संघर्षशील योद्धाको अवसान

समाधान संवाददाता २०८० भदौ १३ गते १०:२०

पोखरा ।
वामपन्थी नेता एवं अग्रज मानवअधिकारवादी टेकनाथ बरालको मंगलबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको हो ।


मंगलबार साँझ नै बरालको दाहसंस्कार गरिएको छ । बराललाई कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, एमाले कास्की इन्चार्ज कृष्णबहादुर थापा, पोखरा महानगरका मेयर धनराज आचार्य, साहित्यकार खगेन्द्र संग्रौला, लगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।


उनको जन्म १९९६ साल जेठ ५ गते भएको थियो । बरालका श्रीमती हरिकला, छोरा विद्याविमल, छोरीहरु शोभा, प्रभा, पिंगला र नातिनातिना छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलालसँग लामो समय काम गरेका बराल २०४६ सालको जनआन्दोलनमा वाममोर्चाको तर्फबाट गण्डकी क्षेत्रका कमान्डर थिए । पछिल्लो समय कुनै कम्युनिस्ट दलमा आवद्ध नभए पनि उनी कम्युनिस्ट आचरण, सिद्धान्त र रुपान्तरणको वकालत गर्थे ।

Advertisement

प्रजातान्त्रिक विचारबाट प्रभावित हुँदै उनी नेकपामा लागे । नेकपा टुटफुटसँगै परिवर्तनको सपना पनि टुटफुट भयो । तर उनी सधैं समतामूलक समाजका लागि लडिरहे ।


माओवादी सशस्त्र विद्रोह र दोस्रो जनआन्दोलनका बेला मानवअधिकारीवादीको रुपमा उनले उल्लेख्य भूमिका निर्वाह गरेका थिए । उनी बराल राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका संस्थापक अध्यक्षसमेत हुन् । संस्थाका अध्यक्ष सुनील पाण्डेले सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाइ गर्ने एक अथक योद्धा गुमाएको उल्लेख गरे ।

Advertisement


राणाशासनविरुद्ध भएको आन्दोलनमा उनी बाल्यकालमै सहभागी भएका थिए । २०१३ सालमा रात्रि पाठशालामा छात्र संगठनको अध्यक्ष बनेका टेकनाथले २०१५ सालदेखि गोरखा, स्याङ्जा, पोखरामा शिक्षण गरेका थिए । उनी ०१९ सालमा नेपाल युवक संगठन गण्डकी अञ्चल सभापति बनेका थिए । ०२१ सालमै पञ्चायतविरोधी काम गरेको भन्दै उनीविरुद्ध वारेन्ट जारी भएको थियो ।


देशमा बस्ने अवस्था नभएपछि उनी बनारस गए । उनले ०२१ मा पुष्पलाल श्रेष्ठबाट नेकपाको सदस्यता लिएका थिए । बराल ०२२ सालमा बनारसबाट म्याट्रिक उत्तीर्ण भए । त्यही साल क्याम्पसमा भएको नेपाल छात्र संगठनको चुनाव पहिलोपटक नेकपाको विद्यार्थी संगठनले जितेको थियो । उनी सचिव चुनिए ।


त्यसपछि पार्टी संगठनमा बढी सक्रिय हुँदा उनको औपचारिक अध्ययनअघि बढ्न सकेन । त्यहाँबाट फर्केपछि बराल गण्डकी धौलागिरी क्षेत्रमा संगठन निर्माणमा लागे । उनी ०२३ सालमा गिरफ्तार भएका उनी २ वर्षपछि रिहा भए ।


०२२ सालदेखि नै पोखरा ६ मा रहेको उनको घर कम्युनिस्ट नेता, कार्यकर्ताको आश्रयस्थल थियो । २०२९ सालमा उनी देश निकाला भए । सकभर देशमै बस्ने उद्देश्यले उनी कास्की, गोरखा र तनहुँका लेकमा भूमिगत बनेर संगठन बनाउन लागे । ०३० सालमा उनी वनारस निर्वासित भए । ०३३ सम्म उनले पुष्पलालसँगै पार्टीको काम गरे । ०३३ देखि ०३६ सम्म उनी भारतका असाम, मेघालय, नागाल्यान्डमा विभिन्न क्षेत्रमा शिक्षकको रुपमा गएर नेकपाको संगठन बनाउन क्रियाशील थिए ।


