जोमसोमका सार्वजनिक स्थानमा पार्किङ गरे कारवाही

समाधान संवाददाता २०८१ वैशाख १८ गते १६:३५

जोमसोम ।

मुस्ताङको घरपझोङ गाउँपालिकाले सार्वजनिक स्थानमा सवारी पार्किङ गरे कारवाही गर्ने जनाएको छ । गाउँपालिका कार्यालयद्वारा सोमबार आयोजित बसपार्क कार्यान्वयनका विषयमा भएको छलफल तथा अन्तरक्रियामा यस्तो निर्णय गरेको हो ।


घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेय, वडाध्यक्ष तथा सदस्यहरु, यातायात व्यवसायी, पर्यटन व्यवसायी, पत्रकार लगायतको उपस्थिती थियो ।

Advertisement

कार्यक्रममा घरपझोङ गाउँपालिकाका दुई बसपार्कलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने निर्णय गरिएकाे थियाे ।


बैठकले सार्वजनिक स्थानमा सवारी पार्किङ नगर्न सम्पूर्ण होटल व्यवसायी र पर्यटक लगायतलाई अनुरोध गर्ने र नियम पालना नगरी अटेरी गरेको पाईएमा कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

Advertisement


घरपझोङ—३ एक्लेभट्टीमा २०७५ सालदेखि गाउँपालिकाले ४८ लाख लागतमा बसपार्क निर्माण सुरु गरेको थियो । यसैगरी घरपझोङ —४ जोमसोममा सहरी विकास तथा भवन डिभिजन कार्यालय बाग्लुङले २ करोड ५० लाख खर्चिएर बसपार्क निर्माण गरेको थियो ।


बसपार्क कार्यान्वयनकाे जिम्मा जोमसोमका सुरेश शेरचनले वार्षिक २० लाख बुझाउने गरी लिएका छन् ।


बसपार्क कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाएर लैजाने र यसका लागि थप पूर्वाधार निर्माण गर्न चालु वर्ष १० लाख बजेट विनियोजन भएको पालिकाले जनाएको छ । पालिकाले यातायात तथा पर्यटन व्यवसायीहरुलाई बसपार्क कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सार्वजनिक अपिल समेत गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए ।


बैठकमा सरोकारवालाहरु आ—आफ्ना समस्या र चुनौतीहरु पेश गरेका थिए । विकास र समृद्धिको मार्गलाई कसैले अवरोध सृजना गर्न नहुँने सरोकारवालाहरुले सुझाएका छन् ।

तपाईको प्रतिक्रिया