मोरङबाट पोखराका ३ युवाको नक्कली नागरिकता

समाधान संवाददाता २०८० साउन ५ गते ११:००

विराटनगर ।
पोखराका ३ जना युवाले मोरङका ६१ वर्षीय सूर्यहाङ लिम्बुलाई बाबु बनाएर मोरङ जिल्ला प्रशासनबाट नागरिकता लिएको खुलेको छ । लेटाङ नगरपालिका–६ का लिम्बुले बाबु बनेर पोखरा महानगरपालिका–१६ का २९ वर्षीय गणेश गुरुङ, पोखरा–१० का २१ वर्षीय रविन गुरुङ र पोखरा–१२ का १९ वर्षीय प्रशान्त मगरलाई मोरङबाट नागरिकता बनाइदिएको अनुसन्धानबाट खुलेको हो ।


लिम्बुले गणेशलाई जेठो छोरो बनाएर सविन लिम्बु, रविनलाई माइलो बनाएर साजन लिम्बु र प्रशान्तलाई कान्छो बनाएर सुरज लिम्बुको नाममा नागरिकता दिलाएको मोरङ प्रहरीका प्रवक्ता सडएसपी रन्जनकुमार दाहालले बताएका छन् । जब कि सूर्यहाङका ३ छोरीमात्रै छन् ।


छोराविहीन सूर्यहाङका छोरा बनी बेलायत जाने सपना बोकेर पोखराका युवाले किर्ते नागरिकता लिएको प्रहरी अधिकारीको भनाइ छ । नक्कली बाबु खडा गरेर एकै परिवारका दाजुभाइ बन्दै झुठो विवरण पेस गरेका उनीहरूले मोरङको बेलबारी नगरपालिका–११ ठेगाना राखेर एकैदिन अर्थात २०७८ माघ ४ गते नागरिकता लिएको रेकर्ड प्रशासनसँग छ । नागरिकता बनाइदिएबापत सूर्यहाङले ५ लाख रुपैयाँ लिइसकेका थिए । अरु बाँकी ३० लाख लिने सम्झौता भएको पनि खुलेको छ ।

Advertisement

छोराविहीन लाहुरेको सन्तान बनेर बेलायत पुग्ने सपना
तीनजनै पोखरेली युवालाई खोज्दै प्रहरी

लेटाङबाट बेलबारी बसाइँ सरेको बनाइ त्यही ठेगानामा सूर्यहाङले ३ जनालाई नागरिकता बनाइदिएका हुन् ।
डिएसपी दाहाल नागरिकताका लागि आवश्यक सम्पूर्ण कागजात पोखरा–१० का अन्दाजी ८० वर्षीय टेकबहादुर गुरुङ र पोखरा–१६ का अन्दाजी २५ वर्षीय विवेक गौचन थकालीले तयार पारेको अनुसन्धानबाट खुलेको बताउँछन् ।

Advertisement

‘सुरुमा टेकबहादुरमार्फत सूर्यबहादुरले सूर्यहाङसँग सम्पर्क गरेको देखिन्छ,’ उनले भने, ‘सूर्यबहादुरले पोखरेली युवाको नागरिकता बनाउन टेकबहादुर र सूर्यहाङको बीचमा पुलको काम गरेका रहेछन् ।’ मोरङबाट नक्कली नागरिकता बनाएका पोखरेली ३ जना युवालाई प्रहरीले खोजिरहेको छ । तर उनीहरु पक्राउ परिसकेका छैनन् ।


सूर्यबहादुरमार्फत नागरिकता लिने ३ जना र त्यसका लागि कागजपत्र तयार पार्ने विवेक र टेकबहादुरको भेट सूर्यहाङसँग भएको अनुसन्धानबाट खुलेको छ । नक्कली छोरा बनाएर बेलायत पठाउने आश्वासनसहित सरकारी छाप दस्तखत किर्ते गरी कागजातहरू तयार पारेर नेपाली नागरिकताको प्रमाणपत्र दिलाई रकम असुली गरेको पाइएको डिएसपी दाहालको भनाइ छ । सन्तान छोरी मात्रै रहेकाले पनि अरुलाई छोरा बनाएर नागरिकताको सनाखत गरिदिन सूर्यहाङलाई सहज भएको प्रहरीको निष्कर्ष छ ।


रकम खर्चिएर नागरिकता बनाए पनि युवाहरू बेलायत जान नपाएपछि मोरङ प्रशासनमा मौखिक उजुरी परेको थियो । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) विकास थपलिया नेतृत्वको टोलीले असार ५ गते सूर्यहाङलाई पक्राउ गरेको थियो । उनका साथी सूर्यबहादुर लिम्बु पनि पक्राउ परेका छन् । सूर्यबहादुरले नक्कली नागरिकताको सेटिङ मिलाएको बयान सूर्यहाङले दिएका छन् ।

तपाईको प्रतिक्रिया