बराल ०३६ सालम स्वदेश फर्केर जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय बने । त्यो बेला धेरैको मुद्दा फिर्ता र आममाफी भए पनि टेकनाथ त्यसको अपवादमा परे । उनी टुटफुट भएको कम्युनिस्ट आन्दोलनलाई एक बनाउन प्रयत्नशील रहे । कांग्रेस र वाममोर्चाले ०४६ सालमा गरेको जनआन्दोलनमा उनले गण्डकीमा वाम मोर्चाको नेतृत्व गरेका थिए ।


०५० सम्म वाम मोर्चाको गण्डकी अध्यक्ष बनेका उनी त्यसयता मानवअधिकार, सामाजिक रुपान्तरण र समतामूलक समाज निर्माणको वकालतमा सक्रिय थिए । दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी उनले त्यसयता आन्दोलनका उपलब्धि संस्थागत नभएको र सामाजिक रुपान्तरण नभएको भन्दै आवाज उठाउँदै आएका थिए ।


यसैबीच, नेकपा एमाले गण्डकीले शोक विज्ञप्ति निकालेर उनको निधनमा दुःख व्यक्त गरेको छ । एमाले गण्डकी सचिव धनञ्जय दवाडीले नेपालको वामआन्दोलनमा बरालको महत्वपूर्ण भूमिका र नेतृत्व रहेको स्मरण गरेका छन् । टेकनाथकी छोरी प्रभा एमाले केन्द्रीय सदस्य, छोरा विद्याविमल गण्डकी प्रदेश कमिटी सदस्य र छोरी शोभा कास्की जिल्ला कमिटी सदस्य छन् ।


‘अथक तपस्वी हुनुहुन्थ्यो’
विभिन्न क्षेत्रका व्यक्तित्वले टेकनाथलाई संघर्षशील र अथक योद्धाका रुपमा लिएका छन् । राजनीतकि विश्लेषक झलक सुवेदी टेकनाथ विचारलाई आदर्श मानेर जीवनशैलीलाई विचार अनुरुप बाच्ने असल मान्छेको रुपमा सम्झन्छन् ।


‘सामान्य मान्छेलाई माया गर्ने, व्यक्तिगत धन सम्पति सञ्चयमा नलाग्ने, उद्देश्यमा नथाकी लागिरहने उहाँ अथक तपस्वी हुनुहुन्थ्यो, समतामूलक समाज र माक्र्सवादी दर्शनको,’ सुवेदी भन्छन् । एमाले नेता सोमनाथ प्यासी टेकनाथसँग वाम मोर्चामा सहकार्य गरेको सम्झन्छन् । उनी भन्छन्, ‘उहाँ सधै वामपन्थी भएर बाँच्नुभयो । कास्कीको वामपन्थी आन्दोलनले उहाँलाई बिर्सन सक्दैन ।’


नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा पनि टेकनाथलाई एक संघर्षशील व्यक्तित्वको रुपमा सम्झन्छन् । ‘समाजका विभिन्न पाटामा संलग्न भएर उहाँले योगदान गर्नुभयो, दुःख गर्नुभयो तर उपलब्धि आउने बेलासम्म त्यही टिक्नु भएन । उहाँ पश्चिमाञ्चलकै सबैभन्दा उच्च पदमा पुग्न सक्ने क्षमता भएको मानिस हुनुहुन्थ्यो,’ शर्मा भन्छन् । पोखरा महानगरका मेयर धनराज आचार्य टेकनाथलाई सबैले प्रेरणा लिन सक्ने असल मान्छे मान्छन् ।

तपाईको प्रतिक्रिया