गोल्डेन ढाका टोपी डान्स प्रतियोगिताको फाइनल भदौ २ गते

समाधान संवाददाता २०८० साउन ४ गते १४:०८

पोखरा ।
मिरर किङ इन्टरटेन्मेन्ट प्रालि र बिटुडी डान्स स्कुलले संयुक्त रुपमा आयोजना गरेको तेस्रो संस्करणको गोल्डेन ढाका टोपी कल्चरल ग्रुप डान्स कम्पिटिसनको सेमिफाइनलमा २४ समूह छनोट भएका छन् । कम्पिटिसनको जेठ २० देखि २७ गतेसम्म समूह चरणको अडिसन भएको थियो ।


यो चरणमा गण्डकी प्रदेशका ५३ स्कुल सहभागी भएका थिए । समूह चरणबाट सेमिफाइनलमा २४ समूहले स्थान पक्का गरेको प्रतियोगिताका निर्देशक अमन तामाङले जानकारी दिए । ‘सुरुमा सहभागी हुने स्कुलले भिडियो पठाएर अडिसनमा भाग लिएका थिए । त्यही भिडियोका आधारमा हामीले सेमिफाइनलमा छनोट गरेका हौं,’ तामाङले भने, ‘सेमिफाइनल साउनको अडिसन १३ गते हुनेछ ।’


प्रतिस्पर्धामा छनोट भएका स्कुल अन्तिम चरणका लागि प्रतिस्पर्धा गर्न आउनेछन् । प्रतियोगिताको फाइनल भदौ २ गते हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा पहिलो हुने स्कुलले गोल्डेन ढाका टोपीसहित १ लाख रुपैयाँ, दोस्रो हुनेले ट्रफीसहित ७५ हजार रुपैयाँ, तेस्रोले ट्रफीसहित ५० हजार रुपैयाँ, चौथो हुने स्कुलले ट्रफीसहित ३० हजार रुपैयाँ र पाँचौं हुने स्कुलले ट्रफीसहित २० हजार रुपैयाँ पाउने छन् ।

Advertisement


उत्कृष्ट नृत्य निर्देशकलाई गोल्डेन ट्रफीसहित १५ हजार रुपैयाँ व्यवस्था गरिएको छ । प्रतियोगितालाई गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा अन्य निजी संघ, संस्थाले सहयोग गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया