माओवादी जनयुद्धलाई फर्केर हेर्दा !

राजु श्रेत्री २०८० भदौ ११ गते १२:१३

क्रान्तिकारी पत्रकारका आँखाले २ दशक अघि देखेको समाज र त्यो समाजले देखेका सपना आजको आँखाबाट हेर्दा कस्तो देखिन्छ होला ? ग्रामीण समाजको हिजोको त्यो क्रान्तिको रोमान्चकता आज त्यही रूपमा जिवन्त छ कि फेरियो होला ?
समयक्रमसँगै सायद त्यो फेरियो होला १ कुन रुपमा फेरियो होला र जनताका घर—घरमा डेरा जमाएर बसेका त्यो समयका क्रान्तिकारीहरुलाई आजको समाजको आँखाबाट हेर्दा कस्तो देखिएलान् ? मनमा चलेको नमरिसकेको क्रान्तिको तुफान बोकेर म यात्रामा निस्के ।


जनयुद्धको उत्कर्सका बेला पार्टीले अघि सारेको दुश्मनलाई ढाडमा टेकेर टाउकामा हान्ने योजनाका बेला म स्याङ्जामा थिए , माओवादीका तत्कालीन व्यूरो इन्चार्ज टोप बहादुर रायमाझीसँगै । ऊनीसँग त्यो बेला यात्रा गरेको पाल्पा/स्याङ्जा/ गुल्मी/अर्घाखाँचीको यात्रामा निस्कदै गर्दा २ दशक अघि हिँडेका बाटाहरु स्मृतिमा घुम्न थाले ।


माओवादीको राम्रै प्रभाव क्षेत्र बनिरहेको स्याङ्जा आजको दिनमा चामलमा बियाँ खोजे जस्तो अवस्थामा पुगेका रहेछन् माओवादीहरु । स्याङ्जा हुँदै पाल्पा पुगेर माओवादीले भत्काएको र पछि पुनःनिर्माण गरेको दरबार पसे । त्यहाँ निर्माण गरिएको संग्रहालयको अवलोकन गरे । स्थानीयले भन्दै थिए—माओवादीले जलाएको यो दरबारको सराप लाग्छ तिनीहरुलाइ । यसो भन्नेहरु त्यहाँका व्यापारी थिए । पाल्पा हुँदै म गुल्मी—अर्घाखाँची लागे ।

Advertisement


जनयुद्धको समयमा माओवादीकी नेतृ क. शिलुको नेतृत्वमा त्यहाँ आधा दर्जन निहत्था मानिस मारिएका रहेछन । त्यही बेला टोपबहादुरले जिल्लाको बैठकमै भनेका थिए—निहत्था मान्छे मार्ने जसको आदेश भए पनि यो अपराध हो । पछि कुनै न कुनै दिन हिसाब दिनुपर्छ जनतालाई । टोपबहादुरको त्यो भनाइले बैठक हल नै स्तब्ध भएको थियो । हातमा बन्दुक बोकेका माओवादीका अनुहारमा सन्नाठा छाएको थियो । सायद टोपबहादुरका बुबाका साथी र केहि सामाजिक कार्यकर्ता माओवादी कमान्डरका सनकमा मारिएको कुरा टोपबहादुरलाई मन परेको थिएन ।

माओवादीले के उद्देश्य पुर्ती गर्न त्यस्तो फोहोर थुपारेको ठाउँमा लगेर आफ्ना कार्यकर्ता राखेका होलान् ? सायद हामी भेडा नै थियौ त्यो बेला । नेताले जे भन्यो—हस् भन्ने

Advertisement


म अर्घाखाँचीबाट मधेस झरेर बुटवल आए । जनयुद्धको बिसर्जन पछि २०६३ सालमा पार्टीले आयोजना गरेको ब्यूरो स्तरीय भेला कपिलवस्तुको चन्द्रौटाको जुत्ता कारखानामा ३ दिन चलेको ठाउँ हेर्न मन लाग्यो र त्यता गए । बैशाखको प्रचण्ड गर्मीमा छाला—जुत्ता कारखानाको पुरानो फोहोरको थुप्रो पन्छाएर बनाएको हलमा ३ दिन सुतियो । अहिले सम्झिदा लाग्छ— माओवादीले के उद्देश्य पुर्ती गर्न त्यस्तो फोहोर थुपारेको ठाउँमा लगेर आफ्ना कार्यकर्ता राखेका होलान् ? सायद हामी भेडा नै थियौ त्यो बेला । नेताले जे भन्यो—हस् भन्ने ।


त्यसपछि म बुटवल निस्केर पाल्पाको रामपुर आए । जनयुद्ध कालभरी माओवादीको गन्डक राजधानी भनेर चिनिने त्यो ठाउँ कस्तो भयो हेर्ने ठुलो कौतुहलता थियो । माओवादीहरु महिनौ अड्डा जमाएर बस्ने त्यो ठाउँ काली गण्डकीको किनारमा बसेको ठुलो बस्ती हो । उ वेला पुरै बस्ती माओवादीमय थियो । सम्झिदा पनि छुट्टै अनुभुति हुने रामपुर अब उहिलेको रामपुर रहेन ।

माओवादीको कुरा गर्दा एकाध मान्छे त्यो पनि जनयुद्ध लडेका—त्यो बेला पार्टीलाई सहयोग गरेका मात्र आजको माओवादीमा बाँकी रहेको थाहा पाए । रामपुर पुरानो रामपुर रहेनछ । ठुला—ठुला घर , सबैतिर पक्की बाटो । नयाँ मान्छेले भरिएकोले होला एकदम नयाँ लाग्यो । एउटा आस्थाको भाव सहित रामपुर गएको , त्यहाँ पुग्दा मन नै भरंग भयो । आस्थाको शहर त भग्न भैसकेछ । गह्रौ मन लिएर कालिगन्डकी तरेर बिरुवा हुँदै स्याङ्जाको वालिङ निस्के । २०५८ मा माओवादीले आक्रमण गरेको स्याङ्जा बजार फर्केर आइपुगे ।


माओवादीले १ दशक लडाइ लडे, मरे, मारे । क्रान्तिको आँखाबाट हेर्दा महान बलिदान गरे तर आजको आँखाबाट हेर्दा, आम जनताका जीवनको आखाँबाट हेर्दा (अर्थ न व्यर्थ गोविन्द गाइ जस्तै भयो ।)


फर्केर घर आए पछि—खन्डहरमा पसेर आए पछि जस्तो मन बिरक्तिएर आयो । लगत्तै काठमाडौं जाने काम पर्यो, मित्र मनऋषि धितालको डेरामा १ हप्ता बसे, जनादेश साप्ताहिका तत्कालीन सम्पादक । क्रान्तिकारी पत्रकारिताको आधार स्तम्भ जस्तै मेरा मित्र आजको दिनमा जीवन चलाउन नसकेर विदेश गएर पनि जीवन उस्तै सर्बहाराकै अवस्थामा छ । ऊनीसँग राजधानीका बाटो—गल्ली फन्का मारे । ऊनी भन्दै थिए—उ यो घर हाम्रा पार्टीका फलाना नेताको , त्यो घर फलानाको ।


ऊनीसँगै म माओवादीको हेडक्वाटर पेरिसडाँडा गए । चौरभरि माओवादी नेता चढ्ने मोटरको लर्को । मोटरको भिडबीच एउटा अर्को मोटर मान्छेलाई ठेलम्ला झै गर्दै अघि बढ्यो कसैले भन्यो—ए उतै राख न । किन यता ल्याएको । ड्राइभरले रन्किदै भन्यो—प्रधानमन्त्रीकी छोरी चढ्ने मोटर यो, चिनेर कुरा गर । आमा सीता दाहाललाई श्रद्वन्जली चढाउन गएका हामी हेरेको हेरेइ भयौं ।


काठमाडौं बसाईकै क्रममा एक मित्र जो माओवादी भागमा परेको संस्थामा नियुक्ति पाएका छन् उनको सरकारी मोटर चढेर घुम्न निस्कियौं । पार्टी( क्रान्ति( बर्ग( जनपक्षीय पत्रकारिता आदिका कुरा भए । मोटरमा मैले जीवन शर्माको लोकप्रिय गीत गुनगुनाउँदै थिए—बन्दुक गोलि देखाएर गरिब तर्सायो, नतर्सिने युवालाई लाठी बर्सायो, हजार—हजारौं घुस खायो हाम्रो नामबाट, घुस खाने घुस्याँहालाई खेदाैं गाउँबाट । मोटरको अघिल्लो सिटमा बसेका साथिले सम्झाए—राजुजी यस्तो गीत नगाउनुस् यता आउँदा । माओवादी नेतालाई मन पर्दैन यस्ता गित । व्यंग्य ठान्छन । म खिसृक्क परे ।


काम विशेषले युएइको शहर दुबई जान काठमाडौं गएको थिए । त्यहाँ पुग्दा गैह्रआवासिय नेपालीहरुको चुनावको रौनक रहेछ । जनयुद्धकालमा मेरा मित्र हरि नेपाली पनि त्यही थिए—उनको फेसबुक स्टाटस हेरे—लेखिएको थियो—उनिहरु विदेशी नागरिकता लिएर छोराछोरीलाई विदेशी नागरिक बनाए, ठिकै थियो , एनआरएन नामको हरियो पासपोर्टको हड्डी फ्याकिदिए र हामीलाई एकापसमा लडाएर तमासा हेरेर बसिरहेका छन् ।


गाउँबाट पढ्न शहर आएको केटो माओवादी भयो र युद्धमा हिड्यो । युद्ध सकियो र जिउनका लागि खाडी हिड्यो र पनि उभित्रको माओवादको आस्था मरेको छैन । उसको मर्न बाँकी विचारको—आस्थाको घोडा चढेर माओवादीहरु विदेशमा पनि उसलाई शासन गरिरहेका छन् र उसलाई त्यहाँ पनि पार्टीको निर्देशन आउँछ – कमरेड १ तपाईहरु श्रम गर्न गएको मान्छे एनआरएन चलाउन सक्नु हुन्न , फलानो व्यावसायी हाम्रो मान्छे हो, उसलाई अध्यक्ष बनाउनुस् है ।

माओवादी नामको पार्टीको पार्टी सदस्यको चिर्कटो गोजीमा बोकेर नयाँ अध्यक्षलाई मुठ्ठी उचालेर उ सलाम गर्छ र खुसीले उफ्रिदै भन्छ—अध्यक्ष हाम्रो पार्टीले जित्यो । लोप्पा खुवाउँदै मलाई भन्न मन थियो—यी जित्यो तेरो पार्टीले । फटाहाको पार्टीले जित्यो भन् न ! तर मैले साथीको आस्थामाथि चोट पुर्‍याउन चाहिन र भने—बधाई कमरेड !

तपाईको प्रतिक्रिया