म्याग्दीमा ३० प्रतिशतले गरे स्वास्थ्य बिमा

राकेश शर्मा २०८० साउन २६ गते ११:१२

म्याग्दी ।
आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्य सेवाको पहुँँचमा ल्याउने उद्देश्यले सरकारको सामाजिक स्वाथ्य विकास बोर्डमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रम म्याग्दीमा प्रभावकारी बन्दै गएको छ ।


भौगोलिक कठिनाइ, गरिबी, नागरिकको चेतनास्तर लगायतका चुनौतीको बाबजुद पनि बिमा कार्यक्रममा आमनागरिकको आकर्षण देखिएको स्वास्थ्य बिमा बोर्ड म्याग्दीका दर्ता अधिकारी उपेन्द्र बरालले जानकारी दिए ।


०७३ पुस महिनादेखि सुरु गरिएको बिमा कार्यक्रम अन्तर्गत म्याग्दीमा हालसम्म ३२ हजार २ सय ४९ जनाले स्वास्थ्य बिमा गराएका छन् । बिमा लागू भएपछि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रूपमा स्वास्थ्य सेवा पाएका छन् ।

Advertisement


६ स्थानीय तह रहेको म्याग्दीमा बेनी नगरपालिकामा ५ हजार १४, मंगला गाउँपालिकामा १ हजार ५ सय ९२, मालिका गाउँपालिकामा १ हजार ८ सय ७३, धवलागिरी गाउँपालिकामा ९ सय ३४, रघुगंगा गाउँपालिकामा १ हजार ६ सय ९ र अन्नपूर्ण गाउँपालिकामा ९ सय ७८ घरपरिवारले स्वास्थ्य बिमा गरेको दर्ता अधिकारी बरालले बताए ।


म्याग्दीमा दरबाङ स्वास्थ्य केन्द्र र बेनी अस्पतालबाट स्वास्थ्य बिमाको सेवा लिन सकिन्छ । तर दरबाङमा भने स्वास्थ्य बिमा प्रभावकारी नभएको स्थानीयले गुनासो गरेका छन् । ‘प्रत्येक वडामा दर्ता सहयोगी हुने भए पनि अझै ७ वटा वडामा दर्ता सहयोगी नभएका कारण स्वास्थ्य बिमा गर्न नागरिकलाई असहज भएको छ’, बरालले भने, ‘नियमित डायोलोसिस गराइरहेका, ख वर्गको अपांगता भएका व्यक्तहरु, एचआइभी संक्रमित भएका र कुष्ठ रोगीका लागि निशुल्क स्वास्थ्य बिमा हुन्छ भने १ हजार १ सय ३३ प्रकारका औषधीसमेत निशुल्क पाहिन्छ ।’ तर यसको प्रचारप्रसार नहुँदा नागरिकले सहज सुविधा लिन सकेका छैनन् ।

Advertisement


प्रत्येक परिवारमा ५ जनासम्मका लागि २ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भएमा थप ४ सय २५ रुपैयाँ शुल्क लाग्नेछ । बिमा गरेपछि १ वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई ५० हजारसम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधी) प्रदान गरिनेछ । तर, त्यस्तो सेवा भने बोर्डले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिन्छ ।


बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङले सिफारिस गरेमा बिमा गराएका नागरिकले सूचीकृत भएका मुलुकका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था छ ।


कार्यक्रमबाट बिमाकर्ताले बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन् । वडा स्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा गराउन सकिन्छ ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया