पुल एकातिर, खोला अर्काेतिर

सुन्दरकुमार थकाली २०८० भदौ १० गते १७:०९


जोमसोम ।
मुस्ताङको जोमसोम मुक्तिनाथ जोड्ने पक्की खोलाको भौगोलिक अवस्था अध्ययन नगरी निर्माण हुँदा यो मार्गबाट यात्रा गर्नेहरुले सास्ती व्यहोर्नु परेको छ । बर्खा याममा पूर्वतर्फबाट बग्ने लुप्रा पान्डा खोलाको बाहवले मुक्तिनाथ धाम र उपल्लो मुस्ताङको यात्रा कठिन बनाइदिन्छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र घरपझोङ गाउँपालिकाको सीमाना लुप्रा पान्डा खोलाको मुख्य राजमार्ग सडकमा २०६९ मा कालिगण्डकी करिडोर (पाल्पा)ले पक्की पुल निर्माण थालेको थियो । यो पुल ६ वर्ष लगाएर ०७६ सालमा निर्माण सकिएको थियो ।

निर्माणकै क्रममा यो पुल पाल्पा करिडोरले राष्ट्रिय गौरवको बेनी—जोमसोम कोरला सडकलाई हस्तान्तरण गरेको थियो । तत्कालीन समयमा पाल्पा करिडोरका प्राविधिक इन्जिनियरहरुले पुल रहेको स्थानको भौगोलिक अवस्था र वैज्ञानिक प्राविधिक अध्ययन नगरी हचुवाका भरमा पुलको सर्वे तथा डिपिआर निर्माण गरेका थिए ।

Advertisement

अहिले लुप्रा—पान्डा खोला बाढी आउँदा पुल बेकाम बन्छ । पाल्पा करिडोरमार्फत ठेक्का आह्वान भएको यो पुल निर्माणको जिम्मा तत्कालीन समयमा ३ करोड ९० लाखमा लोकप्रिय शंकरमाली जेभीले लिएको थियो ।

भिरालो सतह, फराकिलो भूगोल भएकाले त्यहाँ करिब ३ सय मिटरको पुल आवश्यक पथ्र्यो । तर, त्यो बेला प्राविधिकले ५० मिटरको पक्की मोटरेबल पुलसहित ग्याबिन वाल लगाएर १ सय ५० मिटर एप्रोज सडक र २ वटा कल्र्भटको डिपिआर बनाएका थिए ।

Advertisement

खोलाको सतहको आकलन नगरी पुल बनाउँदा बर्खायाममा यहाँ सधै सास्ती हुन्छ । यो मुक्तिनाथ र उपल्लो मुस्ताङ जोड्ने मार्गको पुल हो । यो ठाँडो खोला बर्सेनि अनियन्त्रित हुने गर्छ । फराकिलो भूगोलको छोटो र होचो लुप्रा पान्डा खोलामा बनाइएको पुल बाढीको उच्च जोखिम छ ।

वारागङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङझिङ नाम्ग्याल गुरुङले पान्डा खोला पुल निर्माणमा प्राविधिकको त्रुटि रहेको औंल्याए । उनले पुलको डिजाइन र स्टक्चर भूगोल अनुकूल नभएकाले बाढीले बर्सेनि सास्ती दिने गरेको सुनाए ।

‘लेदोसहितको बाढीले बर्सेनि धार परिवर्तन गर्दा पुल एकातिर खोला अर्कातिर हुन्छ, बाढीसडकमा क्षति पु¥याउँछ,’ अध्यक्ष गुरुङले भने, ‘बर्खा लागेपछि खोला तर्काउन डोजर तयारी अवस्था राख्नुपर्छ ,पालिकाले खोला नियन्त्रण गर्न ठूलो खर्च गर्दै आएको छ ।’ उनले खोलाको जोखिम लुप्रा गाउँमा समेत भएको जनाउँदै बस्ती स्थानान्तरण गर्न संघीय र प्रदेश सरकारको ध्यानर्कषण गराए पनि काम हुन नसकेको गुनासो गरे ।

यो खोलामा सवारी आवतजावत सहज बनाउन बारम्बार डोजर लगाएर सडक खुलाउनु परेको उपाध्यक्ष ढिकी गुरुङले सुनाइन् । ‘पटक पटक बाढी आउँछ, खोला पुलमा हाल्यो, भोलि बाहिर आउँछ,’ उनले भनिन्, ‘बाढीले पुलको लेबलमा खोलाको उकास बढ्दै छ । एप्रोज रोड र कल्भर्ट पनि भत्किन थालेका छन् ।’ उनले मुक्तिनाथ सडक सहज बनाउन यहाँ ३ सय मिटरको पुल आवश्यक पर्ने जनाइन् ।

यता, बेनी जोमसोम कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतीले लुप्रा पान्डा खोला पुलको डिजाईन गलत भएको भन्न नमिल्ने दाबी गरे । उनले पुलका लागि थप स्पान आवश्यक रहेको स्वीकारे । विगत ४ वर्षमा ५ मिटरभन्दा बढी खोलाको सतह उकासिएको उनको भनाइ छ । प्रजापतीले लुप्रा—पान्डा खोला पुलका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा लम्बाई वृद्धि गर्न स्पान थप्ने कार्यक्रम रहेको जनाए ।

त्यसो त लुप्रा—पान्डा खोला पक्की पुल जोगाउन आवश्यक पर्ने पर्याप्त भौतिक संरचना निर्माण नहुँदा बाढीले धार परिर्वतन गरी सडक बगाउँदा सडक अवरुद्ध हुने गरेको छ । चालु वर्ष पनि लुप्रा—पान्डा खोला बाढीले धार परिवर्तन गर्दा पटक पटक सडक अवरुद्ध भएको थियो । खोलाको भौगोलिक अवस्था अध्ययन नगरी निर्माण गरिएको लुप्रा पान्डा खोला पुल । बर्सेनि बाढीले धार परिवर्तन गर्दा पुल प्रयोगविहीन बनेको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया