लाइसेन्स नवीकरण अनलाइनबाटै

रिखिराम जिसी २०८० असार २१ गते १०:२३

पोखरा ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र गण्डकी प्रदेशका यातायात व्यवस्था तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बुधबार भर्चुअल विधिबाट संयुक्त रुपमा लाइसेन्सको अनलाइन नवीकरण प्रणालीको सुरुआत गरेका हुन् ।


पहिलो चरणमा गण्डकी प्रदेशबाट उक्त प्रणाली सुरु भएको छ । सवारी चालक अनुमतिपत्र नवीकरण अनलाइनबाट गर्ने प्रणालीको सुरुआत गरिएको छ । आगामी दिनमा यातायात व्यवस्था कार्यालयबाट हुने सम्पूर्ण कार्यलाई अनलाइन प्रणालीबाट हुने व्यवस्था गर्ने मन्त्रालयको योजना छ । एक महिनाभित्र सबै प्रदेशमा उक्त सेवा विस्तार गरिने मन्त्रालयले जनाएको छ ।


लाइसेन्स नवीकरण गर्दा लाग्ने शुल्क पनि अनलाइनबाट तिर्न सकिने भएको छ । सुरुमा लाइसेन्स लिँदा बायोमेट्रिकसमेत गर्नुपर्ने हुँदा कार्यालय नै जानुपर्छ । तर नवीकरणका लागि बायोमेट्रिक पहिल्यकै हुने हुँदा अनलाइनबाट फर्म भरी काम गर्न सकिने भएको हो ।

Advertisement

यातायात व्यवस्था कार्यालयबाट हुने सम्पूर्ण काम छिटै अनलाइन प्रणालीबाट गर्न मिल्ने बनाइने


बिचौलिया र लाइन बस्नुपर्ने झन्झटको अन्त्य गर्न अनलाइन प्रणाली सुरु गरिएको गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताए । ‘बिचौलियाको अन्त्य गर्ने, यातायात कार्यालयमा लाग्ने लाइनलाई हटाउन गण्डकी प्रदेशको कास्की कार्यालयमा धेरैअघिबाट सुरुआत गरिसकेका छौं । त्यसमा हामी भिडभाड कम गर्न र लाइन कम गर्न सेवा प्रवाह ८ बजेदेखि नै सुरु गरेका छौं,’ उनले भने, ‘सवारीको ट्रायल दिने काम, नवीकरण गर्ने काम बिहानैदेखि सुरुआत गरेका छौं, अहिले भिडभाड हटेको छ ।’

Advertisement


अनलाइनबाट भुक्तानी गर्न मिल्ने भएपछि सहज हुने भए पनि अझै केही कानुनी जटिलता र ऐनको समस्याहरु रहेको मन्त्री जुग्जालीले सुनाए । ‘यसलाई छिट्टै नै हल गर्दिएपछि हामीलाई सहज हुन्थ्यो कि भन्ने लागेको छ,’ उनले संघीय यातायात मन्त्रीसँग भने । मन्त्री जुग्जालीले राइड सेयरिङको विषयमा समस्या हल गर्न संघीय मन्त्रीसँग माग गरे । ‘विशेष गरेर गण्डकी प्रदेश र पोखरामा राइड सेयरिङ विषयमा समस्या भएको छ । यसलाई छिट्टै नियमावली बनाएर पठाइदिएपछि प्रभावकारी ढंगबाट लागु गर्न सजिलो हुन्थ्यो जस्तो लाग्छ,’ उनले भने ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ । ‘लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी वर्ग थप र राजस्व आज (बुधबार)देखि अनलाइनबाटै बुझाउने व्यवस्था गरेका छौं,’ अनलाइन सेवा सुरु गर्दै मन्त्री प्रकाश ज्वालाले भने, ‘गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु गरेका छौं, एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्छाैं ।’


भोलिका दिनमा भने सुरुमा लाइसेन्स लिन पनि सबै अनलाइन प्रणालीबाट सम्भव गराउने र ट्रायल दिनमात्रै गए हुने व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले जनाए । ‘स्वास्थ्य परीक्षण पनि यातायात व्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने व्यवस्था गर्न लागेका छौं,’ भट्टराईले भने ।


नेपालमा झण्डै ३३ लाख ६० हजारले चालक अनुमतिपत्र लिएका छन् । उनीहरुको नवीकरण र वर्ग थपका लागि यातायात व्यवस्था कार्यालय बाहिर लाइन बस्न नपर्ने भएको छ । लाइसेन्स नवीकरण पनि पाँच÷पाँच वर्षमा नभई १० वर्ष गर्ने व्यवस्था हुँदैछ ।


नयाँ आवेदन स्वीकृत भएको, लिखित परीक्षा, प्रयोगात्मक परीक्षाको नतिजा हेर्न पनि अब यातायात कार्यालय जानुपर्दैन ।

‘त्यसका लागि मोबाइल नम्बरमा एसएमएस आउने व्यवस्था गर्दैछौं,’ महानिर्देशक भने । ब्लुबुक नवीकरण लगायत कार्य पनि अनलाइनबाट गर्न सकिने व्यवस्थाका लागि पहल भइरहेको गण्डकी प्रदेशको यातायात मन्त्रालयका सचिव तुलसी भट्टराईले जानकारी दिए ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया