१८ औं रोपाइँ महोत्सव

पोखराः सबै मौसमका लागि

समाधान संवाददाता २०८० असार १५ गते ११:५२

यसपालिको रोपाइँ महोत्सव पहिलाभन्दा फरक हुन्छ कि उस्तै हो ?
यस पटक पहिलेको भन्दा अलि फरक गर्ने कोसिस छ । साँस्कृतिक र सांगीतिक कार्यक्रम गर्ने योजना छ । कलाकार प्रकाश सपूतलाई बोलाएका छौं । साथै, अन्य स्थानीय कलाकारले पनि पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने छन् । विदेशी पर्यटकलाई प्रत्यक्ष रोपाइँमा सहभागी गराउने छौं ।


पोखरा पर्यटन परिषदले रोपाइँलाई पनि महोत्सवकै रुपमा मनाउने र यसलाई पर्यटकीय प्रडक्ट बनाउने आइडिया किन ल्याएको हो, कसरी ल्याएको हो ?
१८ वर्षपहिले पोखरा पर्यटन परिषदका संयोजक डम्बर केसीले महोत्सव सुरुआत गर्नुभएको हो । त्यसयता पर्यटकीय प्रडक्टकै रुपमा महोत्सवलाई निरन्तरता दिँदै आएका छौं । ‘पोखराः सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ स्वदेशी तथा विदेशी पर्यटक भिœयाउने महोत्सवको मूल उद्देश्य हो । बर्खा याममा पर्यटक आकर्षक गर्ने अरु कुनै गतिविधि नभएको हुँदा रोपाइँ महोत्सवको आइडिया आएको हो ।


रोपाइँ महोत्सव गर्दा पर्यटनकर्मी र पर्यटकलाई त रमाइलै होला तर त्यो धान खेतका धनी किसानले चाहिँ के पाउँछन् ?
महोत्सवको उद्देश्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्नु नै हो । पर्यटन र कृषिलाई सँगसँगै अघि लैजाने प्रयास हो । देश समृद्धिको मेरुदण्ड कृषि र पर्यटन हुन् । कृषि क्षेत्रमा महोत्सवले सघाउ पुग्नेछ । किसानलाई पनि यो महोत्सवले हौसला दिन्छ । कृषि पनि पर्यटनसँग जोडिन्छ भन्ने सन्देश किसानमा जान्छ । पर्यटनलाई कृषिलाई जोड्ने कडीका रुपमा यो महोत्सवलाई लिनुपर्छ ।

Advertisement

आखिर पर्यटन फस्टायो भने न कृषि उपजले पनि बजार पाउँछ । किसानलाई पर्यटनले फाइदा दिन्छ नै ।


धानखेतको हिलोमा रमाउँदा पर्यटक र अरु सहभागीको स्वास्थ्यको ख्याल कसरी राखिन्छ ? कुनै मापदण्ड पनि हुन्छ कि ?
स्वास्थ्यलाई ध्यानमा राखेर मेडिकल टिमको व्यवस्था गरेका छौं । मापदण्ड तोकिएको छ, इच्छा विपरीत कसैले कसैलाई हिलो छ्याप्न पाइँदैन, आफूखुसी नै हिलो खेल्ने हो, कसैलाई अभद्र व्यवहार गर्न पाइँदैन ।

Advertisement


रोपाइँ महोत्सवमा हिलोमा माछा समात्ने प्रतियोगिता पनि हुन्छ । अचेल त खेतमा माछा पाइन छाडेका छन् । महोत्सव गर्ने खेतमा बाहिरबाटै माछा लगेर छाडिन्छ कि कसो हुन्छ ?
हो, खेतमा माछा पाइँदैन प्रतियोगिताका लागि बाहिरबाट माछा लगेर छोडिन्छ । माछा नै पाइने खेत त अचेल छैनन् । यसतर्फ पनि ध्यान पुर्‍याउन आवश्यक छ । के कसरी माछा संरक्षणसमेत गर्न सकिन्छ भनेर लाग्नु आवश्यक छ ।


रोपाइँ महोत्सवले पर्यटक तानेको कुनै तथ्य प्रमाण छ ? कि यो निरन्तरताका लागि निरन्तरमात्रै गरिएको हो ? रोपाइँ महोत्सव पनि कतै बिरोलो बाँधाइमात्रै त भएको छैन ?
रोपाइँ महोत्सवले पक्कै पनि पर्यटक तानेको छ । रोपाइँ महोत्सवकै लागि भनेर पर्यटक आउने गरेका छन् । यो पटक पनि स्वदेशी तथा विदेशी पर्यटक उल्लेखनीय रुपमा सहभागी हुने कुरामा विश्वस्त छौं । महोत्सव ब्रान्डको रुपमा स्थापित भइसकेको छ । पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याएको छ ।


पोखरा पर्यटन परिषदले वर्षको एक पटक रोपाइँ महोत्सव त गर्छ तर पोखराका होटल रेस्टुरेन्टमा भारत, चीनमात्रै होइन, अमेरिकादेखि आयातीत खाद्यवस्तु पस्किने चलन छ । स्वदेशी उत्पादन र वस्तुको प्रवद्र्धनका लागि चाहिँ किन कुनै अभियान नचलाएको होला ?
होटल, रेस्टुरेन्टमा स्थानीय उत्पादन नै राख्ने छौं । जेठोबुढो धानको चामलको सेलरोटी, दही चिउरा स्थानीय उत्पादन नै पाहुनालाई खुवाउने योजना छ । स्थानीय खानालाई प्राथमिकतामा राखेका छौं ।


झन्डै २ दशकदेखि हुँदै आएको महोत्सवले अन्तर्राष्ट्रिय प्रचार भएको देखिन्न किन होला ?
अन्तर्राष्ट्रिय रुपमा सधैं प्रचार गरिरहेका छौं । विदेश भ्रमणमा जाँदासमेत असार १५ मा पोखरामा रोपाईं महोत्सव हुन्छ भनिरहेका हुन्छौं । संसारभर नै प्रचार गरेका छौं । प्रचारलाई निरन्तरता दिइरहनेछौं ।

पोखरामा जेठोबूढो धान फल्ने खेत मासिँदै छ । धान खेत धमाधम प्लटिङ भइरहेका छन् । रोपाइँ महोत्सव गरिरहँदा यहाँको कृषि क्षेत्र जोगाउनुपर्छ भनेर पर्यटन परिषदले सोचेको छ कि ? रोपाइँ महोत्सव केही वर्षमै एकादेशको कथामा सीमित हुन दिने हो ?
खेतीयोग्य जमिनलाई नितान्त कृषि उत्पादनमा लगाउनुपर्छ । बाँझो जमिन राख्न हुँदैन । उत्पादन बढाइ स्वदेशलाई अन्नमा आत्मनिर्भर बनाउने उद्देश्य हो । महोत्सव महोत्सवका लागि मात्र होइन, सरकारलाई ध्यानाकर्षित गराउन पनि हो । कृषि क्षेत्रलाई सरकारले महत्व दिन्छ भन्ने विश्वास छ ।


धान रोप्न हामी अझै पनि गोरु र हलोको प्रयोग गर्छौं । जमाना ट्याक्टरको छ । पर्यटककै लागि भनेर अझै पनि हलो र गोरु जोत्ने कि कृषिमा आधुनिकीकरण वा यान्त्रिकीकरण पनि गर्ने ?
कृषिलाई आधुनिकीकरणमा लैजान हामीले सोचेका छौं । बृहत् कृषि आधुनिकीकरणमा जान आवश्यक छ तर सँगै पुर्खादेखि चलिआएको चलनलाई लोप हुन नदिने हाम्रो प्रयास हो । यो हाम्रो पहिचान हो, पर्यटकको आकर्षणका लागि हलो र गोरुले नै धान रोप्ने तरिकालाई निरन्तरता दिँदै महोत्सव मनाउँदै आएका हौं ।


अब त नेपालमै पनि धान रोपाइँ नौलो हुन थालिसक्यो‚ नेपाली विद्यार्थी वा स्वेदशी पर्यटकलाई पनि रोपाइँ महोत्सवमा सहभागिता गराउनुपर्छ कि ?
नेपाली विद्यार्थी र विदेशी पर्यटकलाई सहभागी गराउनेछौं । उनीहरुलाई धान रोप्ने नेपाली परम्परागत तरिका देखाउनेछौं ।

नेपाली परम्परागत तरिकाको विदेशमा प्रचार गर्न मदत पुग्नेछ । विद्यार्थी, युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने तथा यसको महत्वका बारेमा जानकारी दिन आवश्यक छ ।

तपाईको प्रतिक्रिया