जडीबुटीबाट २६ लाख राजस्व

मनाङ ।
मनाङमा आर्थिक वर्ष २०७९/८० मा जंगली जडीबुटी बिक्रीबाट २६ लाख ४४ हजार २ सय २९ राजस्व संकलन भएको छ । जिल्लामा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र परिसरमा पाइने यार्सागुम्बा, वन लसुन, जिम्बु, टिमुर, निगालो जस्ता जंगली जडीबुटी बिक्रीबाट यो राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङले जनाएको छ ।
यस आवमा यार्सागुम्बा बिक्रीबाट २५ लाख ४८ हजार २ सय, वन लसुनबाट ४६ हजार ९ सय ९६, जिम्मु बिक्रीबाट ११ हजार ९१, निगालोबाट ३ हजार ३ सय ५० र टिम्बर काठबाट ३४ हजार ५ सय ९२ राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।
‘औषधीय जडीबुटी बिक्री मनाङको मुख्य आयस्रोत मानिन्छ, यसबाट यहाँको आयस्रोत वृद्धि गरेको छ,’ उनी भन्छन् । यस आवमा यार्सागुम्बा ८२ दशमलव २ किलोग्राम, वन लसुन १ हजार ५ सय ६१ दशमलव २ किलोग्राम, जिम्मु १ हजार १ सय ९ दशमलव १ किलोग्राम, निगालो ३ हजार ३ सय ५० पिस र टिम्बर काठ ४ सय ५८ दशमलव ५९ क्युफिट बिक्री गरिएको छ ।
गत वर्ष कोभिड १९ का कारण जडीबुटी तथा काठ बिक्री गर्न समस्या हुँदा राजस्वमा कमी आएको थियो । गत वर्षको तुलनामा यस वर्ष समस्या समाधान हुँदै जानुले जडीबुटी संकलनमा सहज हुँदा राजस्वमा वृद्धि भएको गौतमले सुनाए । संकलित राजस्व संघीय सरकारअन्तर्गत वितीय आयोगमा पठाइनेछ । वित्तीय आयोगले ५० प्रतिशत संघ सरकारमा राखी प्रदेश सरकार र स्थानीय सरकारमा २५/२५ प्रतिशत राजस्व पठाउने प्रावधान छ ।
मनाङमा जडीबुटी संकलनबाट हुने आम्दानी स्थानीय तह मातहत राख्न सकिएमा आन्तरिक आय वृद्धि हुने स्थानीय तहको अनुमान छ । स्थानीय तहलाई आन्तरिकरूपमै सबल बनाउने उद्देश्यअनुरूप अगाडि बढ्ने लक्ष्य पूर्ति गर्न सहयोग पुग्ने स्थानीय तहको बुझाइ छ । धेरै आय स्रोत स्थानीय सरकारमा भएको अवस्थामा पनि संघ सरकारलाई पठाउनुपर्ने प्रावधानले आय कम भएको स्थानीय तहको गुनासो छ ।
जिल्लाका ४ स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जंगली जडीबुटी संकलन भएको छ । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट संकलन भएको छ । मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोंकर, पोंकर लगायतका स्थानबाट जंगली जडीबुटी संकलन गरिन्छ । चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन् । नासोँ गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भिमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जंगली जडीबुटी संकलन गरिन्छन् ।
ठेकेदारले जङ्गली जडीबुटी संकलनका लागि ठेक्का लिने र बाहिरबाट संकलनकर्ता ल्याएर टिपिने गरिन्छ । ठेकेदारले कममा ३० हजारदेखि ४० हजारसम्म पुर्जी काटेर ठेक्कामा जंगली जडीबुटी संकलन गर्दछन् । करिब २ महिना खर्कमा बसेर ज्यालादार मजूदरले काम गर्छन् ।
तपाईको प्रतिक्रिया