सिआइबीद्वारा १२५ पक्राउ

समाधान संवाददाता २०८० साउन ७ गते १०:४८

काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गएको १ वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका १ सय २५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । उनीहरूविरुद्ध ४३ वटा मुद्दा दर्ता गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।


विभिन्न कसुरमध्ये सबैभन्दा बढी ठगीको देखिएको छ । सिआइबीका अनुसार ठगीमा ७५ जना पक्राउ गरी उनीहरूविरुद्ध २६ मुद्दा दर्ता गरिएको छ । जुवासम्बन्धी कसुरमा ११ जना विरुद्ध दुई मुद्दा, नागरिकतासम्बन्धी १ जना विरुद्ध एक, संगठित अपराधमा २ जना पक्राउ गरी १ मुद्दा दर्ता भएको सिआइवीले जनाएको छ ।


खेलसम्बन्धी तीन जनाविरुद्ध एक, दुरसञ्चार हानीसम्बन्धी १४ जना विरुद्ध दुई, सहकारी ठगीमा १४ जना पक्राउ गरी पाँच, लिखतसम्बन्धी चार जनालाई पक्राउ गरी तीन मुद्दा र राष्ट्र बैंक तथा बैंकिङ कसुरमा एक–एक वटा मुद्दा दर्ता भएको जनाइएको छ । आर्थिक अपराध अनुसन्धानको सिलसिलामा आठ मुद्दा दर्ता भई ३९ जनालाई पक्राउ गरिएको जनाइएको छ ।

Advertisement


लिखत/ठगी/वैदेशिक रोजगार/नागरिकता ऐनअन्तर्गतको कसुरमा १६ वटा मुद्दा दर्ता भई ५७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । वन्यजन्तु तथा वातावरणीय अपराध अनुसन्धानमा आठ अपरेशन सञ्चालन गरेर ३५ जनालाई पक्राउ गरी कानुनी कारवाहीका लागि सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाइएको छ । मुद्दा फैसलातर्फ सजाय ठहर भई फरार रहेका विभिन्न एक सय २५ जना प्रतिवादीलाई पक्राउ गरी रु ३० करोड छ लाख जरिवना असुल र एक सय २९ वर्ष कैद सजाय फस्र्याेटका लागि अदालतमा पठाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया