समाधानकर्मी सुन्दर थकाली र हुम तमुलाई कञ्चन पत्रकरिता पुरस्कार

समाधान संवाददाता २०८० साउन १६ गते १९:१९

पोखरा ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ समाधान दैनिकका मुस्ताङ संवाददाता सुन्दरकुमार थकाली र पोखराका पत्रकार हुमबहादुर तमु (कास्की) र लाई प्रदान गरिने भएको छ ।


प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको मंगलबारको बैठकले तमु र थकालीको नाम अनुमोदन गरेको अध्यक्ष रुद्र श्रीस मगरले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ ।


वरिष्ठ अधिवक्ता तथा फोनिज गण्डकीका प्रमुख सल्लाहकार सुरेन्द्र थापामगरको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले नाम सिफारिस गरेको हो । समितिको सदस्यमा फोनिज गण्डकीका इन्चार्ज पत्रकार एमबी आस्था मगर, सल्लाहकार शान्ति गुरुङ तथा रुद्र श्रीस मगर र धनबहादुर गुरुङ थिए ।

Advertisement


पुरस्कृत हुने तमु पोखराबाट प्रकाशित हुने कास्की आवाज दैनिकका प्रधानसम्पादक हुन् । थकाली अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र समाधान दैनिकका लागि मुस्ताङका संवाददाता हुन् । उनीहरुलाई साउन २७ गते पोखरामा सम्मान समारोह आयोजना गरी पुरस्कृत गरिनेछ ।


पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

Advertisement


यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङलाई यो पुरस्कार अर्पण गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया