुर्‍याउने: सकेसम्म कम गर्मी भएको बेला (बिहान) हिँड्ने, व्यायाम अगाडि पछाडि गर्ने बेलामा पानी पिउने ।

बिहान वा साँझमा घर बाहिरको काम वा व्यायाम गर्न सकिन्छ ।


सकभर घरभित्रै बस्ने: गर्मीको मौसममा चर्को घाममा लागेका बेला घर बाहिर निस्कनु स्वास्थ्यका लागि निकै जोखिम मानिन्छ ।

सकेसम्म घरभित्रै बस्नुपर्छ । यदि घरभित्रै बस्दा पनि दिउँसो घामतिर पर्ने झ्याल र ढोका बन्द गर्नुपर्छ र बाक्लो पर्दा लगाउनुपर्छ । सकेसम्म भित्र बत्ती पनि बाल्नुहुँदैन ।


चर्को घामबाट बच्ने: दिउँसोको सूर्यको किरणबाट बच्नुपर्छ । अति बढी परिश्रम पर्ने कामहरू कम गर्नपर्छ । बाहिर निस्कने बेलामा छाता, टोपी, चश्मा, पातलो तथा खुकुलो कपडा र सन स्क्रिनको प्रयोग गर्न सकिन्छ ।


उपयुक्त कपडा प्रयोग गर्ने : जोखिम समूहका व्यक्तिहरूले बढी गर्मीमा हल्का लुगा लगाउनुपर्छ । सिन्थेटिक, नाइलन, पोलिस्टरको सट्टा सुतीका लुगा लगाउनुपर्छ । टाइट र गाढा रङका लुगा लगाउनु हुँदैन ।


अत्यधिक गर्मीका कारण यदि बेचैनी या असहज महसुस हुन्छ भने तत्काल रक्तचापको परीक्षण गराउनुपर्छ । यदि रक्तचाप उच्च छ भने तत्काल डाक्टरको परामर्श लिनुपर्छ ।

तपाईको प्रतिक्रिया