शनिबार ‘करेसा कन्सर्ट’ हुने

समाधान संवाददाता २०८० साउन ४ गते १३:२५

पोखरा ।
नाटक ‘करेसा कन्सर्ट’ साउन ६ गते शनिबार पोखरामा मञ्चन हुने भएको छ । यसअघि ‘बुकिङ सो’मार्फत् पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको यो नाटक आम नाटकप्रेमी दर्शकलाई लक्षित गरी ‘पब्लिक सो’मार्फत मञ्चन गर्न लागिएको हो ।


नाटक पोखरा थिएटरको गन्धर्व नाटकघरमा शनिबार दिउँसो १ बजे मञ्चन हुनेछ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको यस नाटकमा हाम्रो करेसाबारीमा हुने फर्सी, प्याज, गोलभेडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, कार्को, मुला, खुर्सानी, बेसारको स्वभाव र विशेषताको बारेमा रमाइलो शैलीमा बुझाउन खोजिएको छ । जुन बालबालिकाका लागि बढी रुचिकर हुन सक्छ ।


नाटकमा फर्सीबहादुर बनेर रमेशबाबु तिमल्सिना, प्याजीमायाको बनेर अञ्जु दाहाल, गोलभेडाको बनेर रोशनी रामदाम, लसुन बनेर दिपसना विश्वकर्मा, साग बनेर अनुसा परियार, करेली बनेर रञ्जु दाहाल, अदुवा बनेर समीर पुन, लौका बनेर नम्रता ढकाल, धनियाँ बनेर पूर्णिमा अर्याल, काकरी बनेर सोनिया कार्की खत्री, मुलाबाबु बनेर रायन गुरुङ, भाले बनेर रोहित पौडेल र चिल्ली बनेर धनकाजी श्रेष्ठले दर्शकको ध्यान खिच्ने छन् । जसका लागि गन्धर्व नाटक घरको स्टेजमा सुन्दर करेसाबारी निर्माण गरिएको छ । स्टेज कलरफूल देखिँदा थिएटर प्रवेश गर्नेबित्तिकै बालबालिकाको ध्यान आर्कषित गर्नेछ ।

Advertisement


केदार श्रेष्ठले लेखेको नाटक अञ्जु दाहालको निर्देशनमा तयार भएको हो । नाटककार केदार श्रेष्ठले नाटक बालबालिकालाई लक्षित गरेर तयार भएको बताए । निर्देशक दाहालले यो नाटक विद्यार्थीलाई करेसाबारीको बारेमा जान्नका लागि महत्वपूर्ण बन्ने सुनाइन् ।


पोखरा थिएटरका अध्यक्ष परिवर्तनले नाटक मन्टेसरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरिएको भए पनि अभिभावक, शिक्षक र आम नाटकप्रेमीको लागि समेत उत्तिकै महत्वपूर्ण रहेकाले पब्लिक सो देखाउन लागिएको बताए ।

Advertisement


१ घण्टा १० मिनेटको नाटकको अर्को महत्वपूर्ण पाटो संगीत हो । संगीत संयोजक कमल केसीले गरेको मेहनत, मञ्च सजावटमा अमृत परियारले गरेको प्रयोग र प्रकाश परिचालनमा मिलन श्रेष्ठले गरेको कामले नाटकलाई थप सुन्दर बनाउन सघाएको छ । नाटकलाई धेरैं दर्शकमाझ पुर्‍याउन बजार व्यवस्थापक प्रकाश पराजुलीले त्यसको हिसाबकिताब राख्न बक्स अफिसमा रहेर शुभेच्क्षा शर्माले सघाएकी छन् । नाटक प्रचारका लागि दयाराज ढुंगानाले पोस्टर डिजाइन गरेका छन् ।

तपाईको प्रतिक्रिया