संघको किचलोले खेलाडी मारमा

रिखिराम जिसी २०८० साउन ८ गते १०:३८

पोखरा ।
भुटानमा आउँदो भदौ १५ गतेदेखि हुने साफ यु १६ च्याम्पियनसिपको छनोट अन्तर्गत गण्डकी प्रदेश स्तरीय छनोट कार्यक्रम पोखरा रंगशालामा आइतबार र सोमबार तोकिएको थियो । प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागीका लागि टिम पठाउन प्रदेश फुटबल संघले साउन २ गते जिल्ला फुटबल संघ रहका ८ जिल्लालाई पत्राचार पनि गरेको थियो । सोही बमोजिम ७ वटा जिल्ला फुटबल संघले आफ्नो टिम प्रदेश स्तरीय छनोटमा सहभागी बनाए ।


कास्कीले भने प्रदेश स्तरीय छनोट वहिष्कार गर्‍यो । जिल्ला फुटबल संघले आफू मातहतका खेलाडीलाई प्रदेश स्तरीय छनोट कार्यक्रममा सहभागी बनाएन । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितले आफूहरुसँग प्रदेश फुटबल संघले समन्वय नगरेकाले छनोटमा सहभागी नभएको दाबी गरे । । ‘खेलाडी सहभागिताका लागि पत्र आए पनि समन्वयका लागि कुनै पत्र आएको छैन,’ उनले भने, ‘प्रदेशले हामीलाई समन्वय गरेन, न त उसले हामीलाई कुनै खबर नै गर्‍यो । यति ठूलो कार्यक्रममा कास्की फुटबल संघसंग समन्वय नगरेका कारणले नै हामीले सहभागिता जनाएनौं ।’

प्रदेश फुटबल संघ र जिल्ला फुटबल संघ कास्कीको किचलोका कारण कारणका खेलाडी प्रदेश स्तरीय छनोटमा सहभागी हुन पाएनन्

Advertisement


कास्कीले छुट्टै छनोट प्रतियोगिता गरी २२ जना खेलाडी सोझै केन्द्रीय स्तरको छनोटमा पठाउने निर्णय गरिएको अध्यक्ष रञ्जितले जानकारी दिए । छनोट प्रतियोगिताका संयोजक तथा प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले छनोटका लागि सबै जिल्ला संघलाई समान प्रकारको पत्र पठाइएको सुनाए । ‘हामीले समान प्रकारको पत्र सबै जिल्लालाई पठाएका छौं । सबैलाई जानकारी छ । यसरी संघभित्रको विवादका कारण खेलाडीको भविष्यमाथि खेलवाड गर्नु हुँदैन्थ्यो,’ उनले भने, ‘कास्कीले गलत गरेको छ ।’


जिल्ला फुटबल संघ कास्कीले छनोट प्रतियोगिता बहिष्कार गर्दा तयारीमा रहेका खेलाडीहरु छनोट प्रतियोगिता सहभागी हुन पाएनन् । केही खेलाडी व्यक्तिगत रुपमा छनोट प्रतियोगिता सहभागी भए पनि धेरै खेलाडी छनोटमा सहभागी हुनबाट वञ्चित भए । महिनौंदेखि यु १६ प्रतियोगितका लागि तयारी गरिरहेका कास्कीका खेलाडीहरु छनोट कार्यक्रममा सहभागी हुन पाएका छैनन् ।

Advertisement


छनोट प्रतियोगितामा गोखा, नवलपुर, बागलुङ, मनाङ, पर्वत, तनहुँ, स्याङ्जा, म्याग्दी र लमजुङका गरी करिब २ सय खेलाडी सहभागी भएको संघका महासचिव विनोद गुरुङले बताए । प्रदेश स्तरीय छनोट कार्यक्रम सोमबारसम्म चल्नेछ ।


त्यसो त जिल्ला फुटबल संघले सहभाििगता नजनाउनुमा समन्वयमात्रै नभई जिल्ला फुटबल संघ कास्की अध्यक्ष रञ्जितको इगो पनि भएको जिल्ला संघकै पदाधिकारीहरु बताउँछन् । रञ्जितसँग हारेका विनोद गुरुङ हाल प्रदेश फुटबल संघ महासचिव छन् । संघका एक पदाधिकारीका अनुसार आफूसँग हारेको व्यक्तिले भनेको मान्नुपर्ने कारणले उनीहरुले खेलाडीलाई सहभागी हुनबाट रोकेका हुन् ।


कास्कीको सहभागिताको विषयमा गम्भीर रुपले छानबिन हुने गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले उल्लेख गरे । ‘जिल्ला खेलकुदमार्फत् संघको स्पष्टिकरण लिन्छौं । युवा खेलाडीको भविष्यमाथि कसैले व्यक्तिगत इगोको कुरा उठाएर खेलवाड गर्न पाउँदैन,’ उनले भने, ‘यो गम्भीर विषय हो । कास्की एन्फाले किन खेलाडी पठाएन, हामी यसको समीक्षा गर्छाैं । गलत रहेछ भने कारवाहीसमेत गर्छौं ।’


साफ यु १६ च्याम्पियनसिप २०२३ भुटानमा भदौं १५ गतेदेखि २५ गतेसम्म हुँदै छ ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया