
कास्की ।
माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको टोलीले निरीक्षण गरेको छ । सचिव नेतृत्वको टोलीले आइतबार माछापुच्छ्रे गाउँपालिका २ मा निर्माणाधीन २५ मेगावाट क्षमताको आयोजनाको स्थलगत अवलोकन गर्दै हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी लिएको हो ।
आयोजनामा सरकारी कम्पनी हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल)को संस्थागत स्वपुँजी (इक्वेटी) लगानी छ । एचआइडिसीएलका अध्यक्ष ऊर्जा तथा जलस्रोत मन्त्रालयको सचिव रहने व्यवस्था छ । सचिव नेतृत्वको टोलीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीका सञ्चालक शम्भुप्रसाद मरासिनी, माधवप्रसाद कोइराला, जीतेन्द्र धिताल, सुधिर ज्ञवाली, एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम, डेपुटी सिइओ अरुण रजौरिया र जीवनकुमार बस्नेत सहभागी थिए ।
टोलीले आयोजनाको हालसम्मको भौतिक प्रगतिको अवस्था, हेडवर्क, विद्युत्गृह तथा पाइप लाइन विस्तारका बारेमा जानकारी लिएको थियो । टोलीलाई आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले आयोजनाका बारेमा जानकारी गराए ।
ऊर्जा सचिव घिमिरेले आयोजनाको स्थलगत अवलोकनपछि आफूहरूले सही ठाउँमा लगानी गरेछौँ भनेर ढुक्क भएर फकिर्ने अवस्था रहेको सुनाए । आयोजना सम्पन्न हुने चरणमा पुगेकामा उनले खुसी व्यक्त गरे । देशको ऊर्जा क्षेत्रको विकासमा निजी ऊर्जा उत्पादकहरूको ठूलो भूमिका रहेको भन्दै सचिव घिमिरेले अझ ठूला परियोजनामा लगानी बढाउन उनले आह्वान गरे ।
भिजन लुम्बिनीका कार्यकारी अध्यक्ष जगत्बहादुर पोखरेलले आयोजना सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेका छन् । कम्पनीका अनुसार ढिलोमा पनि आगामी मंसिरभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरूपमा विद्युत् उत्पादन हुनेछ । स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाटै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताए ।
सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४ सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १ सय ८७ मिटर उचाइबाट पावरहाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव ५ मेगावाट क्षमताका २ टर्वाइनमा खसालिनेछ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।
सेती जलविद्युत् आयोजनामा ५ अर्ब लगानी छ । यसमा ३ अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवद्र्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिने आयोजना प्रमुख इन्जिनियर लेखनाथ पाण्डेले जनाए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
तपाईको प्रतिक्रिया