‘बिमा भुक्तानी झन्झटिलो’

पोखरा ।
खानाजस्तै बिमा पनि आवश्यक भए पनि प्रक्रियागत झन्झट र कम्पनीका व्यवहारका कारण बिमाप्रति आकर्षण नबढेको भुक्तभोगीहरुले बताएका छन् । नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले बुधबार पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा उद्योगी, व्यवसायीसँग बिमा विषयमा आयोजना गरेको अन्तत्र्रिmयामा भुक्तभोगीहरुले अनुभव साटेका हुन् ।
बिमा कम्पनीका एजेन्टहरुले विभिन्न योजना देखाउँदै बिमा गराउने तर भुक्तानीका बेला सास्ती दिने गरेको उनीहरुको भनाइ छ । पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले बिमा कम्पनीहरुले विश्वास आर्जन गर्ने गरी काम गनुपर्नेमा जोड दिए । उनले झन्झटिलो भुक्तानी प्रक्रियालाई सरलीकृत गर्न पनि आग्रह गरे । नेपालमा १६ जीवन बिमा, १४ निर्जीवन बिमा, २ पुनर्बीमा र २ लघुवित्त बिमा कम्पनी क्रियाशील छन् ।
नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख केशवप्रसाद ढकालले बिमा कम्पनीहरुलाई जिम्मेवार बनाउन, सर्वसाधारणलाई बढी प्रतिफल दिन र बिमाबारे सचेतना फैलाउने काम भइरहेको बताए ।
सोही कार्यालयका सहायक निर्देशक सुन्दरप्रसाद शर्माले बिमा गर्दाका फाइदाबारे जानकारी दिँदै बिमा भएर जीवन सुरक्षित बनाउन नागरिकसँग अनुरोध गरे । निसा गण्डकीका अध्यक्ष सुरेन्द्र गोदारले बिमा गर्नुभन्दा पहिला त्यहाँ लेखिएका प्रावधान र सर्त अध्ययन गर्न सर्वसाधारणसँग अनुरोध गरे । निब्स पोखराका दीपकराज तिवारीले पनि बिमा कम्पनीहरु पछिल्लो समय ग्राहकमैत्री भएको बताए ।
पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बालकृष्ण कोइरालाले दुर्घटना हुँदा बिमा कम्पनीहरु हेर्नका लागि टाढा नजाने, भुक्तानीमा ढिलाइ गर्ने गरेको गुनासो गरे । उनले प्रिमियम बढाएर भए पनि स्वास्थ्य बिमाको रकम ३ लाखबाट बढाउनुपर्ने माग गरे । उनले निर्माण कार्य गर्दासँगै रहेका घरको बिमा गर्न कम्पनीहरुले नमानेको बताए ।
पोखरा हार्डवयर एसोसियनका अध्यक्ष हेमराज तिमिल्सिनाले बिमा कम्पनीहरुले दिने सेवा, सुविधाबारे प्रष्ट पार्नुपर्ने बताए ।
अधिकृत बिक्रेता संघका अध्यक्ष अनिल श्रेष्ठले स्वास्थ्य बिमाबारे अझै सचेतना फैलाउनुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य राम कँडेलले ब्रान्ड, सेवा र डेलिभरी सेवाको पनि बिमा गनुपर्ने माग गरे ।
तपाईको प्रतिक्रिया